बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे लिकको सफल परीक्षण गरिएको छ। रेल सञ्चालनको लागि लिकको अवस्था बुझ्न आइतबार त्यसको गति परीक्षण गरिएको हो।
जनकपुरको कुर्था स्टेशनदेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर मार्गमा भारतीय इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेल कुदाएर लिकको परीक्षण गरिएको हो।
रेल सञ्चालनको पूर्वतयारीको लागि रेल्वे ट्रयाक स्पिड टेस्ट र सर्टिफिकेसन गर्न भारतीय रेल जनकपुरको कुर्था स्टेशनबाट १२० किलोमिटर प्रतिघन्टाको गतिमा भारतको जयनगर पुगेको थियो।
जसमा जनकपुरबाट ३५ किलोमिटरको यात्रा तय गरेर जयनगर पुग्न रेललाई २३ मिनेट मात्र लागेको रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले जानकारी दिए। ‘रेल्वे ट्रयाकको परीक्षण सफल भएको छ,’ नेपालखबरसँग ओझाले भने, ‘यसले अब रेल गुडाउन लिक पूर्ण सक्षम एवं तयारी अवस्थामा छ भन्ने देखिएको छ। अब यो लिकमा मज्जाले प्रतिघण्टा १२० किमीको गतिमा रेल कुदाउन सकिन्छ।’
सफल परीक्षण पश्चात रेल्वे लिक निर्माणत गर्ने भारतीय इकन इन्टरनेसनल कम्पनीलाई प्रमाणपत्र प्रदान अर्थात सर्टिफिकेसनको काम पूरा भएको छ।
लिकको सफल परीक्षण भएपनि रेल संचालन भने अझै अन्यौलमै छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नभएका कारण संरचना हस्तान्तरणमा ढिलाइ भइरहेको नेपाल रेल कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए।
यातायात मन्त्रालयमा मन्त्री आएपछि रेलमार्ग हस्तान्तरण हुने र रेल संचालन गरिने उनले जानकारी दिए। भारतबाट खरिद गरिएका दुईसेट रेल १० महिनादेखि धनुषाको इनरुवामा त्रिपाल ओढाएर राखिएको छ।
Shares

प्रतिक्रिया