ad ad

समाज


५ जनाको परीक्षण गर्दा १ जनामा कोरोना, १ व्यक्तिले १ जनालाई सार्दै

५ जनाको परीक्षण गर्दा १ जनामा कोरोना, १ व्यक्तिले १ जनालाई सार्दै

यज्ञराज जोशी
भदौ २, २०७८ बुधबार १९:२२, काठमाडौँ

नेपालमा ५ जनाको कोरोना परीक्षण गर्दा १ जनाभन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ। त्यस्तै एक जनाले अर्को एक जनालाई कोरोना सारिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६१३  र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार २४ घण्टामा गरिएको कुल पीसीआर परीक्षणमध्ये २२.१ प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ। 

‘५ जनाको परीक्षण गर्दा १ जनाभन्दा थोरै बढीमा संक्रमण पत्ता लगेको छ। अर्थात् १०० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण देखिन्छ,’ पौडेलले भने, ‘२० प्रतिशतमा संक्रमण पुष्टि हुनु भनेको उच्च पोजिटिभिटी रेट हो। यसले जोखिम कायम रहेको देखाउँछ।’

पौडेलले निषेधाज्ञा खुला भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरिएन भने संक्रमण झनै बढ्ने बताए। उनका अनुसार परीक्षण गरिएकाहरुमध्ये कर्णाली प्रदेशमा सर्वाधिक संक्रमणदर देखिएको छ। त्यसपछि गण्डकी र प्रदेश १ मा संक्रमणदर उच्च छ। कर्णालीमा परीक्षण गरिएकामध्ये ४१.९ प्रतिशत, गण्डकीमा ३४.६ र प्रदेश १ मा २८ प्रतिशतमा संक्रमण देखिएको छ। 

‘संक्रमण समुदायमै छ। सामान्य लक्षण भएका धेरै मानिसहरु घरमै हुनुहुन्छ। परीक्षणको दायरामा आउनुभएको छैन। जसले अझै पक्का संक्रमित पत्ता लगाउन सकिएको छैन,’ पौडेलले भने, ‘आवश्यक मापदण्ड पालना गर्नमा कमजोरी भएको छ। जसले संक्रमण फैलन मद्दत पु¥याएको छ।’

पौडेलले सामान्य लक्षण देखिँदा परीक्षण गर्न सबैलाई आह्वान गरे। बेलैमा संक्रमण पत्ता लागे संक्रमित व्यक्ति आइसोलेसनमा बस्ने र त्यसले गर्दा परिवार, कार्यक्षेत्रका सहकर्मी र सामाजमा संक्रमण फैलनबाट जोगाउन सकिने पौडेलको भनाइ छ। 

‘ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लक्षण हुँदा परीक्षण गराउन सबैलाई अनुरोध गर्छौँ,’ उनले भने, ‘लक्षण देखिएका व्यक्तिलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क र पालिकाहरुले निशुल्क एन्टिजेन परीक्षण गरिरहेका छन्।’

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो आठ हप्तायता प्रतिदिन २ हजार देखि ४ हजारको बीचमा संक्रमित छन्। निको हुने संख्या २ हजारको हराहारीमा छ। 

सार्क राष्ट्रको तथ्यांक हेर्दा नेपालमा एउटा व्यक्तिले अर्को एक व्यक्तिलाई कोरोना सारिरहेको तथ्यांक मन्त्रालयले उल्लेख गरेको छ। श्रीलंकामा सबैभन्दा बढी औसतमा १ व्यक्तिले १.२ जना, पाकिस्तानमा एक व्यक्तिले परीक्षणको तुलनामा १.०२ जना र भारतमा एक जनाले ०.९५ जनालाई कोरोना सारेको डा. पौडेलले बताए। 

तथ्यांकअनुसार श्रीलंकाको मृत्युदर उच्च छ। श्रीलंकामा प्रति १० लाखमा ७ जना, नेपालमा १ जना र पाकिस्तानमा ०.३२ को मृत्यु भइरहेको छ। श्रीलंकामा संक्रमितमध्ये ६.३५, पाकिस्तानमा १.४९ प्रतिशत र नेपालमा १.१८ प्रतिशतको मृत्यु भएको छ। 

नेपालमा हालसम्म ३७ लाख ५१ हजार जनाको पीसीआर र ४ लाख ११ हजारको एन्टिजेनबाट गरी ४२ लाख ३ हजार जनाको परीक्षण भएको छ। त्यसमध्ये पीसीआर विधिबाट ७ लाख ३९ हजार र एन्टिजेन विधिबाट ७७ हजार गरी जम्मा ८ लाख १७ हजार ५३० संक्रमित पुष्टि भएको छ। 

नेपालमा ६ लाख ८९ हजार १७३ जना संक्रमणमुक्त भएका छन्। जुन संक्रमितमध्ये करिब ९२ प्रतिशत हो। हालसम्म नेपालमा कोरोनाबाट १० हजार ३३६ जनाको मृत्यु भएको छ। 

हाल ७७ जिल्लामध्ये २१ जिल्लामा ५ सयबढी सक्रिय संक्रमित छन्। नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ छ। जसमध्ये होम आइसोलेसनमा ३६ हजार ८ सय छन् भने संस्थागत रुपमा ३ हजार ५३२ जना उपचार गराइरहेका छन्। ७७० जना आईसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .