ad ad

समाज


डेढ दशकपछि युवराज लामाको 'कमब्याक'

डेढ दशकपछि युवराज लामाको 'कमब्याक'

समर्पण श्री
साउन ३०, २०७८ शनिबार १९:१२, काठमाडौँ

देश दौडाहा हुँदा, युवराज लामा पर्यटन व्यवसायीको परिचय लिएर जान्थे। राजनीतिज्ञ बनेर जान्थे।

तर चिन्नेहरूले यसरी चिनिदिन्थिे– ऊ हेर त देउताको ‘निमा’!

भलै उनको जिम्मेवारी फरक थियो, तर उनको पहिलो परिचय केवल फिल्मले नै दिलाएको छ। 

‘दाइ देउता फेरि कहिले हेर्न सकिन्छ?’

‘दाइ फिल्ममा कहिले फर्किनुहुन्छ?’

‘दाइ देउताजस्तो फिल्म ल्याउनु पर्‍यो। तपाईं पनि कमब्याक हुनुपर्यो, राजेश हमाललाई पनि गराउनु प¥यो।’

आम दर्शक र साथीहरूको यो आग्रह र अपेक्षाले हैरान बनाउँथ्यो युवराजलाई। तर, जीवनको म्याराथनमा ‘रस’ले दौडिरहेका उनीसँग फिल्म बनाउने समय थिएन। उनी टारिदिन्थे– ‘समय आओस् बनाउनेछु।’

शनिबार बिहानबाट युवराजलाई बधाई र शुभकामनाको ओइरो लागेको छ। शुभेच्छुक र साथीले फोन, म्यासेज र कमेन्टबाट खुसी व्यक्त गरेका छन्। यसरी पाएको सद्भाव देख्दा युवराज मनमनै पुलकित भइरहेका छन्। भन्छन्, ‘अब बुढो बाघ उठ्यो।’

युवराजले शुक्रबार साँझ साथीभाइ र शुभचिन्तकलाई एउटा सरप्राइज दिएका थिए।

साथीभाइको आग्रह र अपेक्षाको जवाफ स्वरुप उनले ट्वीट गरेका थिए, ‘कथा भेटियो, आजबाट वान लाइनर लेख्न सुरु भयो! सकिनेबित्तिकै पटकथा अनि संवाद लेख्न सुरु गर्ने विचारमा पुगियो! विभिन्न जिम्मेवारी र अभियानका कारण विश्राम लिएको चलचित्र निर्माण निर्देशनमा दोस्रो इनिङस् पुनः प्रवेश गर्ने प्रयास हुँदै।’

सहजै अनुमान लगाउन सकिन्थ्यो, उनी फिल्म लेख्दै छन्। र, निर्माणको योजना पनि छ।

धर्मात्मा पछिको यात्रा

१७ वटा फिल्मको निर्माण तथा निर्देशन गरेका युवराज अभिनयमा पनि उत्तिकै रुचाइन्थे दर्शकमाझ।

वर्षमा २/३ वटा मात्र फिल्म बनिरहेको समयमा उनले पनि रिस्क लिएका थिए, सिनेमा बनाउने।

यसरी रिस्कमा बनाएका सिनेमाहरूले चलचित्र क्षेत्रलाई स्थापित गराउन मद्दत गरे। साथै, युवराजलाई आफ्ना चलचित्रले उचाइ पनि दिए।

तर चलचित्र ‘धर्मात्मा’पछि युवराज सिनेमा क्षेत्रबाट टाढिएको महसुस दर्शकहरुलाई हुँदै गयो। ‘ठूलो पर्दामा प्रदर्शन भएको मेरो पछिल्लो फिल्म धर्मात्मा हो।

त्यसपछि म विस्तारै टाढिनुपर्ने बाध्यता भयो,’ युवराज सुनाउँछन्।

धर्मात्मा पछि उनले लागुपदार्थ दुर्व्यसनविरुद्ध  सचेतनामूलक फिल्मको निर्माण गरे ‘मुक्ति’।

फिल्ममा उनी लगायत राजेश हमाल, रेजिना उप्रेतीलगयात कलाकारको भूमिका छ।

त्यसपछि उनी एक वर्ष चलचित्र विकास बोर्डमा आवद्ध भए। उनको व्यस्तता त्यति बेलदेखि चुलिँदै गयो। त्यसपछि उनी माओवादी पार्टीमा सक्रिय भए। त्यसपछि उनी खेलकुद परिषद्को सदस्य सचिव भए। फिल्म निर्माण गर्ने समय त  थिएन, यद्यपि उनले दुई वटा फिल्म चाहिँ खेले– ‘सायद’ र ‘प्रोड्युसर’।

चार वर्ष राखेपको सदस्य सचिव भए युवराज। ०७२ सालपछि भने उनी होटल तथा पर्यटन व्यवसायको अभियानमा लागे।

नेपालमा कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने क्याम्पियनमा उनको सक्रियता बढ्यो। चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धनको केन्द्रीय अध्यक्ष समेत भए उनी। सोही क्रममा उनले आफ्नै होटल व्यवसाय पनि सुरु गरे। 

डेढ दशकपछि फिल्ममा कमब्याक
कोरोना महामारीपछिको लकडाउनले उनी केही फुर्सदिला देखिए। त्यही क्रममा उनले सोचे– चलचित्र क्षेत्रबारे।

विश्वभरिका चलचित्र क्षेत्र संकटग्रस्त अवस्थामा छन्। नेपाली फिल्म क्षेत्र धराशयी अवस्थामा छ। ‘यो क्षेत्र अहिले ग्राउण्ड लेभलमा छ। अब यो भन्दा तल जाने  छैन।

यसलाई फेरि सुरु गर्नुपर्छ,’ उनले सोचे। तर अब फिल्म बनाउँदाको सिनारियो परिवर्तन भइसकेको छ।

उनलाई थाहा छ, एक दशक अघिको जस्तो समय छैन अहिले। पुराना साथीभाइले त भनिरहेका छन्, ‘दाइ अब हामीले फेरि काम पाउँछौँ होला।’

अहिलेको समयमा सामाजिक सञ्जाल र इन्टरनेटको विकासले धेरै परिवर्तन ल्याइसकेको छ। फिल्म हेर्ने दर्शकको रूचिमा पनि परिवर्तन आइसकेको छ।

यद्यपि, बाहिर परिवर्तन भएपनि मान्छेको मनोविज्ञानमा खासै परिवर्तन नआएको युवराजको ठम्याइ छ।

‘भलै पहिला मानिसहरू संयुक्त परिवारमा बस्थे भने अहिले एकल परिवारमा गए। तर त्यसो भनेर फिल्म हेर्ने मानिसको मनोविज्ञान मैले बुझेको छु,’ उनी भन्छन्।

फिल्ममा नयाँ प्रविधि भित्रिएको छ। उनी नयाँ प्रविधिमै फिल्म बनाउनेछन्। कलाकार भने स्क्रिप्ट अनुसार नै छनोट गर्ने युवराजको सोच छ।

हिजो उनी राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, लोकेन्द्र कार्की, रमेश उप्रेती, धिरेन शाक्यलाई लिएर फिल्म बनाउँथे।

‘तर अहिले स्क्रिप्टले जे माग गर्छ, त्यही हुन्छ,’ उनी भन्छन्।

उनको अबको फिल्मको विषयवस्तु मानिसको मनोविज्ञान माथि हुनेछ। ‘एकजना मान्छेको बीचमा रहने पोजेटिभ र नेगेटिभ मनोविज्ञानमाथि हुनेछ फिल्म,’ युवराज भन्छन्।

यतिबेला भने उनलाई डेढ दशक अघिको जस्तो रिस्कको डर छैन। ‘म शून्यबाट आउँदैछु भने शून्यमा केही रिस्क हुन्न। शून्यबाट उठ्न लागेको हुँ,’ युवराज भन्छन्।

उनको यतिबेला एउटा उद्देश्य हो, फिल्म उद्योग बचाउनु। ‘मेरो सेकेन्ड इनिङस् पनि यही कारण भएको हो कि, अब फिल्म क्षेत्रलाई जोगाउनु छ,’ उनी भन्छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .