समाज


कालंगाका उद्धारकर्ता प्रहरीको बयानः हाइड्रोको सुरुङ ग्यास च्याम्बरजस्तै

कालंगाका उद्धारकर्ता प्रहरीको बयानः हाइड्रोको सुरुङ ग्यास च्याम्बरजस्तै

दीपक खरेल
कात्तिक १९, २०७६ मंगलबार १०:३१,

सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा चार जना टोली तयार गरियो। शिक्षालयमा समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले उद्धारमा जाने टोलीलाई निर्देशन दिए– ‘जसरी हुन्छ कामदारको जीवित उद्धारमा जोड दिनू।’

एसएसपी प्रधानले यसो भनिरहँदा बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र चार मजदूर फसकेको करिब २४ घण्टा बितिसकेको थियो। सशस्त्र प्रहरीको उद्धार टोली चितवनको कुरिनटारबाट घटनास्थल पुग्दा दिनको दुई बजिसकेको थियो।

समिट एयरको हेलिकोप्टरमा गएको उद्धार टोली घटनास्थल पुग्दा हाइड्रोका कामदार, स्थानीयबासी र स्थानीय प्रहरी उनीहरुकै पर्र्खाइमा थियो। स्थानीयको हरसम्भव प्रयासपछि पनि सुरुङमा फसेका चारजनाको उद्धार हुन सकेको थिएन।

प्रहरी निरीक्षक कटुवालले आफ्नो टोलीलाई बाटैमा घटनास्थलको अवस्थाबारे ब्रिफिङ गरिसकेका थिए। टोली हेलिकोप्टरबाट ओर्लिएको केही मिनेटमा अक्सिजन सहित अन्य उपकरण बोकेर सुरुङ भित्र पस्यो।

‘दुईतर्फ गर्दा सुरुङ करिब डेढसय मिटर हाराहारीको रहेछ,’ सशस्त्र निरीक्षक कटुवालले सुनाए ‘भित्र अक्सिजनको कमी थियो । विषालु ग्यास पनि भरिएको थियो। मास्क खोल्नेबित्तिकै सास फेर्न गाह्रो हुने, आँखा पोल्ने हुन्थ्यो।’

उनको टोलीले पहिलो दिन करिब ९ सय मिटर भित्र पहिला दुईजनालाई भेट्यो। दुवैजना हलचल गर्ने अवस्थामा थिएनन्। दुवैलाई बोकेर टोली बाहिर निस्कियो। त्यहाँसम्म पुग्दा उद्धार टोलीको अक्सिजनसकिन थालेको थियो।

सुरुङबाट बाहिर निकालेका दुवैको मृत्यु भइसकेको रहेछ।

टोली केही समय सुस्ताएर फेरि भित्र पस्यो। धेरै पर पुगिसकेपछि अर्को शव सोमबार साँझ भेटियो।

‘दशैँ–तिहारमा काम बन्द भएकाले सुरुङमा विषालु ग्यास भरिएको हुनुपर्छ,’ कटुवालले भने ‘चारैजनाको मृत्यु सोही ग्यासका कारण भएको अनुमान गरेका छौं।’ उनका अनुसार हाइड्रो पावर कम्पनीले अक्सिजन भेन्टिलेसनको व्यवस्था गरेपनि सुरुङ खन्न जाने मजदुरका लागि त्यो मात्रा अपुग थियो। जसका कारण उनीहरुको निस्सासिएर मृत्यु भएको अनुमान उनी गर्छन्।

‘मंगलबार बिहान चौथो शव समेत उद्धार गरेका छौं,’ कटुवालले भने, ‘सुरक्षाको व्यवस्था त गरिएको छ, तर त्यो पर्याप्त भएन भन्ने अनुमान हो।’

सुरुङमा ज्यान गुमाएका दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामीको शव स्थानीय प्रहरीको जिम्मा लगाएर उद्धार टोली फर्किएको छ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरस्थित कालंगा जल विद्युतको निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार ६ जना कामदार तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएका थिए । दुई जना बाहिर निस्किए पनि अरु चार जना सुरुङबाट फर्किन सकेका थिएनन्।

१५ दशमलव ३३ मेगावाट क्षमताको कालंगा गाड जलविद्युत आयोजनाको अहिलेसम्म झण्डै ६५ प्रतिशत काम सकिइसकेको छ। १० वटा बैंक र अन्य निजी क्षेत्रका लगानीकर्ताहरुको १३ अर्बको लगानीमा निर्माणाधीन आयोजनाको तीन ठाउँमा संरचना निमार्ण भइरहेको छ।

कालंगा ग्रुप अफ कम्पनीज्को आयोजनामा बनिरहेको सो हाइड्रो पावरका मुख्य लगानीकर्ताहरुमा उमेश श्रेष्ठ, राजेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा तीर्थराज चटौत र वीरेन्द्रबहादुर मल्ल छन्। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन्।

कांलगासहित यो कम्पनीले शनिगाड, बुङगाल र बागथला हाइड्रोपावर समेत निर्माण गरिरहेको छ। यस्तै, एन्जेल इन्जिनियरिङ कन्सल्टेन्सी र एभरेस्ट इन्फ्रास्ट्रक्चर समेत यही कांलगा ग्रुप अफ कम्पनी अन्तर्गत संचालित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .