ad ad

प्रविधि


टिकटकसहित चिनियाँ एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउँदा भारतलाई के फाइदा?

टिकटकसहित चिनियाँ एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउँदा भारतलाई के फाइदा?

नेपालखबर
असार १६, २०७७ मंगलबार ८:४२,

लोकप्रिय एप्लिकेसन टिकटक र विच्याट पनि भारतमा प्रतिबन्ध भएका हुन्। भारतले चिनियाँ एप्लिकेसनबाट राष्ट्रिय सुरक्षा खतरा बढेकाले आपतकालीन उपाय स्वरुप एप्सहरु प्रतिबन्ध गर्नु परेको जनाएको छ।

दुईहप्ता अगाडि मात्र लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो।

उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा कुनै जानकारी दिएको छैन।

भारतका संचारमन्त्री रविशंकर प्रसादले चिनियाँ एप्सहरु बन्द गरेको विषयमा ट्वीटमा भनेका छन्,‘यो प्रतिबन्ध भारतको सुरक्षा, सार्वभौमिकता र अखण्डताको लागि आवश्यक छ। हामी भारतका नागरिकको डेटा र गोपनीयताको रक्षा गर्न चाहन्छौं।’

भारतको सूचना तथा प्रसारण मन्त्रालयले एक बयानमा भनेको छ,‘यी एप्सहरुमा प्रतिबन्ध लागेपछि मोबाइल र इन्टरनेट प्रयोगकर्ताहरु सुरक्षित हुनेछन्। यो भारतको सुरक्षा, अखण्डता र सार्वभौमिकताको लागि जरुरी छ।’

टिकटकसहित चिनियाँ एप्समा प्रतिबन्ध लागेपछि टिकटकले आफ्नो बयानमा भनेको छ,‘टिकटकले भारतीय कानुनको पालना गर्दछ। यस कम्पनीले प्रयोगकर्ताको डेटा र गोपनियताको विषय कुनै सरकारलाई साझा गर्दैन। हामी प्रयोगकर्ताको गोपनियताको सम्मान गर्दछौं। हामी भारत सरकारको आदेश मान्न तयार छौं र सरकारसँग आफ्नो भनाइ राख्न कोशिश गरिरहेका छौं।’

टिकटक इन्डियाका प्रमुख निखिल गान्धी पनि भन्छन्,‘टिकटकले इन्टरनेटलाई लोकतान्त्रिकरण गरेको छ। यो १४ भारतीय भाषामा उपलब्ध छ। भारतमा टिकटकका लाखौं प्रयोगकर्ता छन् र टिकटक पर्दा पछाडिका प्रतिभाको मञ्च हो। कयौं प्रयोगकर्ता त यस्ता छन् जसले टिकटक प्रयोग गरेरै इन्टरनेट चलाउन सिके।’

टिकटकले भारतमा कोरोना भाइरससँग लड्न २० करोड रुपियाँ समेत सहयोग प्रदान गरेको थियो।

चिनियाँ एप्स बन्द गरेसँगै चिनियाँ कम्युनिष्ट पार्टीद्वारा संचालित पत्रिका ग्लोबल टाइम्समा लेखिएको छ,‘दुई देशबीच सीमा विवाद बढिरहेको समयमा भारतले पछिल्लो कदम चालेको छ। दुईहप्ता अगाडि भारतीय सैनिकले सीमा पार गरेर चिनियाँ सेनामाथि आक्रमण गरेपछि हिंस्रक झडप भएको थियो। त्यसयता भारतमा उग्र–राष्ट्रवाद देखिन थालेको छ। उनीहरुले चिनियाँ उत्पादन बहिष्कारको माग गरिरहेका छन्।’

भारतीय एप्सलाई फाइदा

चिनियाँ एप्सहरुमा प्रतिबन्ध लागेपछि कयौं भारतीय कम्पनीहरुले सरकारले स्वागतयोग्य काम गरेको बताइरहेका छन्।

टिकटकसँग प्रतिस्पर्धामा रहेको भिडियो च्याट एप ‘रोपोसो’ को प्रमुख कम्पनी इनमोबीले टिकटक प्रतिबन्ध भएपछि आफ्नो बजार खुलेको बताएको छ।

यस्तै टिकटककै प्रतिद्वन्द्वी मानिएको ‘बोलो इन्डिया’ले पनि आफूलाई फाइदा पुग्ने जनाएको छ। बोलो इन्डियाका सीइओ बरुण सक्सेना भन्छन्,‘हामी यो फैसलालाई स्वागत गर्दछौं किनभने हामी सरकारको चिन्ता बुझ्छौं। यो बोलो इन्डियासँगै भारतीय एप्लिकेसनको लागि अवसर हो। भारतीय एप्सले भारतीय संस्कृति र डेटाको सुरक्षालाई पहिलो प्राथमिकता दिएर सेवा प्रदान गर्नेछन्।’

विश्लेषकहरुका अनुसार भारतीय कदमले चिनियाँ एप्लिकेसनलाई ठूलो धक्का लाग्नेछ। चिनियाँ लगानीबारे जानकार सन्तोष पाइ इकोनोमिक टाइक्ससँग भन्छन्,‘प्रतिबन्धित चिनियाँ एप्सहरु भारतमा ज्यादै निर्भर थिए। त्यसकारण भारतको कदमले चीनलाई आर्थिक दबाब पर्नेछ। यसका साथै कानुनी दृष्टिकोणबाट हेर्दा यो भारतको मजबुत कदम हो। किनभने राष्ट्रिय सुरक्षाको मामिलामा चिनियाँ कम्पनीले अदालतमा भारत सरकारालई चुनौती दिन मुश्किल छ।’

चिनियाँ एप्सहरुमा प्रतिबन्ध लागेपछि भारतीय बजारमा भारतीय एप्सहरु नै मौलाउने अनुमान गरिएको छ। यसले भारतकै कम्पनीलाई फाइदा पुर्याउँछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .