काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड-१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ। नगरपालिकाले शुक्रबार प्रतिमृतक परिवार ५० हजारका दरले सहयोग प्रदान गरेको हो।
नगर क्षेत्रका १८ जना मृतकका परिवारले यो रकम प्राप्त गरेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले जानकारी दिए। उनले कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाका परिवारलाई सहयोग रकम प्रदान गरिएको जानकारी दिए।
मण्डनदेउपुरमा कोरोनाको पहिलो लहरमा चार र दोस्रो लहरमा २२ गरी २६ जनाको मृत्यु भएको थियो। जसमध्ये शुक्रबार १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरिएको हो।
बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजातको आधारमा छिट्टै रकम वितरण गरिने मेयर टोकबहादुर वाइबाले जानकारी दिए।
‘कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेका हौँ,’ मेयर वाइबाले भने, ‘आफन्त गुमाउँदाको पीढामा रहेका परिवारलाई सान्त्वनास्वरुप सहयोग गरेका हौँ। हामी सधैँ नगरबासीको साथमा छौँ।’
नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम प्रदान गरिएको वाइबाले बताए।
त्यसैगरी कोरोना संक्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि २५ हजारका दरले रकम सहयोग गर्ने तयारी नगरपालिकाले गरेको छ। रासस
Shares

प्रतिक्रिया