नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं विभिन्न खेलमा ज्ञान राख्छन्। उनी आफैं कतिपय खेलमा राम्रो कौशल पनि देखाउँछन्।
पोखरामा जारी नेपाल साहित्य सम्मेलनमा सहभागी हुन पुगेका उनले शुक्रबार यो पटकको विश्वकपमा आफूले समर्थन गरेको टिमको प्रसंग निकाले।
पत्रकार अखण्ड भण्डारीसँगको सवाल जवाफ सेसनमा उनले यो पटकको विश्वकपमा आफूले अर्जेन्टिनालाई समर्थन गरेको बताए।
'हो, यस पटक मैले अर्जेन्टिनालाई समर्थन गरेको थिएँ, अर्जेन्टिनालाई मैले तटस्थ समर्थन गरेको हो। फाइनल भिडन्त बहुतै रोचक भयो', उनले भने, 'मैले फाइनल खेल पूरै हेरेँ। राति भएकाले खेल हेर्न मलाई समस्या भएन। अरु काम पनि नहुने भएकाले ढुक्कसँग फाइनल हेरेँ।'
उनले फाइनल हेरिरहँदा आफूले उठेर हुटिङ गरेको बताए। 'मैले अर्जेन्टिनाको समर्थनमा उठेर कराएँ। तर मैले यहाँबाट कराएको कसैले सुन्ने त थिएनन्। खेलाडीले पनि सुन्दैन थिए', उनले भने, 'तर खेलसँगै बग्दै गएपछि एउटा जोश आउँदो रहेछ। त्यही जोशले मैले उठेर हुटिङ पनि गरेँ।'
उनले आफू पौडी, टेबल टेनिस, क्यारमबोर्ड, स्नुकरसहितका खेल राम्ररी खेल्ने बताए। पोखरामा जारी नेपाल साहित्य सम्मेलनको क्रममा कुन खेलमा विज्ञता छ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘विज्ञता केलाई भन्ने? फुटबल, भलिबल, टिटी, क्यारेमबोर्ड खेल्छु। नजान्ने पाएँ भने हराउँछु।’
उनले आफूमा विभिन्न खेल कौशल रहेको पनि बताए। 'हो, म केही खेल खेल्ने क्षमता राख्छु। विश्वकप हेर्दा पनि अहिले नै मैदान छिरुँ जस्तो जोश आउँथ्यो', उनले भने, 'म खेलाडी त हो तर त्यस्तो जान्ने होइन, मभन्दा नजान्ने खेलाडी आए भने हराउन सक्छु।'
यो प्रसंग राजनीतिक थिएन। यद्यपि, राजनीतिमा पनि कमजोरलाई हराउने गरिन्छ।
प्रतिक्रिया