समाज


अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन आग्रह, परराष्ट्रले बनायो समिति

अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन आग्रह, परराष्ट्रले बनायो समिति

नेपालखबर
साउन ३१, २०७८ आइतबार १५:५४, काठमाडौँ

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्दै गर्दा काबुलसहितका सहरमा रहेका नेपालीलाई सम्पर्क आउन भनिएको छ।

श्रम मन्त्रालयमा आइतवार बसेको बैठकले अफगानिस्तानका विभिन्न सहरमा रहेका नेपालीलाई उद्धारका लागि तत्काल सम्पर्कमा आउन भनिएको हो। 

वैदेशिक रोजगार व्यवसायी संघ र मन्त्रालयका अधिकारीहरुबीचको बैठकले अफगानिस्तानमा अलपत्र नेपालीलाई उद्धारका लागि भारतस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।

त्यसका लागि अफगानिस्तानका नेपाली र तिनका परिवारलाई लक्षित गर्दै सूचना निकाल्ने निर्णय भएको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठले बताएका छन्। 

परराष्ट्रको समिति 

उता परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटबीच अलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जनाएको छ। 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतवार बोल्दै परराष्ट्र सचिव भरतराज पौडेलले एक समिति गठन गरिएको बताएका हुन्। 

उनका अनुसार त्यहाँ रहेका नेपाली कामदारबारे बुझ्न, आवश्यकता अनुसार उद्धारका लागि समिति गठन गरिएको हो।

उक्त समितिमा सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि सदस्य रहने बताइएको छ। 

अहिले काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नआएका नेपालीलाई सम्पर्क गर्न सूचना निकाल्न लागिएको छ। 

काबुलमा फसेका नेपालीहरुले  आफ्नो अवस्थाबारे अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताएका छन्। अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ। 

यसैबीच आइतबार तालिबानका लडाकु राजधानी काबुल पुगेका छन्। तालिबानले तोर्खाम सीमा पार गरेर काबुल छिरेको हो।

अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले तालिबान लडाकुले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेको बताएका छन्। 

तालिबान लडाकुहरु काबुलको बाहिरी इलाकामा पुगेपछि आतंकित कर्मचारी सरकारी कार्यालयबाट भागिसकेका छन् ।

यसैबीच तालिबान लडाकुले सत्ता पल्टाउन लागेपछि अफगानिस्तानी राष्ट्रपति अशरफ घानी अहिले आपतकालीन बैठकमा जुटेका छन्। 

उनले अहिले अमेरिकी विशेष दूत जलमे खलीलजाद र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का उच्च अधिकारीहरूसँग वार्ता गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad