ad ad

समाज


प्रभावकारी बन्दै हवाई उद्धार

प्रभावकारी बन्दै हवाई उद्धार

सञ्चिता घिमिरे
मंसिर १४, २०७६ शनिबार ३:२०,

गर्भवती र सुत्केरीका लागि लक्षित हवाई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्षमा ५० सुत्केरी महिलाको उद्धारलक्ष्य राखेकामा पहिलो चार महिनामै सो सङ्ख्या पुगेको हो।

मन्त्रालयले गत वर्ष कात्तिक ३० देखि दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार सुरु गरेको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको यो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार २९ जिल्ला पूर्णरूपमा र विभिन्न जिल्लामा आंशिकरुपमा सो कार्यक्रम लागू भएको छ। गत आवमा २६ महिला लाभान्वित भएको मन्त्रालयको तथ्याङ्क छ।

ती महिला हुम्ला, दोलखा, तेह्रथुम, धादिङ, डोल्पा, बाजुरा, मुगु, सोलुखुम्बु, गोर्खा, कालिकोट, म्याग्दी, रुकुमपूर्व, जाजरकोट र सल्यान जिल्लाका छन्। यी महिलालाई त्यहाँबाट तोकिएको अस्पतालमा पु¥याएर उपचार गरिएको मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए। मन्त्रालयका सहसचिव तथा महिला सशक्तीकरण महाशाखा प्रमुख रुद्रादेवी शर्माको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ।

समितिमा गृह, स्वास्थ्य तथा जनसङ्ख्यालगायत विभिन्न मन्त्रालय र हवाई सेवा निर्देशनालयका प्रतिनिधि सदस्य छन् । नियमित यातायात सेवा नपुगेका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने महिलाको प्रजनन स्वास्थ्यका कारण हुनसक्ने सम्भावित मृत्युबाट बचाउने उद्देश्यले हवाई उद्धार कार्यक्रम ल्याइएको प्रवक्ता पौडेलले जानकारी दिए।

तत्कालका लागि उद्धारमा नेपाली सेनाको हेलिकोप्टर प्रयोगमा ल्याइएको भए पनि केही समयपछि सेवा प्रदायक संस्था सार्वजनिक खरीद ऐन, २०६३ मा भएको व्यवस्था बमोजिम सरकारी तथा निजी क्षेत्रका सेवा प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा पनि सो सेवाका लागि सिफारिश समिति गठन गरिएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नै हवाई उद्धारसँगै महिला उद्धार र सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .