सन् १४७२ मा इटलीमा च्यारिटीको माध्यमबाट पहिलोपटक बैंक स्थापना भएसँगै बैंकिङ अवधारणा सुरु भयो। त्यसयता चरण पार गर्दै बैंकिङ प्रणाली आज एटीएम र मोबाइल बैंकिङसम्म आइपुगेको छ।
केही समयअघिसम्म पैसा जम्मा गर्न, झिक्न, खाता खोल्न, बिल बुझाउन बैंकमै पुग्नुपर्ने बाध्यता परिवर्तन हुँदै खल्तीमा पुगेको छ। तर यी सबैका लागि आजका दिनमा पनि बैंक आवश्यक छ। तर के अझै अहिलेको बैंकिङ प्रणालीमा परिवर्तन आउन सक्छ?
हालै, विशाल प्रविधि कम्पनी एप्पलले अमेरिकाको गोल्डम्यान साक्ससँगको सहकार्यमा उच्च उपज बचत खाता सञ्चालनमा ल्याएको छ। जसलाई भविष्यको बैंकिङ प्रणालीको रूपमा लिइएको छ।
अमेरिकाका बैंकहरूप्रति निक्षेपकर्ताहरूको विश्वास डगमगाएको अवस्थामा एप्पलले यस्तो बचत खाता ल्याएको हो।
यो बचत खातामा एप्पल र गोल्डम्यानले वार्षिक ४.१५ प्रतिशत प्रतिफल दिइरहेको छ। खाता खोल्नको लागि कुनै न्यूनतम सीमा छैन। सबबै बचत एफडीआईसीमा बीमा पनि गरिएको ५।
हाल एप्पलसँग अमेरिकामा बैंकिङ इजाजतपत्र छैन, तर आफ्ना ग्राहकहरूलाई उच्च उपज बचत खाताहरू प्रस्ताव गर्न गोल्डम्यान साक्ससँग साझेदारी गरेको छ। यसको फाइदा भनेको एप्पलले नयाँ ग्राहक पाउने र विश्वभर दुई अर्ब आईफोन प्रयोगकर्ता भएकाले गोल्डम्यान स्याक्सले पनि आफ्नो व्यवसाय विस्तार गर्न सक्नेछ।
यसबाहेक गोल्डम्यान साक्सको निक्षेपमा पनि ठूलो वृद्धि भएको छ। अमेरिकाका बैंकहरूले करिब ०.५० प्रतिशत ब्याज दिइरहेको बेला एप्पलको यो बचत खातामा ४ दशमलव १५ प्रतिशत ब्याज दिँदै आएको छ ।
अमेरिकामा बैंकहरूको घट्दो विश्वसनीयताका कारण एप्पलको यो बचत खातालाई भविष्यको बैंक मानिएको छ।
प्रतिक्रिया