समाज


जयसिंह धामी बेपत्ता प्रकरण : सरकारी छानविन टोली घटनास्थलमा

जयसिंह धामी बेपत्ता प्रकरण : सरकारी छानविन टोली घटनास्थलमा

नेपालखबर
साउन २१, २०७८ बिहिबार १०:५१, काठमाडौँ

जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै आज गस्कु मालघाट गएको छ। 

मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि मालघाट पुगेको हो।
    
जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन तयार गरिने संयोजक गौतमले बताए। ‘घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति सार्वजनिक गर्ने छौँ,’ उनले भने।

भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने समितिले जनाएको छ। गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गा जाने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए।

महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइनको तार फुकालिदिँदा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। तुइनबाट खसेर बेपत्ता भएका धामी अझै फेला परेका छैनन्।

बुधबार दार्चुलाका पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो। नेपाल–भारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको टोलीले अवलोकन गर्नेछ। 

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन्। 

भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । छानबिन समितिको प्रतिवेदनअनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad