समाज


पाँचथर अस्पताल तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द

पाँचथर अस्पताल तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द

नेपालखबर
असोज २१, २०७८ बिहिबार १४:४४, काठमाडौँ

उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति  जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ। स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ।

अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन्। 

 जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ। अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैँचा पनि क्षतविक्षत छ।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो। यसपछि आफन्त र अन्य स्थानीयवासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए।

बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो। 

आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाइलागेको थियो। रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो।

अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन। अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। आकस्मिककक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन।

अस्पतालमाथि आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो। संवादमा बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ। यस्तै अस्पताल प्रशासनले बालिकाको काजकीरिया खर्चका लागि रु ४० हजार रकम उपलब्ध गराउने भएको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad