ad ad

समाज


अयोध्याबाट बेहुला लिएर हिँड्यो जन्ती, राष्ट्रपतिबाट हुनेछ जनकपुरमा स्वागत

अयोध्याबाट बेहुला लिएर हिँड्यो जन्ती, राष्ट्रपतिबाट हुनेछ जनकपुरमा स्वागत

शैलेन्द्र महतो
मंसिर ७, २०७६ शनिबार ११:३७,

जनकपुरमा सीताराम विवाहपञ्ची महोत्सवको तयारी तीव्र बनाइएको छ। सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाह महोत्सवको मुख्य दिन यस वर्ष मंसिर १५ गते परेको छ।

जानकी मन्दिर व्यवस्थापन पक्ष, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनकपुरधाम उपमहानगरपालिका लगायत सरोकारवाला निकायले विवाहपञ्चमी तयारीको काम तीव्र गतिमा अघि बढाएका छन्। जानकी मन्दिर सजावट, स्वयम्वरको लागि बाह्रबिघा मैदानमा व्यवस्थापन, बाहिरबाट आउने दर्शनार्थीका लागि आवास र सुरक्षाको तयारीमा सम्बन्धित पक्ष जुटेको हो।

पाँच वर्षमा एकपटक अयोध्याबाट आउने साधुसन्तको विशेष जन्ती यस वर्ष आउन लागेकाले विवाहपञ्चमी महोत्सव भव्य हुने र त्यसै अनुसारको तयारी भइरहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी आउने निश्चित भएको उनले जानकारी दिए। ‘हामीले विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपतिलाई निमन्त्रणा पठाएका छौं। उहाँ आउने निश्चित भइसकेको छ,’ सहमहन्त वैष्णवले भने, ‘उहाँ १३ गते जानकी मन्दिर दर्शन गरी बाह्रबिघा मैदान जानुहुन्छ। त्यहाँ अयोध्यबाट आएका साधुसन्तलाई स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि उहाँ सम्बोधन गरेर फर्किनु हुन्छ।’

अयोध्याबाट हिँड्यो जन्ती
प्रत्येक पाँच वर्षमा भारत उत्तर प्रदेशको अयोध्यबाट बेहुला रामलाई लिएर आउने साधुसन्तको जन्ती बिहीबार नै हिँडिसकेको सहमहन्त वैष्णवले जानकारी दिए। उनका अनुसार सवारीसाधन, रथ, घोडासहितको जन्ती मंसिर १३ गते जनकपुर आइसक्ने छ। ‘अयोध्यामा लामो समयदेखि विवादित जमिन राममन्दिरको भएको भन्दै भारतको सर्वोच्च अदालतले फैसला गरेका कारण आयोध्यावासी उत्साहका साथ रामजानकी विवाहमा आउन लागेका छन्,’ उनले भने।

111.jpg

सुरक्षा व्यवस्था कडा हुने

रामाजानकी विवाहपञ्चमी मेलामा लाखौं दर्शनार्थीले जनकपुर खचाखच भरिने गर्दछ। यसलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनका लागि योजना बनिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।

रुट निर्धारण, ठूला सवारीसाधनलाई जनकपुर परिक्रमा, पार्किङको व्यवस्थापन गर्ने जस्ता काम भइरहेको उनले बताए।

त्यस्तै विवाह महोत्सवमा चोरी, लुटपाट, पकेटमारी, उच्छृङ्खल घटना हुन नदिन तीन हजारभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। ‘नेपाल प्रहरी र ट्राफिक प्रहरी गरी ३ हजार चार सय ४६ र सात सय आठ जना सशस्त्र प्रहरी परिचालन गर्ने तयारी गरेका छौं,’ उनले भने ‘आवश्यकता परे अझै थप्न सकिन्छ। सुरक्षाको लागि नेपाली सेनाले समेत हामीलाई सघाउँछ।’

विवाहपञ्चमीको दिन हेलिकप्टरबाट पुष्टवृष्टि, जनकपुरमा दीपावली

सीताराम विवाहपञ्चमीको दिन यस वर्षपनि हेलिकप्टरबाट पुष्पवृष्टि हुने भएको छ। नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्ने जानकी मन्दिरले जनाएको छ।

विवाहपञ्चमी महोत्सवका दिन साँझ जनकपुरधाम उपमहानगरपालिकाले घरघरमा दीपावली कार्यक्रम गर्ने नगरप्रमुख लालकिशोर साहले बताए।

दर्शनार्थीलाई विभिन्न संघसंस्थाको निःशुल्क सेवा : खानेदेखि बस्नेसम्म
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आउने भक्तजनलाई जनकपुरका विभिन्न संघसंस्थाले निःशुल्क सेवा दिने गर्दछन्। निःशुल्क आवास, निःशुल्क स्वास्थ्य शिविर, खाना तथा खानेपानी लगायतको व्यवस्था गरिएको छ। विभिन्न स्थानमा पाल तथा पण्डाल लगाएर संघ संस्थाहरुले श्रद्धालुलाई निःशुल्क सेवा दिने गर्दछन्। यसका लागि विभिन्न संघसंस्था अहिलेदेखि नै जुटेका छन्।

कीर्तनमा रम्छन् श्रद्धालु
विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै रमाउने गर्दछन्। मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिको झझल्को यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ। यसमा बालबालिकाहरुलाई राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, नाचागान, भजनकीर्तन, झाँकी र पूजाआजा समेत गरिन्छ।

janki33.jpg

यसरी मनाइन्छ विवाहपञ्चमी
त्रेता युगका राम र सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा विवाहपञ्चमी पर्व मनाइन्छ। यस वर्ष मंसिर १० गतेबाट सुरु हुने रामजानकी विवाहको काम मंसिर १६ गतेसम्म चल्ने छ।

मंसिर १० मा नगरदर्शन, मंसिर ११ मा फुलबारी लीला, मंसिर १२ मा धनुष यज्ञ, मंसिर १३ मा तिल्कोत्सव, मंसिर १४ मा राम र जानकीको मटकोर र १५ गते विवाहपञ्चमी छ। यस्तै मंसिर १६ मा रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने वैष्णवले बताए।

बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाई नगर घुमाउने र स्वागत गर्ने विधिलाई नगर दर्शन भन्छि। त्यस्तै बालबालिकालाई राम, लक्ष्मण र सीता बनाई फुलबारीमा घुमाउने रीतलाई फूलबारी लीला भन्ने गरिन्छ। धनुष यज्ञमा पर्शुरामले राजा जनकलाई प्रदान गरेको शिव धनुष रामले भाँच्ने कार्यक्रम हुन्छ।

चौथोदिन रामको तिलकोत्सव हुने गर्दछ। जसलाई मैथिलीमा छेका पनि भनिन्छ। विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात वरलाई टीकाटालो गर्ने गरिन्छ। तिलकोत्सवमा दहीच्युरा, खीरपुरी, विभिन्न मिठाइ, फलफूल, लत्ताकपडासहित एक हजार एक भार जानकी मन्दिरबाट बाजागाजा बजाउँदै जनकपुरकै राम मन्दिर पुग्छन्। भारको नेता अर्थात् राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्तले गर्छन् भने रामका बुबा राजा दशरथको भूमिकामा राममन्दिरका महन्त रहने परम्परा छ। राम मन्दिरमा भार पुगेपछि तिलकोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ। त्यहाँ महिलाहरुले मैथिली भाषाका लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुसन्तलाई गाली गरी स्वागत गर्ने चलन छ। यसरी सम्धी मिलन र तिलकोत्सव सम्पन्न हुन्छ।

janki44.jpg

पाँचौँ दिन राम र जानकीको मटकोर हुन्छ। जानकी मन्दिरबाट जानकीलाई जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागरमा पुगेर मटकोर गरिन्छ। छैठौँ दिन राम र जानकीको विवाहको मुख्य दिन हो। यस दिन दिउँसो साधुुसन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा पुगेपछि स्वयम्वर गरिन्छ।

राम मन्दिरका महन्थ राम गिरी रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका बुबाको भूमिकामा हुन्छन्। रामजानकीको डोली निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुजनहरुका घुँइचो लाग्ने गर्दछ।

स्वयम्वरपश्चात दुवै डोला जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार रामजानकीको विवाह सुुरु हुन्छ। यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह गर्ने चलन छ।

अन्तिम अर्थात् सातौँ दिन सीताराम विवाहपञ्चमीमा सहभागी भएका साधुसन्तलाई मिठामिठा परिकार बनाएर खुउँदै, गाली गीतले विदाई गरेर राम कलेवा मनाईन्छ। यो दिन जानकी मन्दिर प्रांगणको रौनक झन् बढी हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .