समाज


तीन कलिला विद्यार्थीसहित एकै वडाका चार जनाको मृत्युले शोकमा डुब्यो पाटन

तीन कलिला विद्यार्थीसहित एकै वडाका चार जनाको मृत्युले शोकमा डुब्यो पाटन

टिपर दुर्घटनास्थल


गोकुल जोशी
फागुन १०, २०७८ मंगलबार ६:३२, महेन्द्रनगर

टिपर दुर्घटनामा तीन कलिला विद्यार्थीसहित एकै वडाका चार जनाको मृत्यु भएपछि बैतडीको पाटन नगरपालिका शोकमा डुबेको छ। 

जिल्ला प्रहरी कार्यालय (बैतडी) का अनुसार सोमबार बा ३ ख ४८७९ नम्बरको टिपर बैतडीको पाटन नगरपालिका–३ झालिमालीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। 

टिपर दुर्घटनास्थलकाे अर्काे तस्बिर

दुर्घटनामा एकै वडाका तीन जना कलिला बालक र एक जना वयस्क पुरुषको मृत्यु भएपछि नगरपालिका शोकमा डुबेको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए। 

‘विद्यालयबाट घर फर्किरहेका ससाना विद्यार्थी दुर्घटनामा परेको दुःखद खबरले पूरै नगरपालिका शोकमा डुबेको छ’, उनले नेपालखबरसँग भने, ‘यो घटनाले हामी अत्यन्तै दुःखी भएका छौं। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

सोमबार बिहान १० बजे विद्यालय गएर अपराह्न ४ बजे घर फर्किरहेका ७ जना विद्यार्थीमध्ये तीन जना कहिल्यै नफर्किने गरी अस्ताएका छन् भने कोही अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा छन्। 

दुर्घटनामा पाटन नगरपालिका–३ गौरीशंकरस्थित सिगास माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी तथा स्थानीय ४५ वर्षीय जनकराज पन्तको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका अर्का विद्यार्थी १२ वर्षीय राजेश प्रसाद पन्तको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा अन्य ३ जना विद्यार्थी घाइते भएका छन्। 

प्रहरीका अनुसार पाटन नगरपालिका–३ का १२ वर्षीय सुनिल भट्ट, १३ वर्षीय सुदिप पन्त र १२ वर्षीय अनिल विष्ट घाइते भएका हुन्। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार जारी छ। 

टिपर दुर्घटनामा मृत्यु तथा घाइते हुने सबै पाटन नगरपालिका वडा नम्बर ३ का हुन्। उनीहरू उक्त वडाअन्तर्गत जडाकोट, गुराली, बङडा र टुणीखान भन्ने ठाउँका बासिन्दा थिए। 

दुर्घटनाले पाटन नगरपालिका वडा नम्बर ३ का यी बस्तीमा सन्नाटा छाएको छ। मृतक ललित, जनक र राजेश पाटन नगरपालिका–३ जडाकोटका हुन्। 

जनक पाटन बजारमा पसल थाप्ने तयारीमा थिए। त्यही पसल (खोका) बनाउन भनेर उनी टिपर लिएर पाटन गएका थिए। अपराह्न ४ बजे सिगास माध्यमिक विद्यालयमा पढाइ सकिएर बिदा हुँदै थियो। 

त्यसै क्रममा काठ टिपरमा लोड गर्न सहयोग हुन्छ भनेर उनले विद्यालयबाट आफ्ना गाउँका केही विद्यार्थीलाई पनि सँगै झालिमाली ल्याए। विद्यालयबाट झालिमाली करिब २ किलोमिटर पर्छ। 

गाउँकै मानिसले भनेकाले सहयोग गर्न भन्दै जडाकोटका विद्यार्थी पनि टिपरमा जान राजी भए।

यस क्रममा घर जान भनेर बुङडा, गुराली, टुणीखानका २०/२५ जना विद्यार्थी पनि टिपरमा चढेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै पाटन नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष फणेन्द्र विष्ट बताउँछन्। 

झालिमालीमा काठ लोड गर्न टिपर पछाडि सार्ने क्रममा दुर्घटना भएको हो। 

‘टिपर ब्याक गर्दा केही विद्यार्थी उत्रेका रहेछन्। केही टिपरमै रहेछन्’, वडाध्यक्ष विष्टले नेपालखबरसँग भने, ‘ब्याक गर्दा टायर सडकबाट तल खसेछ। त्यसपछि  ब्रेक लागेन। चालक र केही विद्यार्थीले हामफाले। केही विद्यार्थी भने टिपरसँगै तल खसे।’ 

टिपर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। काठ लोड गर्न मद्दत गर्न गएका तीन विद्यार्थीको मृत्यु भयो। 

‘जडाकोटका विद्यार्थी काठ लोड गर्न सघाउन गएका थिए। दुर्घटनामा उनीहरूले ज्यान गुमाएका छन्’, वडाध्यक्ष विष्टले भने, ‘पसलका लागि काठ लगिरहेका जनक पनि बितेका छन्।’

उता जिल्ला प्रहरी कार्यालय (बैतडी) का प्रहरी निरीक्षक दर्शन खड्का भने दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँछन्। ‘टिपर चालक फरार छन्’, उनले भने, ‘दुर्घटनाको कारण खुल्न सकेको छैन।’

‘टिपरमा विद्यार्थीलाई चढाउनु हुन्थेन। अरू दिन हिँडेरै जान्थे विद्यार्थीहरू’ पाटन नगरपालिकाका प्रवक्ता लोक बहादुर भण्डारी भन्छन्, ‘छिट्टै घर पुगिन्छ भनेर टिपरमा बसेछन्। दुःखद् घटना घट्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad