ad ad

समाज


‘अदृश्य जीवको टोकाइ’बाट सिंगो गाउँनै त्रसित, देउता रिझाउन क्षमापूजा!

‘अदृश्य जीवको टोकाइ’बाट सिंगो गाउँनै त्रसित, देउता रिझाउन क्षमापूजा!

शैलेन्द्र महतो
असोज २४, २०७८ आइतबार ८:३५, काठमाडौँ

अदृश्य जीवले टोक्ने गरेको हल्लाले सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरका स्थानीय बासिन्दा त्रसित बनेका छन्। 

दिनभर खेतबारीको काममा खटिने किसान यस्तो हल्ला सुरु भएपछि अचेल त्रासले घरमै बस्न थालेका छन्। रातमा कोही चैनका साथ सुत्न सकेका छैनन्। देउता रिसाएकाले अदृश्य जीवले टोकेको भन्दै गाउँमा क्षमापूजा र यज्ञ जारी छ। यो क्रम तीनसातादेखि गाउँमा अनवरत रुपमा चलिरहेको छ। 

असोज १ गते विश्वकर्मा पूजाको राति संग्रामपुरकै १० वर्षीय बालक समिम अन्सारीलाई राति ३ बजे ‘अदृश्य जीवले टोकेको’ चर्चा चल्यो। सर्पले टोकेको भन्दै अभिभावकले पहिला धामीझाक्री कहाँ लगे। पछि बालकलाई मलंगवा अस्पताल लगियो। 

मलंगवास्थित जिल्ला अस्पतालले नवलपुर सर्पदंश उपचार केन्द्रमा रेफर गर्यो। नवलपुरमा उपचार सम्भव नभएपछि नारायणी अस्पताल वीरगञ्ज लाने क्रममा बालकको बालकको बाटैमा मृत्यु भयो। 

सोही घटनापछि गाउँमा देउता रिसाएको र अदृश्य जीवले टोक्ने गरेको भ्रम फैलिएपछि गाउँले त्रसित बनेका हुन्। बालकको मृत्यु भएको दिनदेखि अदृश्य जीवको टोकाइबाट गाउँमा हजार बढी व्यक्ति सिकिस्त भईसकेका दाबी गाउँपालिका अध्यक्ष किसुनदेव रायले गरे। ‘त्यसरी अदृश्य जीवले टोकेका गाउँले स्थानीय धामीको झारफुकबाट निको भएका छन्,’ अध्यक्ष रायले भने।  

‘दुईदिन यता टोक्ने क्रम कम भएको छ। पुर्ण रुपमा अझै रोकिएको भने छैन,’ अध्यक्ष राय नै भन्छन्, ‘के ले टोकेको हो कसैले देखेका छैनन्। तर, टोक्न चाहीँ टोकेको छ।’ गाउँका अगुवा भनिएकाहरु नै अदृश्य जीवको टोकाइको भ्रममा परेपछि सर्वसाधारण झन् त्रसित बन्न थालेका छन्।

 ‘स्थानीय मन्दिरका एकजना पुजारीलाई टोक्दा उहाँले गोमन सर्प देख्नुभएछ। यहाँ बेहुला सति माताको दरबार छ। त्यसैले अदृष्य रुपमा सर्पले नै टोकेको हल्ला अहिले गाउँमा व्यापक छ,’ अध्यक्ष रायले भने।

अध्यक्ष रायका अनुसार बालकको मृत्यु भएयता गाउँमा दिनमा ५०/६० जनालाई अदृश्य जीवले टोक्ने गरेको छ। त्यसरी टोकिएका बिरामी प्रायः धामीझाक्रीकैमा धाइरहेका छन्। अधिकांश झारफुकबाटै ठिक भएका अध्यक्ष रायले बताए। 

अदृश्य जीवको टोकाइबाट गम्भीर भएका ५÷६ जनालाई जिल्ला अस्पताल मलंगवा पठाइएको छ। उनीहरु सबै निको भएर घर फर्केको उनले जानकारी दिए। त्यसरी अदृष्य जीवले टोकेकामा अधिकांश महिला तथा बालबालिका छन् । बिहानदेखि राति ११ बजेसम्म अदृश्य जीवले टोक्ने गरेको हल्ला गाउँमा व्यापक छ।

अदृश्य जीवले टोकेका भनिएका बिरामीलाई झारफुक गर्न स्थानीय धामीझाक्रीलाई अहिले पनि भ्याइनभ्याइ छ। दिनको २०/२५ जना त्यस्ता बिरामी आफूकहाँ आउने गरेको स्थानीय झाक्री राम सुष्टि यादवले बताए। उनका अनुसार केहिदिनअघिसम्म दोब्बरबढी संख्यामा त्यस्ता बिरामी आउने गरेका थिए।  

देउता रिसाएकाले यस्तो घटना भएको भन्दै वडा नम्बर १, २ र ४ का स्थानीय भयले रातदिन भग्वान पुर्कार्दै भजन किर्तनमा तल्लिन देखिन्छन्। संग्रामपुर टोलस्थित बेहुला सतिको मन्दिर प्रांगणमा पण्डालभित्र राम नामको जप गरिने नवाह र लखराम (महादेव) को पूजा आयोजना गरिएको छ। 

वडा नम्बर २ का अध्यक्ष नागेन्द्र राय यादवका अनुसार अदृश्य जीवको भयले केही गाउँलेले आफ्ना बालबच्चा टाढाटाढाका आफन्तकहाँ लगेर राखेका छन्।

देउता रिसाउँदा अदृश्य सर्पले टोकिरहेकाले गाउँभर माछा–मासु निषेध गरिएको स्थानीय राकेश रामले बताए। उनका अनुसार धेरैजसोले घर घरमा साँझ बिहान नागको पूजा अर्चना गरिरहेका छन्। 

गाउँमा यस्तो हल्ला सुरु भएपछि पालिकाभरका वडाध्यक्ष, बौद्धिक जमात र आमस्थानीयको बैठक बोलाएर छलफलसमेत गरिएको गाउँपालिका अध्यक्ष रायले बताए। छलफलमा २५ वर्ष अघि पनि यस्तै घटना गाउँमा हुँदा पूजाआजा गरेपछि घटना हुन छाडेको भन्दै केहीले पूजाआजा गर्न सुझाब दिएका थिए। सोही आधारमा अहिले गाउँमा पूजाआजा चलिरहेको छ। 

गाउँमा अदृश्य जीवले टोकेको अफवाह फैलिएपछि स्थानीय त्रसित भएको सर्लाही अस्पतालका प्रमुख डा.नवल किशोर झा बताउँछन्। ‘हामी दशदिन अघि त्यो गाउँमा पुगेका थियौं। त्यस्तो केही तथ्य फेला परेन। तर गाउँलेमा अदृश्य जीवको टोकाइको भ्रम व्यापक रुपमा फिजिएको छ । अफवाहले उनीहरु त्रसित छन्। अरु केहि होइन,’ उनले भने।  

अशिक्षा, अन्धविश्वास तथा नागरिकमा न्युन चेतनास्तरको कारण  गाउँमा भ्रम फैलिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो बताउँछन्।

 ‘अदृश्य रुपमा सर्पले नै टोक्छ भन्छन् गाउँले। फेरि टोक्ने त्यो सर्पलाई कसैले देख्दैनन्। यो भ्रम बाहेक केही होइन। यो न्युन चेतनास्तर, अन्धविश्वासको उपज हो,’ प्रजिअ महतोले नेपालखबरसँग भने,  ‘सर्पले टोक्यो अथवा कुनै स्वास्थ्य समस्या भयो भने गाउँमै अस्पताल छ। त्यहाँ उपचार गराउन जाने भन्दा पनि उनीहरु झारफुकमा लागेका छन्। मैले मातहतको निकायमा धेरै भ्रम फैलाउनेहरुलाई कारबाही गर्नसमेत निर्देशन दिएको छु।’

उनले यस्तो हल्लाको पछाडि नपर्न र कुनै स्वास्थ्य समस्या भए अस्पताल जान आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .