ad ad

प्रविधि


जसका एप युरोपदेखि अस्ट्रेलियासम्म निर्यात हुन्छन्

जसका एप युरोपदेखि अस्ट्रेलियासम्म निर्यात हुन्छन्

यज्ञराज जोशी
साउन २२, २०७७ बिहिबार १४:१७,

उनका एपहरुले केटाकेटीलाई वर्णमालादेखि भान्सामा नेवारी परिकार बनाउनसम्म सिकाउँछन्। उनको एपमा सबै नेपाली समाचार पोर्टललाई एकै ठाउँमा पढ्न सकिन्छ र स्वस्थानी व्रतकथा पनि सुन्न सकिन्छ।

उनी हुन्, विभुमान राजभण्डारी, जसले बनाएका एप विश्वका अनेकौँ मुलुकमा प्रयोग हुन्छन्।

सन् २००७ मा स्टिभ जब्सले बहुप्रतीक्षित आइफोन सार्वजनिक गर्ने कार्यक्रममा विश्वको ध्यान केन्द्रित भएको थियो। विभुमानले पनि निकै चासोका साथ त्यो कार्यक्रम हेरिरहेका थिए।

जब्सले त्यसबेला सफ्टवेयरलाई एपका रुपमा प्रयोग गरिएको आईफोन लन्च गरेका थिए। त्यही बेला विभुमानले ठम्याइसकेका थिए– भविष्य एपहरुकै हो।

सफ्टवेयरलाई एपका रुपमा विकास गरी स्मार्टफोनमा प्रयोग गर्ने प्रचलन आईफोनले सुरु गरेको थियो। जुन अहिले हरेक स्मार्टफोनमा अनिवार्य र दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ।

त्यसबेला विभुमान सफ्टवेयर डेभलपमेन्टको काम गर्थे। विस्तारै उनी एप निर्माणतर्फ मोडिए।

एप विकास गर्ने उनको सोच त थियो तर विश्वमै पहिलोपल्ट प्रयोग गर्न थालिएको यो प्रविधि नेपालमा बसेर सिक्न सजिलो थिएन। अनलाइनमा खोज्दै जाँदा एप्पलले संसारभरमा आफ्नो प्रोडक्टबारे जानकारी गराउन अनलाइनमार्फत सिकाइरहेको जानकारी पाए। अनलाइनमार्फत नै विभुमानले पनि एक वर्ष लगाएर एप डेभेलपमेन्ट कोर्स सिके।

‘एप्पललाई पनि आफ्नो प्रोडक्ट संसारभर पु¥याउनु थियो। कसैले एप्रोच गरे उनीहरुले सहयोग गर्थे। मैले त्यो एक वर्षको अवधिमा सयौं इमेल उनीहरुलाई पठाएँ होला,’ विभुमानले सम्झे, ‘त्यहीँबाट पाएको जवाफ तथा डकुमेन्टले एप बनाउनसक्ने भएँ।’

Bibhu2

कम्प्युटरप्रतिको आकर्षण
झण्डै तीन दशकअघि विभुमानका बुबाले आफ्नो औषधि वितरणको व्यवसायलाई कम्प्युटरकृत गर्न दुईवटा कम्प्युटर ल्याएका थिए। ६–७ कक्षामा पढ्ने विभुमानले त्यसैबेला पहिलोचोटी कम्प्युटर छुन पाएका थिए। मर्कन्टाइलको डायलअप इन्टरनेट प्रयोग गरेको उनी अझै सम्झिन्छन्।

काठमाडौं डिल्लीबजारस्थित घरको माथिल्लो तल्लामा उनको परिवार बस्थ्यो। तल्लो तल्लामा बुबाको कार्यालय थियो। कार्यालय बन्द भएपछि विभुमान तल झर्थे र कम्प्युटरमा आफ्नो एकाधिकार जमाउँथे। गेम खेल्दै, भिडियो हेर्दै उनी कम्प्युटरमा अभ्यस्त भए। चाँडै उनी सफ्टवेयर चलाउन जान्ने भइसकेका थिए।

‘कम्प्युटर प्रयोग गरेपछि एकहप्तामा गर्ने काम एक घण्टामा गर्न सकिँदोरहेछ भन्ने कुराले मलाई आकर्षित गरेको थियो। त्यसबेला मलाई कपी–पेस्ट गर्न पनि मज्जा आउँथ्यो,’ विभुमानले भने।

एक दिन उनका बुबाले नै कार्यालयको सामग्री, हिसाबकिताबको रेकर्ड राख्ने सफ्टवेयर बनाउने उदेश्यले दुई सफ्टवेयर इन्जिनियर बोलाए। उनीहरु दिनभर कार्यालयमा सफ्टवेयर बनाउँथे, विभुमान उनीहरुको काम ध्यान दिएर हेर्थे। मनमा उठेका प्रश्नहरु सोध्थे। केही कुरा टिपोट गर्थे। र, उनीहरु गइसकेपछि आफूपनि उनीहरुका जस्तै अभ्यास गर्थे। यसले उनको रुची सफ्टवेयर डेभलपमेन्टतर्फ जाग्यो।

एसएलसी सिध्याएपछि विभुमानले कम्प्युटर इन्जिनियरिङ पढ्ने उदेश्यले प्लस टुमा विज्ञान संकायमा भर्ना भए। अर्कातिर सफ्टवेयर निर्माणको अभ्यास जारी थियो। प्लस टुका दुई वर्षमा उनी राम्रै सफ्टवेयर डेभलपर भइसकेका थिए। उनले बुबाका सम्पर्कबाट आएका केही काम पनि पाउन थाले। त्यसैमा रमाउन थालेका उनले प्लस टु सकेपछि पढाइमा दुई वर्ष ग्याप राखे। यही अवधिमा उनले थुप्रै कम्पनीका लागि व्यावसायिक सफ्टवेयरहरु निर्माण गरिसकेका थिए।

व्यवसायमा सफ्टवेयरको महत्व बुझेपछि उनी कम्प्युटर इन्फरमेसन सिस्टम विषय अध्ययन गर्न स्नातक तहमा भर्ना भए। पुल्चोक क्याम्पसदेखि पाकिस्तानसम्म भएका सफ्टवेयर प्रतिस्पर्धामा सहभागी उनले कहिलै रित्तो हात फर्कनुपरेन।

Bibhu4

विदेशी सेवाग्राहीको रोजाइ
एक दिन ठमेलमा बसेर कफी पिउँदै उनी कप्युटर चलाइरहेका थिए। एक अस्ट्रेलियन नागरिकसँग उनको कुराकानी भयो। ती व्यक्तिले उनलाई नेपालको हिमालहरुको उचाइबारे एउटा गेम बनाउने अवधारणा दिए। एक महिना लगाएर विभुमानले त्यो पहिलो एप बनाएका थिए।

त्यसयता फ्रिलान्सरका रुपमा काम गरेका उनले गतवर्षदेखि ‘स्याउ टेक्नोलोजी’ को नाममा आफ्नै कम्पनी सुरु गरेका छन्। सुरुवाती दिनमा एप्पल आईओएसका लागि एप निर्माण गर्ने उनले गतसालदेखि एन्ड्रोइडका लागि पनि एप निर्माण गर्न थालेका छन्।

‘अहिलेसम्म आफ्नै नाममा २८ वटा छन्। क्लाइन्टहरुका लागि तीनसय बढी एपहरु बनाइसकेँ,’ उनी भन्छन्, ‘त्यसमध्ये ५० बढी विदेशी क्लाइन्टका एप बनाएको छु।’

विदेशीका लागि उनले बनाएका एपमध्ये अधिकांश ई–कमर्ससँग सम्बन्धित छन्। उनका ग्राहक अस्ट्रेलिया, फ्रान्स, जर्मनी लगायतका देशमा छन्। एक कम्पनीले अर्को कम्पनीलाई तथा साथीभाइले सिफारिस गरिदिएकै आधारमा उनका विदेशी ग्राहक थपिएका हुन्।

एप डेभलपेन्टबाट हुने कमाइबाट उनी सन्तुष्ट छन्। सुरुको दुईवर्ष यस क्षेत्रमा भिज्न आफूलाई समय लागेपनि त्यसपछि कहिल्यै खाली बस्नु नपरेको उनले बताए।

‘यसमा मेहनत अनुसारको प्रतिफल आउँछ। म अहिलेसम्म सन्तुष्ट नै छु। काम कहिल्यै रोकिएको छैन। सस्तोमा गर्ने हो भने ५०–६० हजारदेखि हामीले ५०–६० लाखसम्मका प्रोजेक्ट गरेका छौं,’ उनले भने।

स्मार्टफोन हातहातमा पुग्न थालेपछि धेरैले एपका बारेमा जानकारी पाएका हुन्। सफ्टवेयर आयात, निर्यातबारे नेपालमा पनि नीति नियम बनिसके। तर, सन् २०१५–१६ अगाडि एपबारे बुझाउन निकै झन्झट बेहोर्नुपरेको अनुभव उनीसँग छ। उनका विदेशी ग्राहकले एप बनाएवापत पैसा पठाउँथे। तर, पैसा लिन भने समस्या हुन्थ्यो।

‘हरेक चोटी बैंकमा गएर मेरो यो–यो कारण यसरी पैसा आएको हो भनेर सबै कागजात लिएर जानुपथ्र्यो। दुई नम्बरी काम गरेको हो कि भनेर आशंका हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘म एप निर्यात गर्छु भन्दा चलान काटेको खै भन्नेसम्मको प्रश्न सामना गर्नुप¥यो।’

विभुमानले बनाएको र निकै चलेको एप हो– नेपाली न्युज प्रो। हो। हरेक न्यूज पोर्टललाई एकै एपमार्फत हेर्ने अवधारणासहित यो एप बनाइएको हो। जसका प्रयोगकर्ता आईओएसमा मात्र २० लाख बढी रहको उनको दाबी छ।

यस्तै उनलाई आफूले बनाएकामध्ये मनपर्ने एप नेपाली क्यालेन्डर हो। जसमा वर्षौँपछि पनि नेपाली चाडपर्व तिथिमिति कुन दिन पर्छन् हेर्न सकिनेछ। उनका अनुसार यस एपमा १ सय ४० वर्षसम्मको नेपाली क्यालेन्डर हुनेछ।

त्यसबाहेक उनले विभिन्न गेम, नेपाली शब्दकोश, नेपाली वर्णमाला, नेपाली किबोर्ड, नेवा कुकबुकलगातयका एपहरु पनि निर्माण गरेका छन्।

Bibhu3

अवसर र सुरक्षा
विभुमानले एपमा काम सुरु गर्दा यस क्षेत्रमा निकै थोरै मान्छे मात्र आवद्ध थिए। पछि विस्तारै धेरैजसो वेबसाइट बनाउनेहरु पनि एप निर्माणमा लागेका छन्।

नेपालमा यस क्षेत्रमा अवसर पर्याप्त भएपनि गुणस्तरीय एप डेभलपरको अझै पनि अभाव रहेको उनी बताउँछन्।

‘एप डेभलप गर्छु भन्ने धेरै छन् तर गुणस्तरीय जनशक्तिको अभाव छ,’ उनले भने, ‘यो फिल्डमा ‘आज मैले सिकें यति नै हो सिक्ने’ भनेर आउनेहरुले पाइला नचलाएपनि हुन्छ। हरेक वर्ष टेक्नोलोजी परिवर्तन भइरहेको हुन्छ। त्यहीअनुसार आफूलाई परिष्कृत गर्नसक्नेका लागि यसमा अवसरको कमी छैन।’

उनले कतिपय विदेशी एपले फोटो ग्यालरीको फोटो नै डाउनलोड गर्दिने, कल रेकर्डहरु नै चोर्ने गरेको सन्दर्भहरु बाहिर आइरहेपनि नेपाली एपमा अहिलेसम्म त्यस्तो समस्या नदेखेको बताए।

‘म पनि नेपालमा कुनकुन एपले के के डाटा लिन्छन् भनेर अध्ययन गरिरहेको छु। नेपाली एपले अहिलेसम्म इमेल र फोन नम्बरबाहेक अरु डाटा लिएको भेट्टाएको छैन,’ उनले भने, ‘एप्पल र गुगलको गाइडलाइन्समा रहेर एप डेभलप गरे भने सबैले आफ्नो एपलाई सुरक्षित बनाउन सक्छन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .