ad ad

समाज


केन्द्रको निर्णयबाट बन्द भएनन् विद्यालय

स्थानीय तहले रोकेनन् पठनपाठन
केन्द्रको निर्णयबाट बन्द भएनन् विद्यालय

समाचार प्रतिनिधि तस्बिर


मीना खड्का
पुस २८, २०७८ बुधबार १४:४०, काठमाडौँ

नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लागेपछि सरकार देशभरका शिक्षण संस्था बन्द घोषणा गर्यो। 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द निर्देशन दियो। 

कोरोनाको तेस्रो लहर सुरु भएको सीसीएमसीले गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले गरेको कार्यान्वयनलाई देशका अधिकांश स्थानीय तहले नमान्ने भएका छन्। 

सीसीएमसी प्रवक्ता सुनिता नेपालले कोभिडको बढ्दो दरलाई ख्याल गर्दै बिदालाई लम्ब्याउँदै लैजाने बताएकी थिइन्। 

‘अझै सबै बालबालिकालाई खोप पुग्न सकेको छैन’, उनले भनिन्, ‘कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै एक महिनासम्म विद्यालय बन्द हुन सक्छन्’ 
बाध्यता 

यता, विद्यालयबाट कोरोना संक्रमण फैलिन सक्ने भएकाले बन्द गर्ने सूचना जारी गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए। 

‘रहरले विद्यालय बन्द गर्ने निर्णय गरिएको होइन’, उनले भने, ‘देशभरका अधिकांश बालबालिकाले कोरोनाको खोप नपाएको र कोरोनाको जोखिम विद्यालयमा बढी हुने भएकोले यस्तो सूचना जारी गरिएको हो।’

विद्यालय बन्द गर्ने सरकारको निर्णयविपरीत कतिपय स्थानमा पढाई भइरहेकोबारे सोध्दा प्रवक्ता शर्माले भने, ‘सीसीएमसी र मन्त्रालयको निर्णय हो मान्नुपर्ने हो। सूचना नपुगेको पनि हुन सक्छ।’ 

अवज्ञा 
तर संघीय सरकारका यी निकायको निर्णयलाई स्थानीय तहले अवज्ञा गरेका छन्। धेरै पालिकाले विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्। 

माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिइसकेको अवस्थामा केन्द्रबाट विद्यालय बन्द गर्न दिइएको ठाडो निर्देशनप्रति पालिकाहरुले आपत्ति जनाएका छन्। अहिले पनि उपत्यकाबाहेक देशका अधिकांश भागमा विद्यार्थी, शिक्षकको भौतिक उपस्थितिमै पठनपाठन भइरहेको छ। 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले भौतिक उपस्थितिमै शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिरहेको छ। मेलम्ची नगरपालिकामा ६२ सामुदायिक विद्यालय अहिले पनि खुलेका छन्। 
मेलम्ची नगरपालिकाका शिक्षा अधिकृत सुधीनराज बुढाथोकीले भौतिक उपस्थितिमै पठनपाठन जारी रहेको बताए। 

‘विद्यालय बन्द हुँदा पढाइ प्रभावित हुन्छ। ‘विद्यार्थीको शैक्षिक जीवनमा थप अन्योल आउन नदिन हामीले पठनपाठन नरोकेका हौँ’, उनले भने, ‘केन्द्रबाट देशभरका विद्यालय बन्द गर्ने निर्णय मान्ने अवस्था छैन। पढाई रोकिँदा विद्यालय तहका परीक्षामा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत ल्याउन नसक्ने अवस्था छ। यसले विद्यार्थीको मनोविज्ञानमा ठूलो असर पर्छ।’
बुढाथोकीका अनुसार त्यहाँका शिक्षकहरुले कोरोना खोप लाइसकेका छन्। तर  विद्यार्थीलाई पुगेको छैन। 

अर्कातिर विद्यार्थी र शिक्षक सबैले कोरोना खोप लाइसकेको सिन्धुपाल्चोककै तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुंगानाले बताए। 

‘हाम्रो विद्यालयमा अपवादबाहेक सबै शिक्षक र सबै विद्यार्थीले खोप लगाएका छन्’ , उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गरिरहेका छौँ।’ 

उनले अहिले विद्यालय बन्द गर्न नहुने बताए। ‘बुधबार पनि हामीले विद्यालय सञ्चालन गर्यौँ, भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका छन्’, उनले भने, ‘जोखिम हेरेर बन्द गर्नुपर्ने हुनसक्छ। अहिले नै संक्रमण जोखिम नदेखिएकोले तत्काल बन्द गर्दैनौँ।’

अभिभावक के भन्छन् ? 
एकजना अभिभावक भीमसेन थापा कोरोना नियन्त्रणका नाममा विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यमा खेलबाड गर्न नहुने बताउँछन्। 

‘जहिले विद्यालय बन्द गरेर कोरोना नियन्त्रण हुने सोच्नु राम्रो होइन’, उनले भने, ‘दलहरूको आन्दोलन, सभा, सम्मेलन, अधिवेशनमा हजारौँ जम्मा हुँदा कोरोना नसर्ने तर विद्यालय चाहिँ बन्द गर्ने निर्णय मान्य हुँदैन।’

गाउँमा अनलाइन शिक्षा प्रभावकारी नभएपछि भौतिक उपस्थितिकै शिक्षणलाई जोड दिइएको पनि उनले बताए।

सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकामा पनि भौतिक उपस्थितिमै पठनपाठन भइरहेको छ। 

सिन्धुपाल्चोकसँगै उदयपुरको त्रियुगा नगरपालिकाले विद्यालयहरु बन्द गर्ने केन्द्रको निर्देशनलाई अवज्ञा गरेको छ।

कोरोना नियन्त्रणमै रहेकाले विद्यालय बन्द नगरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख मानबहादुर राईले बताए।

‘त्रियुगा अहिले ग्रीन जोनमै छ। अहिले नै विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘जुन दिन संक्रमण आएर नियन्त्रणबाहिर जाने संकेत देखिन्छ। त्यसपछि मात्रै अवस्था हेरेर विद्यालयहरु बन्द गर्ने निर्णय गरिन्छ।’

यस्तै ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिकामा पनि विद्यालय बन्द भएका छैनन्। विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक जीवन थप अन्योलमा पर्ने भएकाले भौतिक उपस्थितिमै नियमित पठनपाठन भइरहेको छ।

उता तेह्रथुमको म्याङलुङ नगरपालिकाका पनि विद्यालय बन्द भएका छैनन्। धनकुटाको चौबीसे गाउँपालिकाका प्रमुख खजिन्द्र राईले त्यहाँका सबै विद्यालय सञ्चालन भइरहेका बताए। 

‘विद्यार्थीले २ वर्षदेखि राम्ररी पढ्न पाएका छैनन्’, उनले भने, ‘पालिकाभित्र अहिले कोरोना छैन। सबै शिक्षक र बालबालिकाले खोप पनि लगाइसकेका पठनपाठन रोकेका छैनौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .