आज देशका अधिकांश स्थानमा मौसम बदली भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार पश्चिमी वायुका साथै अरब सागरमा विकसित ‘माहा’ नामक शक्तिशाली चक्रवातको आंशिक प्रभाव पनि नेपालमा परेको छ।
‘हुन त माहाको प्रभाव धेरथोर देशभरै पर्छ तर यसको प्रभाव विशेषगरी पश्चिम अनि मध्य क्षेत्रसम्म परेको छ, मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘पश्चिम तराईदेखि पहाडसम्म मौसम बदली त्यसैको प्रभाव हो।’
यसैको प्रभावले आज अपराह्नपछि वा राति विशेषगरी पश्चिमका तर देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपताको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए।
‘यसैले ती क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई हामी सतर्कता अपनाउन आग्रह गर्छाैं,’ उनले भने।
४ हजार मिटरमाथिका भूभागमा आज हिमपात हुने सम्भावना रहेको उनको भनाइ छ।
महाशाखाले पनि बिहीबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ : देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउनुहोला।
अरब सागर नेपालको दक्षिण-पश्चिमतिर पर्ने भएकाले त्यहाँ विकसित ‘माहा’ चक्रवातकाे प्रभाव पनि नेपालको पश्चिमतिरै बढी पर्ने मौसमविद् अर्यालले बताए।‘यसको प्रभाव आज राति र भोलिसम्म पर्छ,’ उनले भने।
मौमस महाशाखाका अनुसार भोलि (शुक्रबार) पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म तथा पूर्वी तराईमा आंशिक बदली रहनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ।
साथै भोलि दिउँसो देशको पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ।
शनिबारदेखि भने मौसम सुधार हुने सम्भावना छ। महाशाखाका अनुसार शनिबार पूर्वी क्षेत्रलगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना छैन।

प्रतिक्रिया