पश्चिमाञ्चल होटल संघ (पोखरा) ले आज (शनिबार) तिहारको भाइटीकाको उपलक्ष्यमा आयोजना गरेको भाइटीका महोत्सवमा २० जना विदेशी नागरिकले भाइटीका लगाएका छन्।
कोरोना महामारीका कारण २ वर्षदेखि रोकिएको महोत्सवले यसपटक १४औं संस्करणका रूपमा पुनः निरन्तरता पाएको हो।
पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए।
भाइटीका महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए।
कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका नागरिक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। कतिपय विदेशी नागरिकले दोहोर्याएरसमेत टीका लगाएको उनले बताए।
विदेशी नागरिकलाई सयपत्री फूलको माला र टोपीसहित भाइटीका लगाउँदै सेलरोटीलगायतका परिकार छात्राहरूले दिएका थिए।
सो अवसरमा देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रम सुरु गर्दै संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्त्वबारे विदेशी नागरिकलाई बताएका थिए।
हेर्नुहोस् तस्बिर
Shares
प्रतिक्रिया