समाज


‘हाइप्रोफाइल’ जुवाडेबारे आज सर्वाेच्चमा बहस हुँदै

‘हाइप्रोफाइल’ जुवाडेबारे आज सर्वाेच्चमा बहस हुँदै

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ६:१९,

काठमाडौंकाे महाराजगन्जबाट ठूलो रकमसहित समातिएका ‘हाइप्रोफाइल’ जुवाडे समूहका ६ जनालाई आज (बुधबार) प्रहरीले सर्वाेच्च अदालत उपस्थित गराएको छ।

उनीहरूलाई हिरासतमै राखेर कारबाही अघि बढाउने कि बाहिर बसेर मुद्दा लड्ने सुविधा दिने भन्ने विषयमा आज सर्वाेच्चको इजलासमा बहस हुनेछ।

महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए।

आइतबार जुवाडेहरू बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको हो।

त्यस विषयमा आज सर्वोच्चका न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासमा बहस हुनेछ।

शनिबार राति महाराजगन्जबाट पक्राउ परेकामध्ये उल्लिखित ६ जुवाडेलाई सोमबार उपस्थित गराउन सर्वोच्चले आइतबारै महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त महाराजगन्जका नाममा आदेश जारी गरेको थियो।

वृत्त महाराजगञ्जले उनीहरुलाई २४ घण्टा नबित्दै सोमबार अदालतमा उपस्थित गराएको थियो।

तर तिहार बिदाका कारण त्यस दिन अदालतले ११ बजेदेखि ३ बजेसम्म मात्र कारबाही चलाउने भन्दै फिर्ता गरेको थियो।

महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेकाे छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .