ad ad

समाज


सीता भण्डारी मृत्यु प्रकरण : हप्ता दिन बित्यो, शव उठाउन माइती पक्षले मानेनन्

सीता भण्डारी मृत्यु प्रकरण : हप्ता दिन बित्यो, शव उठाउन माइती पक्षले मानेनन्

सुदीप भण्डारी
भदौ २९, २०७८ मंगलबार १६:५५, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामकी सीता भण्डारी पौडेलको भदौ २० गते आफ्नै घरको कोठामा शव फेला परेको थियो।

शवको पोष्टमार्टम रिपोर्टमा सीताको झुण्डिएर मृत्यु भएको उल्लेख छ। तर मृतकको माइती पक्ष भने आत्महत्या भएको मान्न तयार छैन। माइती पक्षले सीताको हत्या भएको भन्दै छानबिन गरी कारवाही गर्न दबाब दिँदै आएको छ।

उनीहरुले तिलोत्तमाका सडक र प्रहरी कार्यालयमा निरन्तर जसो धर्ना दिँदै आएका छन्। घटना भएको एक हप्ता भन्दा बढी भइसक्दा पनि शव उठेको छैन। 

सुरुमा माइती पक्षले किटानी जाहेरी दिँदा प्रहरीले लिन मानेको थिएन। निरन्तर दबाबपछि मृतक सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि भने प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

मृतकका श्रीमान टीका पौडेल र आमाजु विष्णु पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए।

मृतकका परिवारका अन्य सदस्यलाई पनि इलाका प्रहरी कार्यालय बुटवलमा बोलाएर बुझ्ने कार्य भइरहेको तथा मृतक सीता र उनको श्रीमानको मोबाइलको ‘टेक्निकल एनलाइसिस’को लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएको डीएसपी थापाले जानकारी दिए।

२७ वर्षीया सीताको २ वर्षअघि तिलोत्तमा मणिग्राम ४ नम्बरका टीका पौडेलसँग मागी विवाह भएको हो। ४३ वर्षीय टीका र सीताले पाल्पामा होटल सञ्चालन गरेका थिए। तीजको बेलामा उनीहरु दुवै जना तिलोत्तमा आएका थिए। भदौ ७ गते उनी तीज मान्न माइत गएकी थिइन्।

भदौ १९ गते भतिजाको जन्मदिन छ भन्दै सीतालाई श्रीमान टीकाले बोलाएकोमा सोही दिन दिउँसो घर गएको माइती पक्षले बताएका छन्। 

२० गते विहान ५ बजे ज्वाइँ टीकाले जरुरी काम छ भनेर तुरुन्त आउन भनेका थिए। आफू घर पुग्दा टीका घर नभएको र केही समयपछि मदिरा सेवन गरेर आएको पिता हरिप्रसाद भण्डारीले बताए।

ज्वाइँ आएर तपाईंहरुको छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी आफ्नी दिदी (विष्णु पौडेलतर्फ) औँला ठड्याउँदै कराउन थालेपछि मृतकका बाबु, आमा बेहोस भइ ढलेको आफन्तले बताएका छन्।  

सीताको मुखबाट रगत बगेको, गलामा चुन्नी कसिएको र भूईंमा लडेको अवस्थामा शव देखिएको थियो। शरीरमा निलडामहरु पनि रहेकाले आत्महत्या नभई कुटपिटबाट हत्या नै भएको सीताको माइती पक्षको दाबी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .