ad ad

समाज


कोरोना संक्रमितको अस्पताल बसाइ पहिलेभन्दा आधा कम

तेस्रो लहरमा थोरैलाई मात्रै जटिल समस्या
कोरोना संक्रमितको अस्पताल बसाइ पहिलेभन्दा आधा कम

फाइल तस्बिर


यज्ञराज जोशी
माघ २, २०७८ आइतबार १८:५९, काठमाडौँ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोनाको दोस्रो लहरका बेला डेल्टा भेरियन्टबाट संक्रमित भएर आउनेको संख्या थामिनसक्नु थियो। विरामीको चाप अत्यधिक हुँदा अस्पतालले प्राङ्ग्रणमै अस्थायी बेड राखेर उपचार गर्नुपरेको थियो। 

तर, अत्यन्त संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट नेपालको समुदायस्तरमा फैलिएको आशंकाबीच दैनिक ५ हजार हाराहारीमा संक्रमण पुष्टि हुँदा पनि अहिले टेकु अस्पतालमा बिरामी भर्ना दर न्यून छ। 

अस्पतालका चिकित्सक डा. विमल शर्मा चालिसेका अनुसार आइतबारसम्म अस्पतालमा १२ जना संक्रमित मात्रै उपचाररत छन्। पछिल्लो समयका संक्रमितको अस्पताल बसाई डेल्टा भेरियन्टभन्दा आधा कम रहेको उनले बताए। 

‘आईसीयूमा भएका बिरामी ८–१० दिन बस्छन्। अन्यत्र भएका बिरामी ५–७ दिनमा घर फर्किरहेका छन,’ डा. चालिसेले नेपालखबरसँग भने, ‘अहिलेसम्मको लक्षण हेर्दा अघिल्लो चरणमा डेल्टाजस्तो ह्वात्तै अस्पताल भरिने अवस्था देखिएको छैन।’ 

भर्ना भएका बिरामीलाई पनि सिकिस्त हुने क्रम न्यून देखिएको छ। उनीहरुलाई हाई फ्लो अक्सिजन दिइहाल्नु पर्ने समेत कम देखिएको चालिसेले बताए। 

‘हामीसँग आईसीयूमा ५ जना छन। तीमध्ये ३ जनालाई हाइ फ्लो दिनुपरे पनि अन्यलाई अक्सिजन त्यति आवश्यक परेको छैन,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा श्वास फेर्न गाह्रो भएर अक्सिजनको दिइहाल्नु पर्ने देखिएको छैन।’

ओमिक्रोन भेरियन्ट फैलिएको आशंकाबीच नेपालमा एक सातामै कोरोना संक्रमण २१ प्रतिशतले बढेको छ। गत हप्ता ५८ हजार ३०० नमूना परीक्षण गर्दा ३ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको थियो। 

यो हप्ता ७५ हजार ६१० जनामा परीक्षण २१ हजार १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नेपालमा गएको २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। होम आइसोलेसनमा २४ हजार ५८४ र संस्थागत आइसोलसनमा १ हजार ९६ जना रहेका छन्। 
पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले हप्ता दश दिन यता संक्रमण निकै बढेपछि अस्पताल भर्ना हुने क्रम न्यून रहेको बताए। 

‘पहिले ६०–८० जना पीसीआर परीक्षण गराउँथे। संक्रमणदर १० प्रतिशत हाराहारीमा हुन्थ्यो,’ उनले भने, ‘अहिले पीसीआर गर्ने दैनिक २०० को हाराहारीमा छन। पोजिटिभिटीको रेट पनि ५० भन्दामाथि छन। पहिले ३० जना जति भर्ना भइराख्थे। अहिले ५० जना भर्ना भएका छन।’

तर जिन सिक्वेसिङ नभइसकेकाले ओमिक्रोन भएर भर्ना नभएको भन्न नसकिने उनले बताए। कोभिडकै कारणभन्दा पोजिटिभ देखिएका र अन्य कारणले बिरामी भर्ना भएको उनले बताए। 

‘कोभिडले भन्दा कोभिड पोजिटिभ तर अरु रोग भएका बिरामी बढी छन्। कोभिडको मात्रै लक्षण लिएर अरु रोग नभएकालाई त्यति भर्ना गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रचलन पनिमा पनि अहिले अस्पताल बसाई ५ दिनमात्रै हो। अमेरिका, बेलायतमा त्यस्तै अभ्यास छ। तर हाम्रोमा ओमिक्रोन नै भएको भनेर ढुक्क हुने अवस्था नभएकाले १० दिनसम्म अस्पताल बस्ने गरेका छन।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शिक्षण अस्पतालमा आइतबार २३ जना सामान्य वार्ड, ८ जना आइसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन। यस्तै पाटन अस्पतालमा ३२ जना सामान्य, १६ जना एचडीयू, ६ जना आइसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत छन्। 

शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार अस्पतालमा संक्रमित देखिने क्रम बढे पनि भर्ना दर र सिकिस्त हुने क्रम न्यून छ। 

‘डेल्टा भेरियन्टका बेला गत वैशाख पहिलो साता अस्पताल भरिएको थियो। अहिले त्यस्तो छैन,’ उनले भने, ‘पोजिटिभ धेरैको आउने गरेको छ। तर आइसीयू जाने क्रम कम छ। केही ​जटिलबाहेक औसत ५–७ दिनमा घर फर्किएका छन। यद्यपि यो सुरुवाती चरण हो, अहिले नै यस्तै भनिहाल्न गाह्रो छ।’ 

डेल्टा भाइरसको जस्तो फोक्सोमा निमोनिया देखिने क्रम पनि कम रहेको उनले बताए। अहिले संक्रमण देखिने बिरामीमा साधारण रुघाखोकी, जिउ दुख्ने, घाँटी दुख्ने लक्षण छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .