ad ad

समाज


बलात्कारका अभियुक्त मनोज पाण्डेलाई मानव बेचबिखनको मुद्दा

बलात्कार भनिएको घटना कसरी जोडियो मानव बेचबिखनमा?
बलात्कारका अभियुक्त मनोज पाण्डेलाई मानव बेचबिखनको मुद्दा

फाइल तस्बिर


उजिर कार्की
जेठ १०, २०७९ मंगलबार ११:५, काठमाडौँ

पक्राउ परेको दुई दिनपछि प्रहरीले किशोरी बलात्कारका अभियुक्त मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ। 

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडिओ सार्वजनिक गरेकी किशोरीले गत सोमबार मानव बेचबिखनको कसुरमा जाहेरी दिएकी थिइन्। 

जबरजस्ती करणीको एक वर्षे हदम्याद कटेका कारण पाण्डेविरुद्ध प्रहरीले मानव बेचबिखनको कसुरमा जाहेरी दिन लगाएको हो।

जाहेरीलगतै प्रहरीले उनीसँग बयान पनि लिएको थियो। प्रहरीले किशोरीलाई सोमबार नै बयान प्रमाणितका लागि जिल्ला अदालत काठमाडौंमा पुर्‍याएको थियो।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार अदालतले म्याद लिनुपूर्व पीडितलाई अदालतमै उपस्थित गराएर बयान गराउनुपर्ने व्यवस्था छ।

पीडित आफैँले उजुरी दिएमा प्रहरीले बयान गराई त्यस्तो बयान प्रमाणित गराउनका लागि तत्काल जिल्ला अदालतमा उपस्थित गराउनुपर्छ।

प्रहरीले गराएको बयान जिल्ला अदालतमा पढेर पीडितलाई सुनाइन्छ। र उनले भनेअनुसार नै रहे नरहेको एकिन गरिसकेपछि अदालतले प्रमाणित गर्छ। 

प्रहरीले गराएको बयानमा फरक परेमा के कति फरक परेको हो भन्ने पनि पीडितको भनाई अनुसार नै उल्लेख गरि अदालतले प्रमाणित गरिदिन्छ।

यसरी बयान प्रमाणित भइसकेपछि मुद्दाको सुनुवाइको सिलसिलामा पीडित अदालतमा उपस्थित नभए पनि प्रमाणका रुपमा लिन सक्नेछ।

पाण्डेविरुद्धको कसुरमा पनि मुख्य प्रमाण नै पीडितको बयान हुनेछ। घटना ८ वर्ष पहिलेको भएकाले यो घटनामा प्रहरीसँग अन्य प्रमाण हुने सम्भावना कम छ। 

मानव बेचबिखनको मुद्दामा अभियोग लागिसकेपछि आफू दोषी होइन भन्ने कुरा पनि पीडकले नै प्रमाणित गर्नुपर्ने व्यवस्था छ।

अन्य कतिपय मुद्दामा भने प्रहरीले नै घटना भएको प्रमाणित गर्नुपर्छ। प्रहरीले यही मुद्दालाई आधार बनाएर पाण्डेविरुद्ध अदालतबाट म्याद लिए पनि अन्य कसुरमा समेत अनुसन्धान हुने अनुसन्धानको नेतृत्व गरिरहेका उपत्यका अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले बताए।

प्रहरीले पीडितको जाहेरी आउनु पहिले नै पाण्डेलाई पक्राउ गरेको थियो। भिडियो सार्वजनिक भएसँगै चौतर्फी दबाव बढेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेर यसविरुद्ध उठेको आन्दोलन साम्य पारेको हो।

मानव बेचबिखनको कसुरमा कसूरदार भाग्ने अवस्था देखिएमा प्रहरीले बिना पक्राउ पूर्जी गिरफ्तार गर्न सक्छ।

पाण्डेलाई पक्राउ गरे पनि कुन कसुरमा मुद्दा चलाउने भन्ने प्रहरी नै अलमलमा थियो। सोमबारसम्म पनि अदालतले म्याद दिने नदिनेमा अनुसन्धान अधिकृतहरु सशंकित देखिन्थे। तर, घटना बेचबिखनसँग सम्बन्धित पनि देखिएपछि अदालतले मानव बेचबिखनको कसुरमा अनुसन्धान गर्न पहिलो पटक ५ दिन म्याद दिएको छ।

'बलात्कार'को घटना कसरी जोडियो मानव बेचबिखनमा?  
बलात्कारको कसुरमा हदम्याद नाघेकै कारण प्रहरीले यो घटनामा मानव बेचविखनसम्बन्धि कसुरमा अनुसन्धान अगाडि बढाएको हो। 

मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन अनुसार किशोरीले सार्वजनिक गरेका घटना विवरण यस ऐन अन्तर्गत पनि पर्ने देखिएका छन्।

ऐनमा भनिएको छ, ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, पद वा शक्तिको दूरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिनु मानव बेचविखन तथा ओसारपसार हो।’

किशोरीले आफूलाई बेहोस बनाएर बलात्कार गरेको बताएकी छन्। उनले ‘सक्सेस’ पार्टी भन्दै एभरेष्ट होटलमा बोलाएको बताएकी छन्। 

त्यहाँ ‘वेलकम ड्रिङ्क्स’ भनेर आइस हालेको कागती पानी पिउन दिएको बताउँदै र त्यसले आफूलाई असहज महसुस भएको ती पीडितले बताएकी छन्। 

उनले त्यसपछि घर जान्छु भन्दा जान नदिएर होटलकै एउटा कोठामा लगेको बताउँदै आफू बेहोस् रहेको अवस्थामा बलात्कार भएको उल्लेख गरेकी छन्। 

पाण्डेले बलात्कार गरिसकेपछि २० हजार रुपैयाँ दिएको पीडितले भिडिओमार्फत पनि सार्वजनिक गरेकी थिइन्। त्यसपछि अभियुक्त पाण्डेले अन्य व्यक्तिलाई पनि करणी गर्न लगाएको पीडितले बताएकी छन्।

यीनै घटनाका कारण मानवबेचखिन तथा ओसारपसार ऐन आकर्षित भएको एसएसपी कुँवरले बताए।

कति हुन्छ दण्ड सजाय?
ऐनको दफा १५ मा दण्ड सजाय तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था छ। मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ।

कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृतिमा लगाउनेलाई कसुरको मात्राअनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना व्यवस्था छ।

प्रहरीले पाण्डेविरुद्ध यही दफाअनुसार अनुसन्धान अगाडि बढाएको हो। अदालतले कसुरदारलाई भएको जरिवानाको ५० प्रतिशत बराबरको रकममा नघट्ने गरी निजबाट पीडितलाई क्षतिपूर्ति भराइदिनुपर्ने छ। 

पाण्डे दोषी ठहर भएमा यही दफाअनुसार सजाय हुनसक्नेछ।

यौन दुरुपयोगको पनि मुद्दा
पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसार पसार ऐन अनुसार एक किशोरको जाहेरीमा अनुसन्धान सुरुभएसँगै अन्य दुईजना पीडित पनि प्रहरीको सम्पर्कमा पुगेका छन्। 

त्यसमध्ये एकजना नाबालिगले आफूलाई पाण्डेले यौन दुरुपयोग गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छन्।

अर्की पनि पीडित सम्पर्कमा पुगेको र मंगलबार उनले जाहेरी ल्याउने जानकारी पाएको प्रहरीले जनाएको छ। यी दुवै मुद्दामा भने हदम्याद लाग्ने छैन। 

बलात्कारसम्बन्धी कसुरमा १८ वर्ष पूरा भएको एक वर्षसम्म पीडितले जाहेरी दिन सक्ने छन्। उनीहरु १९ वर्ष नकटेको प्रहरीले जानकारी दिएको छ।

यी मुद्दामा पनि प्रहरीले अनुसन्धान गर्नेछ। पीडितहरु थपिँदै गएसँगै पाण्डेविरुद्धका प्रमाण बलिया बन्दै गएको अनुसन्धान अधिकृत बताउँछन्।

यसैबीच हदम्यादका कारण बलात्कारका पीडितले न्याय नपाउने अवस्था देखिएको भन्दै सांसदहरुले हदम्याद हटाउने बहस पनि सुरु गरेका छन्।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द बन्दीले पनि कलात्कारसम्बन्धी मुद्दामा हदम्यादको विषयमा छलफल थालिएको बताएका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले हदम्यादको विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन नेपाल कानुन आयोगलाई आग्रह गरिएको बताए। कानुन आयोगको प्रतिवेदनपछि सरकारले निर्णय गर्ने बन्दीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .