ad ad

समाज


बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ

बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १५:५९,

बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ ।

बंगाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुभ्mने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक भारतीका अनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन् वा वास्तवमै बच्चा चोरी गर्ने काम गर्छन्बारे यकिन गर्न अनुसन्धान भइरहेको बताए । प्रहरीले उनका साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घण्टीसमेत बरामद गरेको छ ।

आज बिहान राजविराजस्थित पब्लिक बिन्देश्वरी माविमा कक्षा ३ मा पढ्ने ५ वर्षीय बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयवासीलाई शंका लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए ।

सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले जानकारी दिए ।

यता हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । बालिकालाई आजै पविमाविका प्रधानाध्यापक अरुणकुमार झाको रोहवरमा उनको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसअघि गत कात्तिक १४ गते पनि हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थित आफ्नो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ वर्षीया बालिकालाई चकलेट र बिस्कुटको प्रलोभन दिई साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० वर्षीय आनन्द गोश्वामी र २२ वर्षीय अमीर झा अहिले पनि अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।

दुई लाख बराबरको मेशिनरी बरामद

राजविराज नगरपालिका–१४ परसाई टोलस्थितबाट नहरको बाटो हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको एक मोटरसाइकलबाट प्रहरीले रु दुई लाख बराबरको मेशिनरीका सामानहरु प्रहरीले बरामद गरेको छ । को।१७ प ३२८० नं मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकीको बर्साइनबाट खटिएको प्रहरी टोलीलाई मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल र समान छोडी भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद भएका मोटरसाइकल र मेशिनिरी सामानलाई प्रहरीले भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।

यस्तै सप्तरीको हनुमाननगर कङ्कालिन नगरपालिका–१ भारदह ट्राफिक पोष्ट अगाडिबाट प्रहरीले एक सवारीसाधनबाट भन्सार छलेर ल्याउँदै गरेको ५० हजारभन्दा बढीको सामानहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले पूर्वबाट आउने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको ती सामानहरु बरामद गरेको जनाएको छ । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .