ad ad

समाज


संखुवासभा घटनामा नयाँ खुलासा, मुख्य योजनाकार अर्कै, थप चार जना सार्वजनिक

संखुवासभा घटनामा नयाँ खुलासा, मुख्य योजनाकार अर्कै, थप चार जना सार्वजनिक

उजिर कार्की
असोज ४, २०७८ सोमबार ११:५७, काठमाडौँ

संखुवासभा घटनामा नयाँ तथ्य पत्ता लागेको छ। 

प्रहरीले यसअघि स्थानीय लोकबहादुर कार्कीले मात्रै ६ जनाको हत्या गरेको बताएपछि थप अनुसन्धान गर्ने क्रममा अन्य चार जनाको संलग्नता देखिएको र मुख्य योजनाकार पनि अर्कै रहेको खुलेको हो।

लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। 

खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो। 

उनीहरुलाई पत्रकार सम्मेलन गरी प्रहरीले सोमबार सार्वजनिक गरेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। 

भदौ २१ गते बिहान संखुवासभाको मादीका एकै परिवारका ६ जनाको हत्या भएको थियो। 

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला कार्की, ३२ वर्षीया रन्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

यसरी बन्यो योजना 
घटना योजनाबद्ध ढंगबाट ५ जनाको समूहले घटाएको र यसको योजना लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात ८ बजे बनाएको खुलेको छ। 

मुख्य योजनाकार खड्ग बहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसी योजना बनाएको खुलेको छ। 

योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज बहादुरको घरमा भएको धनमाल समेत लाने योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी सुवेदीले बताए। 

घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको थियो। 

योजनाअनुसार मृतक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेजबहादुर कार्कीको घरमा गई ‘लोकबहादुर अल्छि छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ पठाएका थिए।

त्यसपछि खड्गबहादुर घरतर्फ फर्केको र तेजबहादुर लोक बहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको पाइएको छ। 

मृतक तेज बहादुर कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गर्न गई सुतिरहेको लोकबहादुरलाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको नयाँ तथ्य खुलेको हो।

घरबाट फर्किने क्रममा योजनाअनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछि–पछि गई घरपछाडिको गोगनेको रूखनजिक मृतक तेज बहादुरको टाउकोमा प्रहार गरी लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज बहादुरमाथि प्रहार गरेको प्रहरीले जनाएको छ। 

हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको डीएसपी सुवेदीले बताए। 

घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार्नु भन्दै गरेको हारगुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार्नु भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रन्जनालाई नरेशले धकेलेर खोल्सामा झारेको नयाँ तथ्य पत्ता लागेको हो। 

मृतक रन्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पु¥याउन सहयोग गरेको पाइएको छ।

खड्गबहादुरले नियमित रक्सी खाने गरेको र घरमा श्रीमतीसहित परिवारलाई कुटपिट गर्ने गरेको पाइएको छ। 

तेजबहादुरले ‘तँ जड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तलाईं के मतलब, तँलाई मार्छु भन्दै जवाफ फर्काउने गरेको पाइएको छ। 

लोकबहादुरलाई तँ पागल अल्छी, केही काम गर्न सक्दैनस् भन्ने, नरेशलाई पनि तँ डुँडे काम नलाग्ने भइस् भन्ने र रणबहादुरलाई समेत तँ लठेब्रो केही गर्न सक्दैनस् भन्ने गरेका थिए। 

जहिले पनि हेपेको र आफू सम्पन्न भएको फूर्ति देखाएको भन्दै इखले हत्या गर्ने योजना बनाएको उनीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .