ad ad

प्रविधि


मस्कले ल्याउन लागेको स्याटेलाइट इन्टरनेटमा भारतले किन लगायो रोक?

मस्कले ल्याउन लागेको स्याटेलाइट इन्टरनेटमा भारतले किन लगायो रोक?

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ११:३४, काठमाडौँ

भारत सरकारले अमेरिकी अर्बपति एलन मस्कको इन्टरनेट कम्पनी ‘स्टारलिंक’को सेवामा प्रतिबन्ध लगाएको छ। ‘स्टारलिंक’ मस्कको कम्पनी स्पेसएक्सको एकाइ हो। यसले स्याटेलाइटको माधयमबाट इन्टरनेट सेवा उपलब्ध गराउने योजना अघि सारेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार भारतले एक विज्ञप्ति जारी गर्दै भारतमा तत्काल इन्टरनेट सेवाको लागि बुक र विज्ञापनमा रोक लगाउन निर्देशन दिएको थियो। यसअघि भारतमा स्टारलिंक कम्पनीका निर्देशक सञ्जय भार्गवले सामाजिक सञ्जालमा मुलुकभर पाँच हजारभन्दा धेरै मानिस यो सेवा लिन इच्छुक रहेको बताएका थिए। 

स्टारलिंकले सन् २०२२ को डिसेम्बरबाट २ लाख डिस टर्मिनलबाट ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। स्पेसएक्सले विश्वभर स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्न अहिलेसम्म १७ सय लो अर्थ अर्बिट स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। यद्यपि कम्पनीको योजना यस्ता लाखभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गर्नु हो। 

भारतले भने अहिलेसम्म स्टारलिंक कम्पनीले भारतमा यस किसिमको सेवा दिनको लागि अनुमति नलिएको बताएको छ। यो अनुमति नलिँदासम्म कम्पनीको यो योजनासम्बन्धी सबै काम रोक्न सरकारले निर्देशन दिएको छ। साथै आम मानिसलाई कम्पनीको सेवा सुरु नगर्न सरकारले सुझाएको छ। 

के हो ‘लो अर्थ अर्बिट स्याटेलाइट इन्टरनेट’?
मस्कको कम्पनी स्टारलिंकले इन्टरनेट सेवा प्रदान गर्न ‘लो अर्थ अर्बिट’ स्याटेलाइटको प्रयोग गर्नेछ। यो स्याटेलाइट पृथ्वीको करिब ५५० किलोमिटरको उचाइमा हुन्छ।

यो उचाइमा त्यस्ता स्याटेलाइटले केवल ९० मिनेटमा पृथ्वीको परिक्रमा गरिसक्छ। यो प्रणालीअन्तर्गत प्रयोगकर्तासँग सानो आकारको एक डिस एन्टिना हुन्छ, जसले यस्ता स्याटेलाइटबाट आएको सिग्नललाई लिन सक्छ। 

यसको अर्थ यस किसिमको सेवा फाइबर उपलब्ध नभएको स्थानमा पनि स्याटेलाइटको माध्यमबाट पुग्न सक्छ। अहिले धेरै स्थानमा यसको परीक्षणको काम चलिरहेको छ।

गत फेब्रुअरीमा मस्कले यसबाट ३०० एमबीपीएसको इन्टरनेट प्रदान गर्ने बताएका थिए। विशेषगरी यस किसिमको इन्टरनेटले अहिले पनि इन्टरनेट सेवा पुग्न नसकेको विकट स्थानमा पनि इन्टरनेट सेवा पुर्‍याउन सहयोग पुग्ने बताइएको छ। 

स्टारलिंकका साथै अन्य धेरै कम्पनीहरुले पनि यस किसिमको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ तयारी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .