ad ad

समाज


बुधबारसम्म वर्षैवर्षा, २४ घण्टे चेतावनी जारी

बुधबारसम्म वर्षैवर्षा, २४ घण्टे चेतावनी जारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ६:४९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको छ। 

बुलेटिनअनुसार भोलि बुधबारसम्म देशभर वर्षा जारी रहने अनुमान छ, साथै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘भोलि (बुधबार) सम्म देशभर वर्षा जारी रहने सम्भावना छ। भोलि रातिदेखि केही कम हुँदै जाने अनुमान छ।’

मौसमविद् मानन्धरका अनुसार अहिले काठमाडौं उपत्यकामा पनि मध्यम वर्षा जारी छ। ‘आज यहाँ पनि भारी वर्षाको सम्भावना छ’, उनले भनिन्। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, २,  लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थान र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तो छ, बिहीबारसम्मकाे मौसम अनुमान– (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०/११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म तथा राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि सम्झिनुपर्छ।)

मंगलबार (आज)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका धेरै साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।  प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थाेरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्य बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थान साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थाेरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ र २ का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

बिहीबार 
दिउँसो : प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति : प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .