ad ad

समाज


हत्या आरोपीलाई पक्राउ गर्ने क्रममा झडप, पाँचजना प्रहरी र स्थानीय घाइते

हत्या आरोपीलाई पक्राउ गर्ने क्रममा झडप, पाँचजना प्रहरी र स्थानीय घाइते

नेपालखबर
असोज २, २०७८ शनिबार १२:३९, काठमाडौँ

पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ। राप्ती नगरपालिका-९ शीतलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो।

लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। 

झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए।

शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

पुरानो रिसिबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए। 

हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गर्नुपरेको उनले बताएका छन्। 

घाइते प्रहरी निरीक्षक खड्काको आँखामा गम्भीर चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

शुक्रबार राति नै आरोपी मल्ल र लामा शवलाई भरतपुर ल्याइएको थियो। घाइते हुने अन्यमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक श्याम बस्नेत पनि छन्। 

त्यस्तै, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल विक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना घाइते भएका छन्। विकको दाँत भाँचिएको छ।

स्थानीयबासी सुष्मा पुन र कुशल पुन पनि घाइते छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई पक्राउ गर्ने झडप भएको हो। स्थानीयले पक्राउ परेका मल्लमाथि आक्रमण गर्न खोजेपछि झडप भएको थियो।

त्यसक्रममा भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर पनि गरेको थियो। शव भरतपुर अस्पतालमा राखेर परीक्षण गरिँदैछ। रातभर तनावग्रस्त राप्तीको अवस्था सामान्य भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .