गएको २४ घण्टामा देशभर भएका आगलागीका १३ घटनामा एक जनाको ज्यान गएको छ। आगलागीमा परी अन्य पाँच जना घाइते भएका छन्।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ शान्ती बजार बस्ने एक महिनाका बालकको आगोले जलेर ज्यान गएको छ। बालकलाई ओछ्यानमा सुताई आमा बाहिर रहेको अबस्थामा ओछ्यानमा आगो सल्किई बालकको मृत्यु भएको हो। बालककी आमा सामान्य घाइते भएकी छन्।
विभिन्न स्थानमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर थप चार जना महिला घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
धनुषाको धनौजी गाउँपालिका–४ भडरिया बस्ने एक महिला घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किई घाइते भएकी छन्। उस्तै घटनामा पर्साको पर्सागढी नगरपालिका–२ बगवाना बस्ने वर्ष ३५ की एक महिला घर अगाडि आगो ताप्ने क्रममा शरीरमा अचानक आगो लागी घाइते भएकी छन्।
यस्तै, सिरहाको मिर्चैया नगरपालिका–११ सितापुर बस्ने एक महिला घरमा आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किई घाइते भएकी छन्।
यसैगरी महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने वर्ष ५० की एक महिला पनि आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किई घाइते भएकी छन्।
आगलागीबाट पर्सा, महोत्तरी, सर्लाही, मोरङ, सिन्धुपाल्चोक, कास्की, र काठमाडौंमा आगलागीबाट लाखौंको क्षति भएको छ।
गएको वैशाख १ गतेदेखि आगलागीका १ हजार ६०८ घटनामा ५३ जनाको मृत्यु भएको छ भने २६३ जना घाइते भएका प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया