ad ad

समाज


बुटवल : पहिरोले ‘पुर्‍याे’ यसपालिको दसैं

बुटवल : पहिरोले ‘पुर्‍याे’ यसपालिको दसैं

सुदीप भण्डारी
असोज २७, २०७८ बुधबार १०:७, काठमाडौँ

धेरै नेपाली यतिबेला दसैंको रमझममा छन्। तर रुपेन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी थानबहादुर पुनलाई भने त्यसले छुन सकेको छैन। यसपालिको उनको दसैं पहिरोले ‘पुरेकोे’ हो। 

साढे एक तलाको उनको घरभित्र माटो थुप्रिएको छ। प्हिरोल पुरिएका थोरै सामान केही दिनअघि उनले भित्ता फोरेर निकालेका छन्। अरू धेरै सामान काम नलाग्ने भएका छन्। 

‘पहिरो र ढुंगाले घर क्षतविक्षत बनाएको छ। यी हेर्नुस् न सबै कोठामा हिलैहिलो छ’, कोठा देखाउँदै पुनले भने, ‘अहिले अरूको घरमा बसेका छौं। बेलाबेलामा आएर यसरी घर हेरिरहन्छौं। साहै्र पीडित भइयो।’

थानबहादुरको ८ सदस्यीय परिवार ८ वटा कोठा भएको आफ्नै घरमा आनन्दसँग बसेको थियो। तर घर पहिरोले पुरेपछि पुनको परिवार दसैंका बेला अर्काको घरमा दुईवटा कोठामा कोचिएर बस्न बाध्य भएको हो। 

‘अहिले त हामीलाई दसैं र तिहार पनि आएजस्तो लागेको छैन। हालत यस्तो छ’, उनले दुखेसो गरे, ‘घर छ भन्ने कि छैन भन्ने खै!’ ​

ज्योतिनगरकै चिरञ्जीवी न्यौपाने ४० वर्षदेखि यो ठाउँमा बसेका हुन्। जहाँ उनको परिवारले धेरैवटा दसैं रमाइलोसँग मनाएको छ। तर यो वर्षको दसैं भने त्यस्तो हुन सकेन। 
‘हामीलाई दसैं आएको हो कि गएको हो, थाहै नभएजस्तो भएको छ’, न्यौपानेले दुःखी हुँदै भने, ‘एकदम पीडा भयो यो वर्ष।’

घटस्थापनादेखि नै गाउँका घरहरूमा लिपपोत र रंगरोगन चलिरहेको छ। बस्ती सुन्दर देखिएको छ। 

यता न्यौपाने भने घरभित्र थुप्रिएको माटो बाहिर निकाल्न व्यस्त छन्। 

‘पाँच/सात दिन भयो यसरी माटो पन्छाउन थालेको। सकिँदै नसिकिँदो रहिछ’, उनले भने ‘अहिले देवीनगरमा कोठा भाडामा बसेका छौं। यति पन्छाएर सक्न पाए जसोतसो आफ्नै घरमा बस्न  हुन्थ्यो।’

अर्का स्थानीय संगीता थापाको घरको तल्लो तलाका ६ वटा कोठामा माटोले भरिएका थिए भने माथिल्लो तलाका केही कोठा भने बचेका थिए। तर  फेरि पहिरो आउने डरले थापा परिवार झन्डै डेढ महिना सात/आठ किलोमिटर टाढा डाइभरटोलमा भाडाको कोठामा बस्यो। 

अहिले भने उक्त परिवार आफ्नै घरमा फर्केको छ। 

‘आफ्नै घरमा बस्न पर्यो भनेर आएको, वर्षा सुरु हुन लाग्यो भने फेरि दगुर्नपर्ने होला। दसैं रमाइलो लागेको छैन’, थापाले भनिन् ‘तल्लो तलाका सबै ६ वटा कोठा पहिरोसँगै आएको माटोले पुरेको थियो। ४० हजार खर्च गरेर सफा गरेका हौं।’ 

बुटवलको ज्योतिनगर बस्ती चुरेको काखमै छ। गत भदौ १३ गते वर्षाका कारण चुरेमाथिबाट पहिरो खस्यो। दुई दर्जन घरमा क्षति पुग्यो। तीमध्ये १० वटा घर त पुरिए। घरमा क्षति पुगेका र जोखिममा परेका सहित ५० परिवार बाहिर आश्रय लिएका थिए। अहिले भने पहिरोको जोखिममा परेका, थोरै क्षति भएकाहरू घरै फर्किएका छन्। बढी नै क्षति भएका घरका परिवार भने अझै बाहिर भाडाको कोठामा बसिरहेका छन्। 

यही असोज ४ गते पहिरोको निरिक्षण गर्न जाँदा बुटवलका मेयर शिवराज सुवेदीलाई पहिरोपीडित आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए, मुक्काले हानेका थिए। स्थानीयको आक्रोशपछि बुटवल उपमहागरपालिकाले पहिरोपीडितहरूको डेरा भाडा तिरिदिने निर्णय गरेको थियो। 

तर डेराभाडा अझै हात नपरेको पीडितले गुनासो गरेका छन्। पहिरोले घर पूरै पुरेर विस्थापित रोशन रानाले सुरुमा ५ हजार रुपैयाँ र खाद्य सामग्री पाइएको त्यसबाहेक थप केही नपाएको बताए। 

‘नगरपालिकाले डेरा भाडा तिरिदिने, अरू राहतका कुरा सुनेको हो’, उनले सुनाए, ‘अझैसम्म पाएको छैन।’

डेढ महिना भाडामा बसेका राना अहिले दसैं मनाउन आफ्नो पुर्ख्याैली घर बागलुङ गएका छन्। मनमा दसैंको उमंग नभएको उनले सुनाए। 

‘दसैंमा गाउँ त आइयो। तर मनमा खुसी छैन’, उनले भने, ‘फर्केर बस्न पाइने हो की होइन टुंगो छैन।’

 

पुरिएको रोशनको घरबाट पहिरो पन्छाइएको छ। अब केही मर्मतका काम गर्नुपर्ने हुन्छ। तर बस्न मिल्छ कि मिल्दैन टुंगो छैन। तर पनि सरसफाइमा उनले ठूलै खर्च गरेका छन्। 
पहिरोबाट ठूलो क्षति भोगेकाहरूले यो दसैं आफ्नो घरमा मनाउन पाएनन्। सामान्य क्षति भोगेका र जोखिममा परेकाहरूलाई अर्को दसैं घरमै मनाउन पाइन्छ कि पाइँदन भन्ने चिन्ता छ। 

बस्तीमाथिको चुरेको हरियाली ठाउँ पहिरोले उजाड देखिएको छ। विज्ञहरूले पनि त्यहाँको बस्ती सधैंका लागि जोखिममा परेको र अन्य वर्षामा पहिरो रोकिने सम्भावना निकै कम भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .