ad ad

समाज


४६ करोडको लागतमा निर्माण भएको नवलपुरको सब–स्टेसनको काम अन्तिम चरणमा

४६ करोडको लागतमा निर्माण भएको नवलपुरको सब–स्टेसनको काम अन्तिम चरणमा

नेपालखबर
असोज ३१, २०७८ आइतबार ९:६, काठमाडौँ

सर्लाहीको नवलपुरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न निर्माण गरिएको सब–स्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेकोे छ। लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण गरिएको हो। 

जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब ४६ करोड ३६ लाखको लागतमा सबस्टेशन बनाएको हो।  आर्थिक वर्ष २०७५÷७६ देखि यसको निर्माण सुरु भएकोे थियो।  

सबस्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न नसकिए पनि चालु  आवभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए। ‘अबको एक महिनामा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने। 
    

सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने साहको भनाई छ। जिल्लामा रहेका तीन सबस्टेसन ३३/११ केभिएका मात्र रहेका कारण सर्लाहीमा पटकपटक विद्युत अवरुद्ध हुँदै आएको छ। अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास प्राधिकरणको छ।

अहिले जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउने गरेका छन्। अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ।

बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए। सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङ्गल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको छ। 

सवस्टेशन निर्माण सम्पन्न भएपछि ढल्केवर ग्रिड शाखाबाट सेवा सञ्चालन हुने छ। साथै हरिपुर र मलङ्गवा सबस्टेसनलाई नलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्ने तयारी छ।

आव २०७८/७९ भित्र निर्माण सम्पन्न गर्ने गरी पावाटेक वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो। जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याउनका लागि सबस्टेसन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एच.पी लामाले बताए। सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ।

नवलपुरमा रहेको सबस्टेसनमा १३२/३३ को ६३ एमभिए र ३३/११ को १६ एमभिएका गरी दुईवटा ट्रान्सफर्मरबाट जिल्लाको विद्युत् आपूर्ति परिपूर्ति हुने निर्माण कम्पनीले जनाएको छ। अहिले जिल्लामा ३३/११ केभिएका क्षमता रहेका सबस्टेसन छन्। अहिले जिल्लाको विद्युत् भार थेग्न नसकिरहेको सबस्टेसनका प्रमुख साहले बताए।

जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेसन निर्माणको काम भइरहेकोे विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .