ad ad

समाज


बुढो भएँ भन्दैमा जेलबाट छुट्लान् त चार्ल्स शोभराज?

बुढो भएँ भन्दैमा जेलबाट छुट्लान् त चार्ल्स शोभराज?

उजिर कार्की
पुस ९, २०७८ शुक्रबार २२:७, काठमाडौँ

कुख्यात अपराधी चार्ल्स शोभराजले मागेबमोजिम कैद छुट दिनु नपर्ने कारण पेस गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। यो आदेशसँगै ‘बिकिनी किलर’ का रुपमा परिचित शोभराज छुट्न सक्ने सम्भावना देखिएको छ।  

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले शोभराजले माग गरेबमोजिम कैद छुट दिनु नपर्ने कारण भए तीन दिनभित्रमा लिखित जवाफ पेस गर्न सरकारलाई भनेको छ। अब सरकारले ढिलोमा एक हप्ता म्याद थमौतीसहित १० दिनभित्रमा जवाफ दिनु पर्छ। 

त्यसपछि शोभराजलाई जेष्ठ नागरिक ऐन अनुसार कैद छुट दिने कि नदिने भन्ने टुंगो लाग्नेछ। 

कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराज अहिले ७७ वर्षका भएका छन्। जेष्ठ नागरिक ऐनमा जेष्ठ नागरिकहरुलाई उमेर अनुसार २५ देखि ७५ प्रतिशतसम्म कैद छुट दिने व्यवस्था छ। ७५ वर्ष पुरा भएका जेष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट दिने व्यवस्था छ। 

यस्तै, जेष्ठ नागरिकलाई कसुरको गाम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न समेत आदेश दिन सक्नेछ। तर, नेपालमा हेरचाह गृह भने छैनन्।  

यो व्यवस्थाअनुसार सबैले कैद छुट पाउँछन् नै भन्ने निश्चित नहुने शोभराजलाई राखिएको कारागारका जेलर डोरेन्द्र निरौलाले बताए। 

यही व्यवस्थाअनुसार आफूले कैद छुट नपाएको भन्दै शोभराज भने सर्वोच्च पुगेका हुन्। सुन्धारा कारागारमा रहेका ३३ सय कैदीमा करिब २ सय जेष्ठ नागरिक छन्। कारगारभित्र ८६ वर्षीय नेपाली समेत रहेको निरौलाले बताए।

जेष्ठ नागरिक ऐनमा जेष्ठ नागरिकलाई २५ देखि ७५ प्रतिशतसम्म कैद छुट हुने व्यवस्था रहे पनि कारागार ऐनमा भने गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई कैद छुट दिन नमिल्ने व्यवस्था छ। 

जेष्ठ नागरिक ऐनअनुसार कारागार ऐन र नियमावली संशोधन नहुँदा कैदीलाई दिइने कैदछुटको व्यवस्था कार्यान्वयनमा एकरुपता हुन नसकेको हो। 

शोभराजका तर्फबाट बहस गरेकी अधिवक्ता शकुन्तला थापाले अन्य नागरिकलाई भन्दा उनलाई सरकारले फरक व्यवहार गरेको दाबी गरिन्। 

‘जेष्ठ नागरिक ऐन, कारागार नियमावली कारागार ऐन, जेल निर्देशकबाट भएका परिपत्रहरु छन्। जेष्ठ नागरिकलाई छाड्नुपर्छ भनेर सर्वोच्च अदालतबाट गरिएका धेरै परमादेशहरु छन्,’ अधिवक्ता थापाले भनिन्, ‘७७ वर्ष उमेर पुगेकोलाई कति प्रतिशत छुट हुन्छ सोहीअनुसार उहाँलाई छुट दिनुपर्छ।’

अदालतले शोभराजलाई छाड्न आदेश दिने उनको दाबी छ। जेष्ठ नागरिक ऐन नेपाली नागरिकलाई मात्रै लागू हुने कि विदेशीलाई पनि भन्नेमा समेत अन्यौल भएको जेलर निरौलाले बताए। अदालतकै आदेशअनुसार नै शोभराज कारागारमा रहेकाले अदालतको आदेश आए छाड्न समस्या नहुने उनले बताए। 

‘अदालतले नै यो अवधिसम्म कैदमा राख्नू भनेकाले हामीले त्यो अवधिसम्म राख्ने हो। आज छोड भन्यो भने छाडिदिने हो। आज अदालतमा बुझाउनु भन्यो भने बुझाउने हो। हामी त थन्क्याउने घर मात्रै हो नि,’ जेलर निरौलाले नेपालखबरसँग भने। 

नेपालमा अमेरिका र क्यानडाकी महिलाको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा छन्। उनीविरुद्ध अदालतले जन्मकैदको फैसला गरेको छ। अदालतको उक्त फैसलाअनुसार उनी २०८० सालमा छुट्ने भए पनि उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी उद्योगको अर्को मुद्दामा थप ५ वर्ष कैदको फैसला भएको छ।

तर, पहिलेको कानुनी व्यवस्थाअनुसार अधिकतम २० वर्ष सजाय हुने भएकाले अदालतले हद जारी गरे उनी २०८० सालमा जेलमुक्त हुने सम्भावना छ। 

यसअघि गत चैतमा उनले बेलायती सञ्चारमाध्यममा जेलभित्रैबाट अन्तर्वार्ता दिँदा पनि आफू छिट्टै जेलमुक्त भएर फर्किने बताएका थिए। 

तर उनी कहिले फर्किने वा नफर्किने भन्ने टुंगो सरकारको लिखित जवाफपछि सर्वोच्चले गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .