समाज


दुई भित्री वस्त्रः जसले बग्दादी–मृत्युको आधिकारिक पुष्टि गर्‍यो

दुई भित्री वस्त्रः जसले बग्दादी–मृत्युको आधिकारिक पुष्टि गर्‍यो

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ७:१४,

सिरियाली कुर्दहरुले बग्दादीको भित्री घेरामा जासुस राखेर इस्लामिक स्टेटका केही दिनअघि मारिएका अबु बकर अल बग्दादीका दुईवटा ‘अन्डरपेन्ट’(कट्टु) चोरेको बताएका छन्। सोही आधारमा बग्दादीको डीएनए परीक्षण भएको खुलासा भएको छ।

बग्दादी गोप्य अमेरिकी कारबाहीमा गत शनिबार राति मात्रै मारिएका थिए। उनको मृत्युको लागि सिरियन डेमोक्रेटिक फोर्सेज(एसडीएफ)ले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उत्तरी सिरियाको कम्पाउन्डभित्र रहेका बग्दादीलाई ट्राक गरिएको सिरियन कुर्दहरुले बताएका छन्। बग्दादी सीमाक्षेत्रबाट टर्की भाग्ने तयारीमा रहेका थिए।

‘१५ मेदेखि नै हामी सीआईएसँग बग्दादीलाई ट्राक गर्न मिलेर काम गरिरहेका थियौँ’, एसडीएफका वरिष्ठ अधिकारी पोल्याट क्यानले ट्विटरमा भनेका छन्, ‘हाम्रा एक जना स्रोत उक्त घरमा पुग्न सफल भएको थियो, जहाँ बग्दादी लुक्दै आइरहेका थिए। बग्दादीले आफ्नो बसोबास परिवर्तन गरिरहन्थे। उनी छिट्टै टर्कीसँगको सीमा क्षेत्रस्थित जेराब्लुजमा नयाँ स्थानमा जाँदै थिए।’

उनले थप्दै भनेका छन्, ‘हाम्रो आफ्नै स्रोत जो अल बग्दादीसम्म पुगेको थियो, उसले डीएनए टेस्टका लागि बग्दादीका दुईवटा अन्डरवेयर चोरेर ल्याएका थिए। जसका कारण उनी नै हुन् भन्ने शतप्रतिशत निश्चित हुन सकियोस्, र शंकाको कुनै गुञ्जायस नरहोस्!’

यता ट्रम्पले भने उक्त अपरेसनको सफलताको जस लिएका छन्। ट्रम्पले उक्त अपरेसन हुनुअघि नै सिरियाबाट सेना फिर्ता लैजान थालेपछि उक्त अपरेसन केही समयलाई सारिएको समेत एसडीएफले दाबी गरेको छ।

झण्डै एक महिनाअघि बग्दादीविरुद्ध कारबाही गर्ने निर्णयमा पुगिएको थियो’, क्यानले भनेका छन्, ‘तर अमेरिकाले सेना फिर्ता गरेपछि र टर्कीले कुर्दहरुविरुद्ध कारबाही सुरु गरेपछि हाम्रो विशेष अपरेसन केही समय रद्द गर्नुपरेको थियो। उक्त अपरेसनलाई टर्कीको आक्रमणले केही समय पछि धकेलिदियो।’

‘हाम्रो इन्टेलिजेन्स स्रोतले उक्त अपरेसनको अन्तिम क्षणसम्म सक्रिय सहयोग गरेको थियो’, एसडीएफका ती अधिकारीले भनेका छन्। अपरेसनबारे अमेरिकी ज्वाइन्ट्स चिफ्स अफ स्टाफका प्रमुख जनरल मार्क मिलेले भने केही बताउन चाहेनन् ।

तर बग्दादीको कम्पाउन्ड छिर्ने सबै अमेरिकी विशेष कमाण्डो रहेको स्पष्ट पारे। तर एसडीएफका कमान्डर जनरल माजलुम कोबानीले भने बग्दादीको कम्पाउन्डमा एसडीएफका एजेन्ट समेत सँगै रहेको दाबी गरेका छन्। उक्त एजेन्टले बग्दादीको सुरक्षा सल्लाहकारका रुपमा काम गरेको र त्यो छोडेर उनले बदलाका लागि अभिप्रेरित भएको कुर्द कमान्डरको दाबी छ।

बग्दादीको जेठीसासूका श्रीमान पनि यसअघि उनको खोजीमा सक्रिय भएका थिए। इराकी इन्टेलिजेन्सका अधिकारीहरुका अनुसार मोहम्मद अलि साजिद अल जोबाईले इराकसँग जोडिएको सिरियाली सीमास्थित मरुभूमिभित्रको सुरुङ पत्ता लगाएका थिए। जहाँ बग्दादी बसेका छन् भन्ने प्रमाण फेला परेको थियो। ती प्रमाणहरु हतियार, मेडिकल ब्याग, धार्मिक किताब र हातले कोरेको नक्सा भएको सानो एउटा ह्यान्डब्याग फेला परेका थिए।

सुरुदेखि नै बग्दादी पत्ता लगाउन प्रयोग भएका स्रोतहरुमा एक जना बग्दादीकै श्रीमती र अर्का एक जना भतिज समेत रहेको बताइएको छ। उनीहरुले इराकी र सिरियाली कुर्दहरुलाई बग्दादी बसेको इडलिब प्रान्तबारे जानकारी गराएका थिए।

पेन्टागनमा ब्रिफिङका क्रममा मिलेले थोरै मात्र नयाँ कुराहरुबारे बताएका थिए। सिरिया–टर्की सीमामा अमेरिकी कमान्डोको गोप्य कारबाहीमा आफैँले लगाएको विस्फोटक पदार्थयुक्त भेस्ट डेटोनेट गराएका उनको शवहरु सुरक्षित स्थानमा लगेर डीएनए परीक्षण गरिएको थियो। त्यसको लागि अमेरिकी सेनाले डाक्टरहरु समेत सँगै लगेको थियो।

त्यस्तै अमेरिकी सेनाकै अर्का एक अधिकारीका अनुसार समुद्री किनारमा उनको शव गाडिएको थियो। कहाँ भन्नेबारे भने बताइएको छैन। सन् २०११ मा अलकायदाका नेता ओसामा बिन लादेनलाई पनि यसैगरी गाडिएको थियो।

उनका अनुसार दुई जनालाई रेडका क्रममा जीवितै समातिएको थियो। उनीहरुलाई अमेरिकी सेनाले हिरासतमा राखेको बुझिएको छ। द गार्जियनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .