ad ad

समाज


लेटाङ घटना : शिक्षकले छात्रालाई गरेको त्यो हर्कतले निम्त्याएको प्रहरी हत्या

अनि उर्मिला श्रेष्ठको घाँटीमै छुरा रोपियो
लेटाङ घटना : शिक्षकले छात्रालाई गरेको त्यो हर्कतले निम्त्याएको प्रहरी हत्या

घटनास्थल


कृष्ण बहाब
चैत ९, २०७८ बुधबार ८:५४, विराटनगर

मोरङको लेटाङ बजार अहिले सुनसान छ, कोरोनाकालको लकडाउनजस्तै। बजार छिर्ने सबै नाकामा प्रहरी छन्, बाहिरका मान्छे अत्यावश्यक कामबाहेक बजार छिर्न पाउँदैनन्। सञ्चारकर्मीले प्रेस पास देखाउँदा प्रहरीले राम्रैसँग सोधखोज गर्छ। युट्युबर त हैन भन्नेमा प्रहरी निकै सजग देखिन्थे। त्यही किसिमका प्रश्न गर्थे।

बाहिरका मान्छे मात्र हैन, लेटाङ बजारभित्रकै बासिन्दाको समेत त्यहाँ आवतजावत छैन। अलि नयाँ मान्छे बाटोमा देख्नेबित्तिकै आँगनमा भएका स्थानीय चासोका साथ हेर्छन्। 

आइतबार दिउँसोसम्म लेटाङको अवस्था ठिकठाक थियो। आफ्नै लयमा रहेको लेटाङ आइतबार साँझदेखि भने बिथोलियो। एक जना प्रहरी महिलाको मृत्यु हुनेगरी हुलदंगा भएपछि लेटाङ अशान्त बनेको हो। ​

गाउँभरि प्रहरी परिचालन भए। बजार क्षेत्रमा कर्फ्यु जारी भयो। घरबाट कोही बाहिर निस्किन नपाउने भए। बसहरू बसपार्कमै थन्किए। होटल, चिया पसललगायत पसलका सटर लागे। मूल कुरा विद्यार्थी नियमित जाने स्कुलमा ताला लाग्यो।
                                  ०००००
घटना होली पर्वका दिन (चैत ४ गते) को हो। त्यस दिन स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेल होली खेल्ने बहानामा कक्षा ७ मा पढ्ने आफ्नै छात्राको घर गए।

घरमा ती बालिका मात्र रहिछन्। उनका बुबाआमा कतै गएका रहेछन्। शिक्षक पौडेलको मनमा कुविचार आयो। मोटरसाइकलमा गएका पौडेलले छात्राको घर पुग्नेबित्तिकै पानी मागे। पानी लिन उनी भान्साकोठाभित्र छिरिन्।

त्यही मौकामा शिक्षक पौडेल पनि भित्र छिरे। र, पानी लिने बहानामा पौडेलले ती बालिकाको हात पक्रिए। र, करणी प्रयास गरे। बालिकाले चिच्याउँदै प्रतिकार गरिन्। त्यसपछि शिक्षक पौडेल हच्किए र त्यहाँबाट निस्किए।

बलात्कार हुनबाट बचे पनि बालिकाको मन नराम्ररी बिथोलियो। त्यो दिन शुक्रबार थियो। भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएकाले स्कुल खुलेन। त्यसैले त्यतिन्जेल घटना सार्वजनिक भए। 

पर्सिपल्ट आइतबार विद्यालय खुल्नासाथ ती बालिका शिक्षकले आफूलाई गरेको दुर्व्यवहारविरुद्ध उजुरी लिएर प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रकहाँ पुगिन्। उनको निवेदन लिएपछि प्रधानाध्यापक मिश्रले बालिकासँग घटनाबारे सोधे। 

विद्यालयका कार्यालय सहयोगी गोपाल ढकालले नेपालखबरलाई सुनाए, ‘नानी (पीडित छात्रा) को कुरा सुनेपछि मनोज सर (पीडक) लाई बोलाउन भन्नुभयो, म बोलाउन गएँ।’

पहिलो घण्टी पढाउँदै गरेका मनोज पौडेललाई अफिस कोठामा आए। प्रधानाध्यापक मिश्रले सोधे, ‘के हो सर! तपाईंको विषयमा यस्तो कुरा आयो?’ पौडेलले रिसाउँदै आरोप अस्वीकार गरे। त्यस क्रममा उनले पीडित बालिकालाई नै झम्टिए पनि। 

२०६३ देखि उक्त स्कुलमा कार्यरत पौडेललाई यस्तो आरोप लागेको भने पहिलोपटक थिएन। त्यसबेला उनलाई लिखित माफी नै मगाइएको थियो। यसैले यो पालि प्रधानाध्यापक मिश्र एक्लैले निर्णय गर्न नसक्ने भए। त्यसपछि उनले लेटाङका उपमेयर र वडाध्यक्षलाई फोन गरे।

वडाध्यक्ष भूम सूर्य मगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनीसँगै उपमेयर कृष्णकुमारी निरौला पनि आइन्। आरोपित पौडेल बटारिन छाडेनन्। वडाध्यक्ष मगर र उपमेयर निरौलाले पौडेललाई ‘भोलिदेखि तपाईं स्कुल नआउनू’ भने। 

पहिलो घण्टी लाग्दा सुरु भएको छलफल टिफिन हुने बेलासम्म पनि सकिएन। त्यतिबेलासम्म अभिभावकहरू पनि आफ्ना विद्यार्थी छोराछोरीलाई खाजा लिएर आइसकेका थिए। बोल्दाबोल्दै बालिका बेहोस भइन्। प्रहरी टोली पनि आइसकेको थियो। 

‘एम्बुलेन्स बोलाएर नानीलाई हस्पिटल पठाउने कुरा हुँदै थियो। तर, एम्बुलेन्सलाई समय लाग्ने भयो’, प्रत्यक्षदर्शी कार्यालय सहयोगी ढकालले भने’ ‘त्यसपछि अटो मगाइयो, नानीलाई लान।’

बालिकालाई अटोमा लानासाथ एम्बुलेन्स पनि आयो। त्यसपछि प्रहरीले त्यही एम्बुलेन्समा हालेर पौडेललाई प्रहरीचौकी लान खोज्यो। 

‘त्यसपछि अभिभावकहरू नानीलाई चैं अटोमा लाने यो बलात्कारीलाई चैं एम्बुलेन्समा लाने भनेर कराउन थाले’, ढकालले सुनाए, ‘त्यसपछि त विद्यार्थीहरूले ढुंगा उठाएर हान्न थाली त गए।’

भीड बढ्दै गयो। स्कुलछेउ घर भएका अर्का साक्षी कृष्ण लम्साल ‘अनन्त’का अनुसार मार्नुपर्छ, हान्नुपर्छ भन्नेको जमात बढ्दै गयो। 

स्थिति तनावग्रस्त हुँदै गयो। आरोपित शिक्षकको मोटरसाइकलमा आगो लगाइयो। त्यसपछि त स्कुलमै ढुंगामुढा हुन थाल्यो। 

‘मैले अहिलेसम्म नदेखेका मान्छेहरू पनि स्कुलको चौरमा देखें, धेरै वर्ष भयो, यहीँ राजनीति गरेको तर, नचिनेका धेरै मान्छेहरू यहाँ थिए’, घटनाका साक्षी अनन्तले भने, ‘नचिनेका बाहिरका मान्छेहरू देखेपछि विद्यार्थीहरू शिक्षकहरूलाई कसरी बचाउने भन्नेमा देखिए। त्यहाँका केटाहरूले हेडमास्टरलाई पनि कुटे। स्थिति त व्यक्तिगत रिसइबीजस्तो देखियो।’                                 ००००० 
स्कुलमा सुरक्षा दिन आएका प्रहरीले मात्र आरोपित शिक्षकलाई त्यहाँबाट सुरक्षित रूपमा प्रहरी कार्यालयसम्म लान सक्ने स्थिति भएन। विराटनगरबाट थप प्रहरी मगाइयो। 

स्थिति गम्भीर बनेपछि मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसी पनि घटनास्थल पुगे। आक्रमण नथामिने देखेपछि प्रहरीले अश्रुग्याँस प्रहार ग¥यो। दुई जना आक्रमणकारी घाइते भए। 

त्यसपछि भीड प्रहरीमाथि नै जाइलाग्यो। त्यही भीडको चेपुवामा परिन्– प्रहरी जवान उर्मिला श्रेष्ठ। श्रेष्ठलाई भीडकै कुनै मानिसले चक्कुले हान्यो, घाँटीमै।

याे पनिप्रहरी जवान उर्मिला श्रेष्ठ : अरूलाई जोगाउन जाँदा आफू मारिइन्​

गम्भीर घाइते अवस्थामा प्रहरी जवान उर्मिलालाई नजिकको एक अस्पताल लगियो। त्यहाँ पुग्दा नपुग्दै उनको धड्कन बन्द भइसकेको थियो। तर सहकर्मीहरूलाई अझै आस थियो। त्यही भएर उनलाई विराटनगरको कोसी अस्पताल पुर्याइयो।

रक्ताम्मे अवस्थामा आइतबार राति अस्पताल पुर्याइएकी उर्मिलालाई चिकित्सकले बचाउन सकेनन्।​​​ 

००००

भोलिपल्ट सोमबार बिहान ७ बजेदेखि लेटाङमा स्थानीय प्रशासनले कर्फ्यु लगायो। जनजीवन ठप्प भयो। आज बुधबारदेखि भने कर्फ्यु केही खुकुलो पारिएको छ। 

मंगलबार दिउँसो लेटाङ नगरपालिकामा बसेको सर्वदलीय बैठकको निर्णयानुसार प्रशासनले कर्फ्यु केही खुकुलो पारेको हो। 

‘सोमबारदेखि मंगलबारसम्मको अवस्था हेर्दा लेटाङ धेरै शान्त बनेको छ’, लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले नेपालखबरसँग भनिन्, ‘त्यहीअनुसार जनजीवन सामान्य बनाउन प्रशासनसमक्ष अनुरोध गरेका थियौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .