रुपन्देहीको सीमानाकाबाट हुने मानव बेचबिखनका घटना नियन्त्रणमा आउन सकेको छैन। रुपन्देहीका विभिन्न नाकाहुँदै मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याएर बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ।
माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको हो। चालु आर्थिक वर्ष २०७८/०७९ का दुई महिना साउन र भदौमा मात्र रुपन्देहीको बेलहिया नाकाबाट ५६ महिला तथा बालबालिकालाई मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ।
गत तीन आवको तथ्याङ्क हेर्दा रुपन्देहीका नाका हुँदै हुने गरेका मानव बेचबिखनका घटना नरोकिएको देखिएको छ।
आव २०७५/०७६ मा २५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको थियो। पचास जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ।
त्यसैगरी आव २०७७/०७८ मा १५१ जनालाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । आठ जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल शाखा प्रमुख माया क्षेत्रीले जानकारी दिइन्।
नेपालबाट यसरी तस्करी गरी महिलालाई भारतीय कोठी र खाडी मुलुकमा पठाउने काम मानव तस्करले गर्ने गरेका छन् भने बालबालिकालाई विभिन्न सर्कसमा प्रयोग गर्ने गरेको पाइन्छ।
विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेको प्रहरीले जनाएको छ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालले देशका विभिन्न सीमानाकामा आफ्नो कार्यालय राखी मानव बेचबिखनलाई न्यूनीकरण गर्ने काम गरे पनि यो बेचिनेक्रम भने नरोकिएको देखिएको छ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतीय क्षेत्रमा पुर्याउने गरेका माइती नेपालले जनाएको छ। रासस
Shares

प्रतिक्रिया