ad ad

समाज


हराएको ट्यांकर अझै भेटिएन

हराएको ट्यांकर अझै भेटिएन

दीपक खरेल
मंसिर ३, २०७६ मंगलबार १७:२४,

प्रहरीले हराएको डिजेल ट्यांकर भारतको विहारमा फेला परेको भन्दै दिएको सूचनाको आफैँले खण्डन गरेको छ।

अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर दुई दिनदेखि हराएको छ। प्रहरीले हराएको ट्यांकर मंगलबार राति फेला परेको बताएको थियो।

सप्तरीका डीएसपी अपिलराज बोहराले सप्तरीको नेपाल भारत सीमा नजिकै भारततर्फ उक्त ट्यांकर फेला परेको बताएका थिए। तर त्यस क्षेत्रमा गएर रातभर खोज्दा पनि ट्यांकर फेला नपरेको बोहोराले बताए। लहानबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली ट्यांकर खोज्न गएको छ।

ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको थियो। ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए। प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए।

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ। उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो।

त्यसअघि नेपाल आयल निगमले ‘अपहरण’ मा परेको भनिएको ट्यांकरको खोजी गर्न एक समिति बनाएको छ। निगमले मंगलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

निगमका अनुसार निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा करार सम्झौता भई संचालनमा रहेको इन्धन ट्यांकर अपहरणमा परेको हो। लहानमा मूल राजमार्गको हुलाक कार्यालय अगाडि विश्राम गरेको अवस्थामा ट्या‌ंकर राती १२ देखि १ बजेको बीचमा लुटेराको चंगुलमा परेको निगमले जनाएको छ।

६ देखि ८ जनाको समूहमा आएका अपहरणकारीले चालक र सहचालकलाई आँखामा पट्टी बाँधी सो स्थानबाट सुमोमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा छोडेका थिए। ट्यांकर भने अपहरणकारीले नै चलाएर लगेको चालक र सहचालकले निगमलाई जानकारी गराएको प्रवक्ता वीरेन्द्र गोइतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .