ad ad

समाज


सांसद पुत्रको सवारी ज्यान मुद्दा : जेलमै बसेर निस्किएको थियो लाइसेन्स!

सांसद पुत्रको सवारी ज्यान मुद्दा : जेलमै बसेर निस्किएको थियो लाइसेन्स!

फोटो क्रेडिट : प्रेम देवान


कृष्ण बहाब
चैत २४, २०७८ बिहिबार २१:७, इटहरी

 

घटना!
२०७८ जेठ २० गते साँझको करिब ७:३५ बजे मुकेश दास र राजकुमार सिंह कामबाट घर फिर्दै थिए । विराटनगरको एक उद्योगमा काम गर्ने उनीहरु त्यस दिनको काम सकेर घर विमानस्थल मोडको सडक किनारबाट हिँडिरहेका थिए।


सडक किनारबाट हिँडिरहेका दास र सिंहलाई पछाडीबाट एक्कासी कारले ठक्कर दियो।

कारको ठक्करबाट दुवै जना गम्भीर घाइते भए। रगताम्मे भएका दुवै जनालाई कोसी अस्पताल लगियो। अस्पतालमा त्यही दिन उपचारको क्रममा ३५ वर्षीय भारतीय नागरिक मुकेश दासको भने मृत्यु भयो।

मुकेश सँगै दुर्घटनामा मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी भने बाँचे। राजवंशीको बायाँ हातको कुम खुस्किएको थियो। भने निधारमा सामान्य चोट सँगै बायाँ पट्टिको छातीमा चोट लागको थियो।

बत्तिँदै आएको कारले सडक किनारमा हिँडिरहेका दास र सिंहलाई ठक्कर दिएर सिमेन्टको पिल्लर समेत भाँच्यो। दुर्घटना स्थलबाट २० फिट पर सम्म सिसाका टुक्राहरू पुगेका थिए। गाडी भित्रै सवार रहेकी शिल्पा सुवेदीले अदालतमा दिएको बयान अनुसार कारको अगाडीको भाग कच्याककुचुक भएको थियो।

पैदल यात्रुलाई हिर्काउने यो कार प्रदेश १ कि सांसद बिन्दिया कार्कीको। नेपाली काङ्ग्रेसबाट प्रदेश १ कि सांसद हुन कार्की।
दुर्घटनाको दिन कार चलाई रहेका थिए प्रदेश सांसदका छोरा रविन सिंह कार्की। प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको सो कार चलाएका सांसद कार्कीका छोरा रक्सीको नसामा धुत थिए।

मादक पदार्थ सेवन गर्दा दुर्घटना!
दुर्घटना हुनु अगाडि गाडीमा रहेका पाँच जना विराटनगरको एड्मायार क्याफेमा थिए। क्याफेमा उनीहरूले १६ वटा बियर खाए।

प्रहरी प्रतिवेदनका अनुसार ठक्कर हुँदा कार भित्र ५ जना थिए। दुर्घटना हुनुअघि होटेलमा बसेर खाजा र बियर खाएर थिए। विराटनगर–५ मा रहेको एड्मायर क्याफेमा बियर र खाजा खाएर साँझ ५ बजेर २० मिनेटको आसपास उनीहरू होटेलबाट निस्किएका थिए। कार चलाई रहेका थिए सांसद कार्कीका छोरा रविन सिंह कार्की।

कार्कीले मादक पदार्थ पिएर गाडी चलाउँदा भएको घटनामा दासको ज्यान गएको प्रहरीको अनुसन्धान थियो। विराटनगर–५ मा रहेको एड्मायार क्याफेमा बियर पिएका कार्कीले एयरपोर्ट मोडमा पुगेर दासलाई ठक्कर दिएको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो।

तर, दुर्घटना लगत्तै कार्की फरार भएको भन्दै कार्कीको शारीरिक परीक्षण नै गरेन प्रहरीले। कार्कीका साथी र होटेल सञ्चालकले दिएको बयानका आधारमा प्रहरीले कार्कीले पनि मादक पदार्थ सेवन गरेको निष्कर्ष निकालेको थियो। त्यसो त दुर्घटना लगत्तै कार्की सँगै अन्य ४ जना पनि फरार भएका थिए।

दुर्घटना भएको ३ दिनपछि भने रविन आफैँ आत्मसमर्पण गर्दै प्रहरीकोमा पुगे। तीन दिनपछि हात लागेका कार्कीको स्वास्थ्य परीक्षण गर्दा उनले दुर्घटनाको दिन मापसे गरे नगरेको प्रमाणित हुन सकेन। स्वास्थ्य रिपोर्टबाट मापसे पुष्टि गर्न नसके पनि होटेल सञ्चालक र कारमा सवार व्यक्तिहरूको बयानले भने कार चलाएका कार्कीले मापसे गरेको स्वीकारेका थिए।

क्याफेका सञ्चालक पङ्कज साहले प्रहरीलाई दिएको बयानमा कार्की र उनका साथीहरूले १६ वटा बियर खाएको बताएका छन्।

साहले बयान कागजमा लेखाएका छन् ‘..रविन कार्कीले मलाई बोलाउँदै बियर,माछा मासु लगायत चुरोटहरू देऊ भनेपछि मैले निजहरुलाई मुस्ताङ नाम गरेको बियर जम्मा १६, माछा मासु लगायत निजहरूले अर्डर गरेका अन्य कुराहरू दिए।’

साहले मात्र हैन, सवारी दुर्घटना हुँदा गाडी भित्रै रहेका रमण अधिकारीले समेत मापसे गरेको स्वीकारेका छन्। उनले बयानमा भनेका छन् ‘गाडीमा जाने क्रममा खाना खाने भनेर सर सल्लाह भई हामी एडमायर क्याफेमा गई रिचु गिरिले मम खाइन हामी सबैले माछा मासु र बियर समेतका खानेकुराहरू खायौँ।’

कार्कीका साथी र होटेल सञ्चालकको बयानको आधारमा कार्कीले पनि मापसे सेवन गरेको निष्कर्षमा पुग्यो प्रहरी। स्वास्थ्य परीक्षण प्रतिवेदन नभए पनि बयानका आधारमा कार्कीले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भयो।

प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले मापसे गरेर सवारी दुर्घटना भएको दाबी सहित २०७८ असार १५ मा मोरङ जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो।
जिल्ला सरकारी वकिल कार्यालयले मापसे गरेर सवारी चलाएको आधारमा कार्कीलाई सवारी ऐन २०४९ को दफा १६१(२) अनुसार को सजायको माग गरेको थियो।

सवारी ऐनको १६१(२) अनुसार यदि कसैले लापरबाही पूर्वक सवारी चलाएको कारण दुर्घटना भएर दुर्घटना भएको २१ दिन भित्र कसैको मृत्यु भएमा चलाउने व्यक्तिलाई ३ वर्ष देखि १० वर्ष कैद र ३० हजार देखि १ लाख सम्म जरिवाना हुन्छ।

सरकारी वकिल कार्यालयले दुर्घटनाको बेला मापासे गरेको कारण दुर्घटना भएकाले त्यसलाई लापरबाहीको संज्ञा दिएको थियो। मुद्दा दायर भएको भोलिपल्टै अर्थात् असार १६ गते जिल्ला अदालतमा थुनछेक बहस भयो। जिल्ला अदालतले रविन कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दियो।

पुर्पक्षको लागि कार्कीलाई थुनामा पठाएपछि मोरङ जिल्ला अदालतमा भदौ २० देखि पुनः बहस सुरु भयो । बहसको क्रममा कार्कीको पक्षबाट दुर्घटना मापसेले नभई टायर पड्किएर भएको थियो भन्ने दाबी थियो। वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ता द्वय भरत बहादुर थापा र हरिबहादुर श्रेष्ठले टायर पड्किँदा दुर्घटना भएको साबित गर्न खोजे।

तर, जिल्ला अदालतले टायर पड्किएर दुर्घटना भएको दाबी इन्कार गर्‍यो । कार्कीलाई थुनामा पठाएको तीन महिनापछि १३ असोजमा जिल्ला अदालत मोरङले कार्कीले कसुर गरेको ठहर गर्‍यो। तर, सजाय भने निर्धारण गरेन।

कार्कीलाई दोषी भनेको करिब एक हप्तापछि १९ असोजमा जिल्ला न्यायाधीश सुदर्शन लामिछानेले रविन कार्कीलाई ३ वर्ष कैद र ३५ हजार जरिवानाको सजाय सुनाए। न्यायाधीश लामिछानेले सवारी ऐन २०४९ को दफा १६१(२) बमोजिम मादक पदार्थ पिएर सवारी चलाई ज्यान लिएको भन्दै ३ वर्ष कैद र ३५ हजार क्षतिपूर्ति सहितको सजाय निर्धारण गरे।

‘तथ्य तथा प्रमाणहरूबाट प्रतिवादी रविन सिंह कार्कीले मादक पदार्थ सेवन गरी तीव्र गतिमा कार चलाएको कारण उक्त कार अनियन्त्रित भई सडक किनारमा हिँडिरहेका मुकेश शर्मा दास र राजकुमार राजवंशीलाई ठक्कर दिई दुर्घटना हुँदा त्यही चोट पिरबाट मुकेश शर्मा दासको मृत्यु भएको र अर्का रामकुमार राजवंशीको बायाँ हातको कुम भाँचिई अङ्गभङ्ग भएको भन्ने निर्विवाद रूपमा पुष्टि हुन आएकाले अभियोग मागवादी बमोजिम निज प्रतिवादी रविन सिंह कार्कीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २ र सोही ऐनको १६२ को उपदफा १ बमोजिम कसुर गरेको ठहर्छ,’ फैसलामा लेखिएको छ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएर कसैको ज्यान गएमा हुने सजायको न्यूनतम सजाय मात्र दिइएको थियो कार्कीलाई। न्यूनतम सजाय तोक्नुको कारण समेत मोरङ जिल्ला अदालतले खुलाएको थियो। कार्की सामाजिक अभियन्ता रहेको। युवा वयको  र अन्य आचरण खराब नरहेको हुँदा कार्कीलाई न्यूनतम सजाय तोकिएको जिल्ला अदालतले प्रस्ट्याएको थियो।

मोरङ जिल्ला अदालतले रविन सिंह कार्की प्रति लचक भएर न्यूनतम सजाय मात्र निर्धारण गरेको थियो। तर, कार्की पक्षले जिल्ला अदालतको फैसलामा चित्त बुझाएनन्। उनीहरू जिल्ला अदालतको फैसला आदेश विरुद्ध उच्च अदालत विराटनगर पुगे।

२२ कार्तिक ०७८ मा जिल्लाको फैसला विरुद्ध विराटनगर उच्च अदालत पुग्यो कार्की पक्ष। पुनरावेदन गर्नुको खास मकसद कार्की पक्षले मापसे नगरेको पुष्टि गराउनु थियो।

मानवीय त्रुटि नभई प्राविधिक गडबडीका कारण दुर्घटना भएको पुष्टि गर्न सके सवारी ऐनको दफा १६१ उपदफा ३ प्रयोग गर्नु पर्छ। अर्थात् कुनै लापरबाही नभई नै सवारी चलाउँदा ज्यान गएमा अधिकतम १ वर्ष सजाय हुने प्रावधान उपदफा ३ मा छ।

जिल्लाले मादक पदार्थ सेवन गरेर दुर्घटनाको गरेको विषयलाई उच्च अदालतले भने टायर पड्किएर दुर्घटना भएको देख्यो। त्यसैलाई टेक्दै उच्च अदालतका न्यायाधीश द्वय कृष्णकमल अधिकारी र जगतनारायण प्रधानको इजलासले टायर पड्किएर दुर्घटना भएको भन्दै जिल्लाको फैसलालाई आंशिक रूपमा उल्ट्याए।

‘कुँदी रहेको गाडी एक्कासि टायर पड्कन पुग्दा लरबराउनु स्वाभाविक भएको र यस्तो अवस्थामा दुर्घटना हुन सक्ने कुरालाई सहजै अनुमान गर्न सकिन्छ। टायर पड्किएपछि गाडी अनियन्त्रित भई दुर्घटना भएको कारणले मुकेश दासको मृत्यु भएको छ,’ टायर पड्किएर दुर्घटना भएको प्रमाणित गर्दै उच्च अदालतको फैसलामा लेखियो, ‘प्रतिवादीले आफ्नै साइडमा गाडी चलाउँदाको अवस्थामा अपर्झट टायर पकडेर दुर्घटना भएको तथ्य स्थापित भएको छ।’

जिल्ला अदालतले तीन वर्ष कैद हुने फैसला गरेको तीन महिनापछि २० पुस २०७८ मा उच्च अदालतले भने कार्कीलाई ६ महिना १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला गर्‍यो।
सवारी चलाउँदा कार्कीले मादक पदार्थ सेवन नगरेको उच्चको फैसलामा लेखिएको छ।

जेलमा रहँदा नै कार्कीले निकाले लाइसेन्स
दुई अदालतका यी बहस र माथापच्चिमा एउटा कुरा भने छुटाइयो। अदालतले ख्याल नगरेको विषय थियो कार्कीको सवारी चालक अनुमति पत्र। प्रहरीले पनि अनुसन्धानका क्रममा कार्कीले मापसे सेवन गरे, नगरेको विषयमा मात्र जोड दियो। कार्कीको सवारी चालक अनुमति पत्रका बारेमा भने अनुसन्धान फितलो भयो।

गाडी चलाउने व्यक्ति रविन सिंह कार्की नै थिए भन्ने थाहा हुँदाहुँदै प्रहरीले कार्कीलाई फरारको नाममा ३ दिन पछि मात्र नियन्त्रणमा लिन सकेको थियो। त्यो, पनि पनि आरोपी रहेका कार्की आफै आत्मसमर्पण गर्दै प्रहरी कार्यालय पुगेका थिए।

रक्सी खाएको नखाएको भन्ने विषय स्वास्थ्यको हिसाबले पुष्टि हुन नसक्ने भएपछि मात्र कार्की प्रहरीकोमा आत्मसमर्पण गर्दै पुगेका थिए भन्न यसले कुनै गाह्रो पार्दैन। त्यसैले पनि उच्च अदालतले त्यही ‘लु पोल’ लाई खोज्दै मापसे गरेर हैन टायर पड्किएर दुर्घटना भएको फैसला गर्‍यो।

कार्कीले बयानमा लाइसेन्स नभएको पुष्टि हुने गरी बयान दिए पनि अनुसन्धान गर्ने निकाय र अभियोजन गर्ने सरकारी वकिल कार्यालयले सवारी चालक अनुमति पत्रका बारेमा धेरै सोधखोज गरेन।

लाइसेन्स नभएको विषयमा अनुसन्धान गर्न आखिर कसरी चुक्यो त सम्बन्धित निकाय?
रविन सिंह कार्कीले अनुसन्धानको क्रममा दिएको बयानमा आफूले मोटरसाइकल र कारको लाइसेन्स यातायात व्यवस्था कार्यालय कोसीबाट लिएको बताएका थिए। तर, उनले आफ्नो लाइसेन्स नम्बर भने याद नभएको बताएका थिए।

जिल्ला अदालत मोरङमा उनले भनेका छन्, ‘मैले यातायात व्यवस्था कार्यालय कोसीबाट ए र बि को सवारी चालक अनुमति पत्र लिएको छु। सवारी चालक अनुमति पत्र नम्बर हाल मलाई थाहा छैन।’

कोसीबाट लाइसेन्स लिएको बताए पनि खासमा कार्कीको लाइसेन्स नै थिएन। खासमा कार्कीले संघिय राजधानी काठमाडौँको एकान्तकुना लाइसेन्स कार्यालय ललितपुरबाट लाइसेन्स निकाले त्यो पनि दुर्घटना भएर जेलमा रहेको समयमा।

कार्की कि आमा सांसद बिन्दिया कार्कीले जेलमा रहेका छोराको सवारी चालक अनुमति पत्र निकाल्ने प्रबन्ध गरिन्।

सङ्घीय राजधानीबाट सवारी चालक अनुमति पत्र निकालेपछि कार्कीले बयान फेरे। सुरुमा कोसी अञ्चल यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र लिएको बयान दिएका कार्कीले पछि बागमतीबाट अनुमति पत्र लिएको बताए।

जिल्ला अदालत मोरङको फैसला अनुसार सांसद कार्कीले नै अदालतमा छोराले सवारी चालक अनुमति पत्र पाएको सरकारी ढड्डाको फोटोकपी बुझाएकी थिइन्।

आमाले बागमतीबाट सवारी चालक अनुमति पत्र बनाएपछि बयान फेर्दै कार्कीले भने, ‘मैले पहिले लेखाएको बयानको सवाल जवाफ ९ मा यातायात व्यवस्था कार्यालय, कोसीबाट सवारी चालक अनुमति पत्र लिएको छु भनी भुलवस लेखाई दिएको हुँ। मैले यातायात व्यवस्था कार्यालय बागमतीबाट बि वर्गको यातायात सवारी चालक अनुमति पत्र प्राप्त गरेको हुँ। मेरो बि वर्गको सवारी चालक अनुमति पत्र नम्बर ०१–०६–००५४२५८९ हो, जारी मिति २०७५।७।१२ गते हो।’

अदालतले सवारी चालक अनुमति पत्र पेस गर्न भनेपछि कार्कीले अनुमति पत्र भने हराएको बताए । बयानमा उनले भने, ‘मैले  सवारी चालक अनुमति पत्रको सक्कल प्रति आज भन्दा करिब १ वर्ष अगाडी काठमाडैँबाट विराटनगर घरतर्फ आउँदा हराएको र पुनः प्राप्तिको लागि हाल कोरोना भाइरसको महामारीले गर्दा काठमाडौँ जान नपाएकोले पुनः प्राप्त गर्न नसकेको हो।’

तर, नेपाल खबरको अनुसन्धानले भने कार्कीले सवारी चालक अनुमति पत्र नै गलत तरिकाले लिएको देखाएको छ ।  कार्की जेलमै रहँदा यातायात व्यवस्था कार्यालय एकान्त कुनाबाट उनको नाममा सवारी चालक अनुमति पत्र निकालिएको छ।

लाइसेन्सको फारम भर्दा शरीर उपस्थिति हुनु पर्दछ। तर, कार्कीका नाममा जारी गरिएको सवारी चालक अनुमति पत्रको विवरणमा भने कार्कीको फोटो अमिल्दो देखिन्छ। कार्यालयको स्रोतले नै कार्कीको अनुमति पत्रमा गडबडी भएको बतायो।

कार्कीले बयानका क्रममा २०७५ कार्तिक १२ गते आफूले सवारी चालक अनुमति पत्र लिएको बताएका थिए।  अर्थात् २०१८ अक्टोबर २९ मा आफूले लाइसेन्स लिएको बताएका थिए।  विभागको विवरण अनुसार कार्कीको ट्रायल १३ अप्रिल २०१८ मा भएको थियो । र, उनले विभागमा दिएको निवेदनको दर्ता नम्बर थियो ६७०९५४३२।

तर, यो निवेदन भने कार्कीको नभई भेषबहादुर माझीको नाममा थियो । कम्प्युटर विवरणमा कार्कीको नाममा सवारी चालक अनुमति पत्र थियो तर, यता फालमा भने भेषबहादुर माझीको निवेदन फेला पर्‍यो।

विभागको विवरण अनुसार सवारी चालक अनुमति पत्रका लागि दिएको निवेदनमा माझी फेल थिए । तर, त्यही निवेदनका आधारमा बनेको कार्कीले भने सवारी चालक अनुमति पत्र पाएको देखिन्छ।

'अम्मामा हौ' मेरो स्रोत पनि अचम्ममा पर्‍यो 'फेल भएको मान्छेको एप्लिकेशन आइडी युज गरेर पो लाइसेन्स निकालेको रैछ त यार। यो खेल माथिको महाखेल रहेछ।'

उसले मलाई बुझाउन खोज्यो ' सुन्नु सर अब मैले यो बुझे। भेषबहादुर माझी पनि फेल भएको थियो। त्यही फेल भएको आइडीलाई कसैले दुई नम्बरी तरिकाले लाइसेन्स बनाएको क्रिएट गर्‍यो। खासमा यो लाइसेन्स  लाइसेन्स निकालेको कोही सँग पनि नहुन सक्छ, मात्र आवश्यक परेको बेला जसलाई चाहिन्छ उसको नाममा देखाइन्छ।

खासमा भेषबहादुर माझी ट्रायलमा फेल भए। उनको निवेदन र्आइडी प्रयोग गरेर सवारी चालक अनुमति पत्र निकालिएको थियो। तर, उच्च अदालतको फैसला पछि भने कार्कीका नाममा रहेको त्यही सवारी चालक अनुमति पत्र अर्कैको नाममा देखिन्छ।

सुरुमा भेष बहादुरको नाममा रहेको उक्त सवारी चालक अनुमति पत्र कार्कीको नाममा पुग्यो। उच्च अदालतको फैसला पछि कार्कीको नाममा रहेको अनुमति पत्र सहदेव गजमेरको नाममा देखियो। गजमेरको नाममा अनुमति पत्र पुगेको अर्को दिन नै फेरी कार्कीको नाममा फर्कियो। र, कार्कीको विवरणमा पहिले राखिएको तस्बिर पनि परिवर्तन भयो।

स्रोत सँग पुस्टि भएपछि यो विषयलाई नेपाल खबरले कार्यालय मार्फत समेत पुस्टि गर्‍यो। सूचनाको हक प्रयोग गरेर।

'.....अदालतले विवरण सहित आदेश सहित सार्वजनिक भइसकेकाले नेपालको संविधानको धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४ र ऐ ऐनको नियमावली २०६५ वाञ्छनीय भएकाले पत्रकारिता प्रयोजनको लागि सूचना उपलब्ध गराई पाउ ।' भन्ने विवरणको निवेदनमा कार्यालयमा दिइयो।

त्यसपछि कार्यालयले तत्कालीन ट्रायलको बेलाको ढड्डाको प्रतिलिपि सहित सूचना दियो। जहाँ स्पष्ट सँग लेखिएको छ '...परीक्षाको हाजिरी रेकर्ड र प्रयोगात्मक चेक लिस्ट बमोजिम भेष बहादुर माझीको नाममा देखिएको ब्यहोरा अनुरोध छ। साथै निजको चेक लिस्ट र हाजिरीको प्रमाणित प्रतिलिपि यसै पत्रसाथ उपलब्ध गरिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .