समाज


बाहिरियो ठूलो वर्षा गराउने प्रणाली, आजदेखि मौसम सुधार

बाहिरियो ठूलो वर्षा गराउने प्रणाली, आजदेखि मौसम सुधार

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार ६:४१, काठमाडौँ

देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी केही दिनदेखि जारी वर्षा आज (बिहीबार) देखि रोकिएको र मौसम सुधार भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको छ।   

‘आजदेखि मौसममा सुधार आइसकेको छ। हिजो (बुधबार) रातिदेखि धेरै ठाउँमा पानी पर्न रोकिइसकेको अवस्था छ। हिजो अस्ति ठूलो वर्षा गराउने प्रणाली बाहिरिसकेकाे छ’, माैसमविद् पाैडेलले बिहीबार बिहान नेपालखबरसँग भने ‘यद्यपि त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’

उनका अनुसार आज धेरै स्थानमा घाम लाग्ने सम्भावना छ। 

तर हिजो अस्तिकै वर्षाले कतिपय स्थानमा जमिन गलेका हुनाले होसियारी भने अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : प्रदेश नं १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

फेरि ठूलो वर्षा हुने सम्भावना छ कि छैन?

मौसमविद् पौडेलले भने, ‘तत्कालै २/४ दिनलाई त्यस्तो सम्भावना छैन। यद्यपि प्रणाली भन्न सकिन्न। एक हप्तापछिको अवस्था अहिले देखिँदैन। प्रणाली आयो भने जानकारी गराइहाल्छौं।’

मनसुन बिदा भइसकेर पनि एकसाथ दुइटा मौसमी प्रणाली (पश्चिमी वायु र बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली) का कारण नेपालमा हिजो अस्ति ठूलो वर्षा भएको उनले जानकारी दिए। 

मनसुन अर्थात् वर्षा याम बिदा भइसकेपछि सामान्यतया ठूलो वर्षा नहुने ठानिन्छ। तर मनसुन हटेपछि पनि केही समय वर्षा हुनु नियमित प्रक्रिया नै भएको मौसमविद्को भनाइ छ।​

यसपालिचाहिँ अलि बढी नै वर्षा भएको उनीहरूको ठम्याइ छ। तर यसबारे मौसमविदले केही दिनअघि नै चेतावनी जारी गरेका थिए। 

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्ष ९ दिन ढिला मनसुन बाहिरिएको थियो। 

मौसमविद् पौडेलका अनुसार अहिले पोस्ट मनसुनको अवधि हो। विन्टर अर्थात् हिउँद याम सुरु हुनुअघिको अवधिलाई पोस्ट मनसुन भनिन्छ। डिसेम्बरदेखि भने हिउँद याम सुरु हुने उनले जानकारी दिए।  

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको शनिबारसम्मको मौसम अनुमान यस्तो छ–

बिहीबार (आज) 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

शुक्रबार
दिउँसो : प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  

शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।   

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान ६ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .