समाज


वर्षासँगै बाढीपहिरो : पूर्वपश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध

वर्षासँगै बाढीपहिरो : पूर्वपश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार ७:४६, काठमाडौँ

बाढी र पहिरोको कारण पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएका छन्। गए रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ।

अविरल वर्षापछि आएको बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक  डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजे बाढीले डाइभर्सन बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो। बाढीले डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेको छ। अहिले पनि निरन्तर पानी परिरहेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ।

यस्तै बाढीका कारण गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ भएको छ। अन्य डाइभर्सनबाट समेत बाढी  ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको चालकहरुले बताएका छन्।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो गएको छ। दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था छैन।

लगातारको वर्षापछि पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक पनि अवरुद्ध भएको छ। बिहीबार साँझदेखि नै अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार नारायणगढदेखि २० किलोमिटर माथि भरतपुर महानगरपालिका–२९ भोर्ले सेती दोभानमा बिहीबार साँझ साढे ८ बजेतिर पहिरो खसेर बाटो अवरुद्ध भएको हो।

पहिरो सडकको बीचमा थुप्रिएकाले सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहानैदेखि पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।

डिभिजन सडक कार्यालयका सूचना अपिकारी इन्जिनियर शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ। ‘थप पहिरो नखसे बिहान १० बजेसम्म पहिरो पन्छाएर सकिन्छ,’ खनालले भने। 

सेती दोभानमा पहिरो जाँदा गएको असारमा पनि एक सातासम्म यात्रुले सास्ती पाएका थिए। फेरि सोही ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा रातिदेखि नै यात्रुहरुको बिचल्ली भएको छ। 

हेलम्बु राजमार्ग पनि अवरुद्ध

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजे मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
 
मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार जति पन्छाउँदा पनि पहिरो खस्न छाडेको छैन। राईले यात्रुलाई वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरे।

सडक अवरुद्ध हुँदा मेलम्चीबाट काठमाडौँ र काठमाडौँबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन्। यसअघि पनि यस ठाउँमा धेरैपटक पहिरो खसिसकेको छ। राससको सहयोगमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad