हङकङका रेष्टुरेन्ट-बारलाई ली का सिंहको ६० हजार डलर सहयोग

हङकङका रेष्टुरेन्ट-बारलाई ली का सिंहको ६० हजार डलर सहयोग

मगेन्द्र राई
कात्तिक १३, २०७६ बुधबार ७:३५,

चीन–अमेरिका व्यापार युद्ध तथा हङकङमा चलिरहेको आन्दोलनले धरासयी हुँदै गएको व्यवसाय क्षेत्रलाई राहत पुर्याउन हङकङका धनाढ्य ली का सिङले आफ्नो फाउन्डेसन मार्फत बीस करोड हङकङ डलर उपलब्ध गराउने भएका छन्।

अक्टोबर ४ मा साना तथा मझौला उद्योगहरुलाई सहयोग पुर्याउन १ अर्ब डलर प्रदान गर्ने घोषणा गरेका लीले मंगलबार फेरि बीस करोड सहयोग घोषणा गरेका हुन्। यो सहयोगबाट हङकङको क्याटरिङ क्षेत्रले पहिलो फाइदा लिनेछ।

खाद्य र पेय क्षेत्रका ५० भन्दा कम कामदार रहेका साना व्यवसाय वा रेस्टुरेन्ट र बारहरू मात्र यो सहयोग लिन योग्य ठहरिने छन्। हङकङमा नेपालीले सञ्चालन गरेका यस्ता योग्यता रहेका रेष्टुरेन्ट, बारहरू प्रशस्तै छन्। हङकङ डलर ६० हजारका दरले उनीहरूले सहयोग प्राप्त गर्न सक्नेछन्।

यो अनुदान लिन रेस्टुरेन्टहररूले अनलाइनबाट निवेदन दिनु पर्नेछ। जसमा रेस्टुरेन्टको अगाडितिर नाम लेखिएका बोर्ड सहितको तस्बिर, व्यवसायको दर्ता प्रमाणपत्र र मे १, २०१९ भन्दा अगाडि लिइएको एफ एन्ड बी लाइसेन्स हुनु पर्नेछ।

bagai
निवेदन दिँदा यस्तो किसिमको फोटो पेस गर्नु पर्नेछ

रेस्टुरेन्टहरुले नोभेम्बर महिनाको ७ देखि १७ सम्म निवेदन दिइसक्नु पर्नेछ। योग्य ठहरिएका निवेदकहरुले नोभेम्बर अन्तिमबाट रकम प्राप्त गर्न सक्नेछन्।

उक्त अनुदानबाट हङकङमा ४–५ हजारको हाराहारीमा रहेका रेस्टुरेन्टहरु मध्ये करिब तीन हजार तीन सय ३३ जति रेस्टुरेन्टहरु लाभान्वित हुने अनुमान छ।

हङकङमा चलिरहेको आन्दोलनको कारण केही महिनायता रेस्टुरेन्ट उद्योग धरासयी हुँदै गैरहेका छन्। व्यापारमा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने २०० भन्दा बढी रेस्टुरेन्ट आउटलेटहरू बन्द हुँदा सयौं बेरोजगार भएका छन्।

सरकारले लीको सहयोग घोषणालाई स्वागत गर्दै हङकङको आर्थिक स्थायित्व कायम गर्न सबै प्रयास गरिने बताएको छ।

हङकङको जोर्डनमा लामो समयदेखि कंगन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका कमल पौडेलले लीको उक्त कदम ‘पेन किलर’ का रुपमा अथ्र्याए।

‘रोग पत्ता लागिसकेको अवस्थामा त्यसको पूर्ण निदान हुन पहिला शान्ति र स्थायित्व आवश्यक पर्छ’, हङकङका एक जना स्थापित लेखकका हिसावले आन्दोलनलाई नजिकबाट नियालीरहेका पौडेलले भने, ‘यो विषम परिस्थितिबाट किनारा लगाउन मुख्य भूमिका सरकारको नै हुन्छ। लीले घोषणा गरेको सहयोग राम्रो हो, तर यो नहुनु भन्दा कानो मामा निको भनेजस्तो मात्र हो।’

शान्ति र स्थायित्व भएमात्र हङकङमा पर्यटकहरु आउने बताउँदै उनले थपे, ‘वर्तमान परिस्थितिले मान्छेहरू बाहिर खानपिन गर्न निस्कनै छाडिसके, व्यापार धन्दा चौपट भएको छ।’

लीले उपलब्ध गराउने सहयोगले एक महिनाको घर भाडा तिर्न वा केही स्टाफहरूको तलब दिन पुग्ने भएपनि त्यसले नथेग्ने पौडेलको भनाइ छ।

हङकङमा खासगरि रेष्टुरेन्ट, बार क्षेत्रमा नेपालीको व्यवसाय बढिरहेका बेला आन्दोलनले गर्दा निराशा छाएको छ। हङकङको मुख्य पर्यटकीय क्षेत्र वानचाई, सेन्ट्रल र याउमातेइ क्षेत्रमा नेपाली सञ्चालन गरेका दर्जनौं रेष्टुरेन्ट, बारहरू छन्।

लीले घोषणा गरेको सहयोग नेपाली रेष्टुरेन्ट, बारहरूसम्म पनि आउने छ तर पौडेलले भने झैं त्यो निकै सानो प्रयास मात्रै हो। हङकङ सरकारले केही प्रभावशाली कदम नचाल्ने हो भने यहाँका नेपाली लगायतका रेष्टुरेन्ट, बार क्षेत्रको व्यवसाय थप धरासयी हुँदै जाने देखिन्छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .