सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिएका उनले उसकै सांसदको समर्थनमा फेरि विश्वासको मत पाएका हुन्।
सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन्। यीमध्ये विश्वासको मत लिने बैठकमा १ सांसद कैलाश चौधरीमात्रै सहभागी थिए। उनले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे। अन्य ६ जना भने बैठकमै सहभागी थिएनन्।
शाहले नाउपाको १ सँगै, आफ्नै दल नेपाली कांग्रेसको १८ र नेकपा एमालेको ११ सांसदको मत पनि पाएका छन्। ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको समर्थन आवश्यक हुन्छ। आज शाहले २९ सांसदको समर्थन पाएका हुन्।
मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरे पनि दुई तिहाइ बहुमत भने गुमाएका छन्। २० साउन २०८१ मा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसदको शाहलाई समर्थन थियो। मुख्यमन्त्री नियुक्तपछि विश्वासको मत नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले पनि दिएका थिए।
नेपाली कांग्रेस, नेकपा एमाले र नाउपा गरेर शाहले दुई तिहाइ बहुमत (३६ सांसद) पाएका थिए। तर एक वर्ष नपुग्दै मुख्यमन्त्री शाहले प्रदेश सभामा दुई तिहाइ बहुमत गुमाए।
नाउपा सरकारमा सामेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।
Shares

प्रतिक्रिया