कास्कीको एउटा गाउँपालिकाले स्थानीय कुकुरको संरक्षण गर्ने नीति सार्वजनिक गरेको छ।
यहाँको अन्नपूर्ण गाउँपालिकाले बुधबार सार्वजनिक गरेको तेस्रो नीति तथा कार्यक्रममा स्थानीय जातको भोटेकुकुरको लागत अद्यावधिक गर्दै संरक्षण गर्ने घोषणा गरेको हो।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवरबाट प्रस्तुत नीति तथा कार्यक्रममा ‘राष्ट्रिय र अन्तर्राष्ट्रियसतरमा स्वर र सुरक्षाकोको कारण लोकप्रिय भएकोले स्थानीय भोटेकुकुर संरक्षण गर्ने नीति लिइने’ उल्लेख गरिएको छ। गाउँपालिकाले कुकुर संरक्षणको नीति लिएको सम्भवत यो पहिलो घटना हो। यसअघि सहरी क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रणबारे भने विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएका थिए।
यसैगरी अन्नपूर्ण गाउँपालिकाले सो क्षेत्रमा आउने पर्यटकहरुसँग शुल्क उठाउने घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्धार हो। गाँउपालिकाले बिरेठाँटी र पोथनामा पर्यटक सूचना केन्द्र स्थापना गरी पर्यटकसँग जनही एक सय रुपैयाँ उठाउने घोषणा गरेको हो।
अहिले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाले सो क्षेत्रमा जाने पर्यटकहरुसँग शुल्क उठाउँदै आएको छ। गाउँपालिकाका अध्यक्ष युवराज कुँवरबाट प्रस्तुत नीति तथा कार्यक्रममा भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्ट्रेलियन क्याम्प, पाउँदुरकोट र दाङसिङमा रहेको होमस्टेलाई प्रवद्र्धन गर्ने भएको छ।
यसैगरी गाउँपालिकाले पदयात्रा मार्ग बिस्तार र मर्मतलाई पनि विशेष जोड दिएको छ। आन्तरिक पर्यटन वर्ष र नेपाल भ्रमण वर्षलाई सघाउनको लागि अन्नपूर्ण आधार शिविरमा रहेका होटल र लजहरुमा कोठा थप गर्ने नीति पनि गाउँपालिकाले लिएको छ।
यसैगरी अन्नपूर्ण म्याराथनलाई निरन्तता दिने पनि गाउँपालिकाले जनाएको छ। छोमरोङभन्दा माथिको क्षेत्रलाई भर्जिन ल्याण्ड घोषणा गर्दै कुनै पनि विकास निर्माणका काममा मेसिनरी औजार प्रयोग नगर्ने र हिमाली क्षेत्रमा हेलिकोप्टर उडान कटौति गर्ने नीति पनि गाँउपालिकाको रहेको छ।
अन्नपुर्ण गाउँपालिकाका परम्परागत घरहरु
गाउँपालिकाले अघिल्लो वर्ष नै अन्नपूर्ण आधार शिविरमा उद्धार बाहेक हेलिकोप्टर उडान निषेध गरे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन। गाउँपालिकाले दलित, आदिवासी, जनजाति र सीमान्तकृत वर्गको परम्परागत सीप र भाषा संस्कृतिको संरक्षण गर्ने, मागमा आधारित शिक्षणलाई जोड दिने, प्राथमिक तहमा गुरुङ भाषामा पढाई थाल्ने, साक्षरता दर शतप्रतिशत पु¥याउने,घट्टेकुलोदेखि नयाँपुल क्षेत्रमा राजमार्ग अस्पताल निर्माणको पहल गर्ने, ७० वर्षमुनिका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने र बीमा गर्दा ५० प्रतिशत अनुदान दिने घोषणा समेत गरेको छ।
गाउँपालिकाले अब गाउँ क्षेत्रमा नयाँ बाटो नखोल्ने बरु भएका बाटोको स्तरोन्नति गर्ने नीति लिएको छ। यसैगरी यो आर्थिक वर्षमा दलित र विपन्न बर्गका ५५ जनालाई सुरक्षित आवासको लागि जस्तापाताले घर छाउने कार्यक्रम सुरु गर्ने पनि गाउँपालिकाको योजना छ। फेवाताल संरक्षणको लागि पहल गर्ने, आउँदो आर्थिक वर्षमा कम्तिमा १ सय चौतार बनाउने नीति पनि गाउँपालिकाले लिएको छ।
सन्तुलित र दिगो विकास लक्ष्य हासिल गर्ने¸ सक्षम जनशक्ति विकास गर्ने रोजगारी सृजना गरी विकास लाइ समावेशी र सामाजिक न्यायमा आधारित बनाउने¸ सुशासन कायम गर्ने नीति लिएको गाउँपालिकाले बितेको वर्षमा उल्लेख्य काम गरेको दावी समेत गरेको छ।
यसैगरी गाउँपालिकाले गाँउपालिकाले कृषिलाई व्यवसायिककरण गर्ने, कोदोमा आत्मनिर्भर हुने, एक घर एक फलफूल कार्यक्रम लागु गर्ने, रैथाने खाद्यान्न बालीको संरक्षण गर्ने, कृषिको यान्त्रिकरण गर्ने, भूमि बैंकको स्थापना गरी कम्तिमा २० वर्ष जग्गा भाडामा लिई सो जग्गामा व्यवसायिक खेतिलाई प्रवद्र्धन गर्ने, पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा फलफूल लगाउने किसानलाई सहुलियत दिने, एक घर एक तालीमलाई अनिवार्य बनाइने, हस्तकला र परम्परागत खाद्यान्न विदेश निकासीको सम्भावना खोज्ने नीति समेत लिएको छ।
Shares

प्रतिक्रिया