समाज


आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

नेपालखबर
कात्तिक २०, २०७८ शनिबार ६:२५, काठमाडौँ

यमपञ्चकको अन्तिम दिन आज भाइटीका। स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले आज परम्परा अनुसार दिदीबहिनीले आफ्ना दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामना गर्दै भाइटीका लगाउँदै छन्। 

यसबर्ष भाई टीकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ।

साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले जनाएको छ। दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टीका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्छन्।

पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजा सहित भाइटीका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ। 

टीकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ । दिदी बहिनीले टीका लगाई दिएपछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गरिन्छ।

भाइटीकाका दिन भाइलाई दिदीबहिनीले कालको मुखबाट समेत बचाइ दिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा आराम गर्न र टीका लगाउन आउने पौराणिक विश्वास छ । यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गरिन्छ।

दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ। 

आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गरिन्छ। 

भाइटीका लगाएपछि आफन्त र साथीभाइ भेला भएर देउसी खेल्दै रमाइलो गर्ने परंपरा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .