तीन महिनाअघि वीरगन्जबाट हराएकी पर्साकी ११ वर्षीया एक बालिका भारतको नयाँदिल्लीमा फेला परेकी छन्।
वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवा घर भएकी बालिकालाई दिल्लीबाट उद्धार गरेर नेपाल ल्याएको छ। उनी गएको जुलाई १३ तारिखमा आफैँ दिल्ली पुगेको पाइएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ।
महावाणिज्य दूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनाको विषयमा जानकारी दिइएको हो। उनी तीन महिनाअघि वीरगन्जको सीमावर्ती सहर रक्सौलबाट रेल चढेर दिल्ली गएको खुलेको छ।
वीरगञ्जस्ति नेपाल तथा भारतीय महावाणिज्य दूतावास र आफन्त नेपालको सक्रियतामा बालिकाको उद्धार भएको हो।
बालिकाको उद्वारमा संलग्न आफन्त नेपालका भारत प्रमुख नवीन जोशीका अनुसार भारतीय प्रहरीले जुलाई १३ तारिखमा बालिकालाई दिल्लीको रेल्वे स्टेशनमा बेवारिसे अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीले भारतीय चाइल्ड लाइन संस्थाको जिम्मा लगाएको थियो।
चाइल्ड लाइनले बालिकालाई दिल्लीकै अनाथ तथा बेवारिसे बालबालिकाको आश्रयस्थल चाइल्ड वेलफेयर कमिटीको कार्यालयको जिम्मा लगाएपछि उनको उद्धार सम्भव भएको हो
मेडिकल जाँचपछि बालिकाको मानसिक र शारीरिक अवस्था पूर्ण रुपले ठीक पाइएको उद्धारमा संलग्न अधिकारीहरुले जनाएका छन्।
Shares

प्रतिक्रिया