संघीय प्रहरी इकाई भैरहवामा शुक्रबार मृत भेटिएका एसएसपी सुशीलकुमार यादवलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको थियो।
अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छानविन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।
एसएसपी भीम ढकाल संयोजकत्वमा बनेको छानविन समितिले अपहरणकारीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै विभागीय कारबाही सिफारिस गरेको थियो।
२०६४ माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो।
तर उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ।
स्पष्टीकरणपछि विभागीय कारबाहीबारे निर्णय गर्ने तयारी थियो। छानबिन समितिले टण्डनलाई उन्मुक्ति दिन २० प्रहरीको संलग्नता देखाएको थियो। तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन्।
छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत संलग्नता देखाएको छ।
तत्कालीन प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी (पूर्व आईजीपी) ठाकुरप्रसाद ज्ञवाली, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डीएसपी राजकुमार बैदरवारले अवकाश पाइसकेका छन्।
तर बाँकी १५ जनालाई विभागीय कारबाही गर्न समितिको सिफारिस छ। समितिले तत्कालीन डीएसपी सुशीलकुमार यादव (हाल एसएसपी) लाई पनि विभागीय कारबाही सिफारिस गरेको थियो।
यस्तै एसपी दानबहादुर कार्की, एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेशकुमार आचार्य, एसपी दिलिप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनीलाई कारबाही गर्न सिफारिस गरेको थियो।
यस्तै डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतीत सिंह राठौर लगायतसँग स्पष्टीकरण मागिएको थियो।
के भन्छ कानुन शाखा
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले भने छानबिन प्रतिवेदनमा जेजे भए पनि अहिलेसम्म ५ जनालाई मात्रै स्पष्टीकरण सोधिएको दाबी गरेको छ।
कानुन शाखाका एक अधिकृतका अनुसार तत्कालीन मुद्दा शाखामा कार्यरत दुईजना डीएसपी, दुईजना इन्सपेक्टर र एकजना असईलाई स्पष्टीकरण सोधिएको बताएका छन्।
उनका अनुसार उनीहरुले स्पष्टीकरण पनि बुझाइसकेका छन्। उनीहरुमाथि कारबाहीबारे निर्णय भइनसकेको जानकारी कानुन शाखाले दिएको छ।
अनुसन्धान गरिएका अन्य १५ जना अहिले पनि बहालमै छन्।
Shares

प्रतिक्रिया