ad ad

समाज


लेटाङ घटना : बलात्कार आरोपित शिक्षक बचाउन खोज्दा यसरी मारिइन् प्रहरी

कथा के हो?
लेटाङ घटना : बलात्कार आरोपित शिक्षक बचाउन खोज्दा यसरी मारिइन् प्रहरी

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा विद्यार्थीसँगको झडपमा मारिएको प्रहरी जवान उर्मिला श्रेष्ठ।


नेपालखबर
चैत ७, २०७८ सोमबार ९:११, काठमाडौँ

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको झडपमा एक जना प्रहरी महिलाको मृत्यु भएपछि त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

आफ्नै छात्रालाई बलात्कार प्रयास गरेको आरोप लागेका शिक्षक मनोज पौडेल आक्रोशित विद्यार्थीबाट घेरिएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीलाई नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। 

अवस्था तनावग्रस्त भएपछि नियन्त्रणमा लिन आज बिहान ७ बजेदेखि अर्काे आदेश नहुन्जेलसम्मका लागि घटनास्थलसहित लेटाङका वडा नम्बर ४, ५ र ६ कर्फ्यु लगाइएकाे ​मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरलाई जानकारी दिए। 

‘अहिले अवस्था सामान्य छ’, साेमबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले नेपालखबरसँग भने।​

यसरी मारिइन् प्रहरी 
आफैंलाई पढाउने शिक्षकले आफूलाई बलात्कार प्रयास गरेको भन्दै १३ वर्षीया किशोरी अभिभावक लिएर आइतबार बिहान आफू पढ्ने मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास मावि पुगिन्। कक्षा ७ मा पढ्ने उनले शिक्षकले आफूलाई यौन दुर्व्यहार  गरेको घटना विद्यालय प्रशासनमा सुनाइन्।

यो थाहा पाउनासाथ विद्यार्थीहरू आरोपित शिक्षक मनोज पौडेलविरुद्ध आक्रोशित भए। शिक्षक पौडेलको ज्यान नै जोखिममा पर्न थालेपछि विद्यालय प्रशासनले प्रहरी गुहार्यो। प्रहरीको टोली पुगेर शिक्षक पौडेललाई सुरक्षा दियो। बाहिर निस्किने अवस्था नभएकाले प्रहरीको सुरक्षा घेरामा उनलाई दिनभर विद्यालयभित्रै थुनेर राखियो। 

बाहिर विरोध बढ्दै गयो। यस क्रममा विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकल (तल तस्बिर) जलाइदिए। 

आक्रोशित विद्यार्थी र स्थानीय अभिभावकले आरोपित शिक्षकलाई बाहिर निकाल्न दबाब दिन थाले। असुरक्षा बढ्दै गएपछि प्रहरीले शिक्षक पौडेललाई सुरक्षा दिँदै बाहिर निकाले र त्यहाँबाट उद्धारका लागि मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राख्यो। तर भीडमा छिमेकी विद्यालयका विद्यार्थी पनि थपिए र आरोपित शिक्षक पौडेलविरुद्ध नाराबाजी एम्बुलेन्समै ढुंगामुढा गर्न थाले।

अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न थाल्यो। यसै क्रममा प्रहरी र आक्रोशित विद्यार्थीबीच झडप भयो। मोरङ प्रहरीका अनुसार भीडको आक्रमणबाट एसपी जनार्दन जीसीसहित १५ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्। तीमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठ गम्भीर घाइते भइन्। उपचारका लागि हताहतार उनलाई लेटाङ बजारस्थित मनकामना अस्पताल पुर्याइयो, तर चिकित्सकले उनको मृत्यु भइसकेको बताए। 

आइतबार बिहान १० बजेदेखि तनावग्रस्त लेटाङ–५ खेरुवास्थित शिक्षा विकास मावि परिसर राति ९ बजेतिर मात्र शान्त भएको थियो।

विद्यालय घेरेर बसेका विद्यार्थी, आरोपि शिक्षकको सुरक्षामा खटिएका प्रहरी।

प्रहरीले सुरक्षा बढाएर अश्रुग्यास प्रहार गर्दै बलात्कार प्रयास आरोप लागेका शिक्षक मनोज पौडेललाई उद्धार गरी इलाका प्रहरी कार्यालय लेटाङ पुर्याइएको छ। पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा पनि आक्रोशित स्थानीयले लखेटीलखेटी प्रहरीलाई ढुंगामुढा गरेका थिए। त्यस क्रममा पनि एक जना प्रहरी घाइते भएको बताइएको छ।

आरोप के हो? 
होली पर्वका दिन गत शुक्रबार ती १३ वर्षीया बालिका घरमा एक्लै थिइन्। होली खेल्ने निहुँमा आफूलाई पढाउने गुरु ५६ वर्षीय मनोज पौडेल आइपुगे। उनले रङ दल्ने निहुँमा आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बालिकाकाे आरोप छ।

तर आफूले चिच्याएर प्रतिकार गरेपछि शिक्षक पाैडेल भागेको पीडित बालिकाको भनाइ छ। 

लेटाङकै वडा नम्बर ३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक विषयका शिक्षक हुन्। 

उनले यसअघि पनि दुईपटक बालिका र किशोरीलाई दुव्र्यवहार गरेको स्थानीयको आरोप छ। त्यसबेला स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर यस्ता गल्ती नदोहोर्याउन चेतावनी दिएर छाडिएको थियो। तर अहिले तेस्रोपटक पनि उनले हर्कत देखाएपछि स्थानीय आक्रोशित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .