समाज


संखुवासभा घटना : परिवारै सखाप हुँदा पनि ९० वर्षीय वृद्धले थाहा पाएनन्

संखुवासभा घटना : परिवारै सखाप हुँदा पनि ९० वर्षीय वृद्धले थाहा पाएनन्

नेपालखबर
भदौ २१, २०७८ सोमबार १४:४५, काठमाडौँ

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको परिवारका ९० वर्षीय वृद्ध मात्रै जिवित छन्।

सोमबार राति परिवारका सबै सदस्यको हत्या भएपनि उनले केही थाहा नपाएको बताएका छन्। 

मादी नगरपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालले ९० वर्षीय बौद्धमान कार्कीले घटना बारे आफूलाई केही थाहा नभएको बताएका जानकारी दिए। 

‘म पनि अहिले घटनास्थल आइपुगेको छु। परिवारमा उहाँ ९० वर्षीय बृद्ध मात्रै जीवित हुनुहुन्छ। तर उहाँले परिवारका सबैको हत्या हुँदा पनि केही थाहा पाउनु भएनछ’, कटुवालले भने। 

बौद्धमान राम्रोसँग कान सुन्दैनन् भने आँखा पनि देख्दैनन्। 

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको छ। रञ्जनाका श्रीमान विदेशमा रहेको वडाअध्यक्ष कटुवालले जानकारी दिए।

वडाध्यक्ष कटुवालका अनुसार बौद्धमान साँझैमा खाना खाएर सुतेका थिए। बिहान छिमेकीले भनेपछि मात्रै उनले घटनाबारे जानकारी पाएको बताएका छन्। 

लासको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको प्रहरीको अनुमान छ। एउटा शव बाटोमा, एउटा शव घरभित्र, दुई वटा शव बारीको कान्लामा र बाँकी दुई वटा शव खोल्सामा भेटिएका छन्।

अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीसहितका टोली पनि घटनास्थलमा पुगेको छ। 

अनुसन्धानका लागि फरेन्सिक विज्ञ र कुकुरसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। 

प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीका अनुसार संघीय प्रहरी इकाई कार्यालयबाट कुकुरसहितको टोली घटनास्थलतर्फ गएको हो। अहिले घटनास्थलमा मादी प्रहरी चौकीको टोली पुगेको छ। 

६ जनाको शव फेला परेको खबर आए पनि कसले र किन गर्यो भन्ने खुलेको छैन। धारिलो हतियार प्रहार गरेर हत्या गरेको जानकारी आएको डीएसपी सुवेदीले बताए।

 संखुवासभा बीभत्स हत्या : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .