देशभर चिसो बढ्दै गएको छ। आज (शुक्रबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहान लिइएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्रीमा झरेको हो।
‘यो तापक्रम यस वर्षकै कम हो,’ नेपालखबरसँग उनले भने, ‘हिजो (बिहीबार)७.५ डिग्री सेल्सियस थियो।’
अब मौसमी हिसाबले दिनप्रतिदिन चिसो बढ्दै जाने उनले बताए।
मौसमविद्का अनुसार डिसेम्बरदेखि औपचारिक रूपमा विन्टर अर्थात् जाडो याम सुरु भएको मानिन्छ।
आजको मौसम
आज देशका अधिकांश स्थानमा मौसम बदली भएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पश्चिमतिर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने मध्य र पूर्वका पहाडी भेगमा आंशिक बदली छ।
यसबाहेक देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको उनले बताए।
उनका अनुसार पश्चिमी न्यून चापीय प्रणाालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रका पहाडी भेगका एक/दुई स्थानमा वर्षा तथा उच्च हिमाली भेगका केही ठाउँमा हिमपात हुने सम्भावना छ।
प्रतिक्रिया