राजनीति


भीमदत्त-६ : निर्वाचन वडाध्यक्षको, प्रतिष्ठा मन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्मको

भीमदत्त-६ : निर्वाचन वडाध्यक्षको, प्रतिष्ठा मन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्मको

गोकुल जोशी
मंसिर १२, २०८१ बुधबार १३:२, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा वडाध्यक्ष पदको लागि हुन लागेको उपचुनावलाई निकै चासोका साथ हेरिएको छ। स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ। 

भीमदत्त- ६ मा हुन लागेको उपचुनावमा छुट्टाछुट्टै राजनीतिक दलबाट काका भतिज नै चुनावी प्रतिस्पर्धामा छन्। यो वडाबाट वडाध्यक्ष पदमा १२ जनाको उम्मेदवारी परेको छ। 

यो वडाको उपचुनावलाई मन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्मले प्रतिष्ठाको विषय बनाएका छन्। भीमदत्त नगरपालिका–६  सुदूरपश्चिम प्रदेश सभाका बहालवाला चारजना प्रदेश सांसदको गृह वडा हो।  
 
यहाँ हुन लागेको वडाध्यक्षको उपचुनावलाई सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य राजेन्द्र सिंह रावल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापा, पूर्वअर्थमन्त्री प्रकाश रावल र पूर्ववाणिज्य, पर्यटन तथा संस्कृति मन्त्री माया पन्तले  प्रतिष्ठाको विषय बनाएका छन्। 

नेकपा एकीकृत समाजवादीकी पन्त र नेकपा एमालेका रावल समानुपातिक सांसद हुन भने कांग्रेसका थापा र एकीकृत समाजवादीका रावल प्रत्यक्ष निर्वाचित सांसद हुन।

‘हेभिवेट’ नेताहरुको गृह वडा भएकाले चुनावी नतिजा आफ्नो पक्षमा पार्न नेताहरु घरदैलोमा केन्द्रीत भएका छन्। स्थानीय नेता, कार्यकर्तादेखि केन्द्रीय नेता नै आफ्नो उम्मेदवारका लागि मत माग्न प्रसारप्रसारमा खटिएका छन्।

०७९ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त भीमदत्त ६ मा मंसिर १६ गते उपचुनाव हुन लागेको हो।

गृहमन्त्री रमेश लेखकको निर्वाचित क्षेत्र कञ्चनपुर–३ अन्तर्गत पर्ने एउटा प्रमुख वडा भएकाले पनि यहाँको उपचुनावलाई चासोका साथ हेरिएको छ। 

नेपाली कांग्रेसबाट प्रकाश चन्द वडाध्यक्षको उम्मेदवार छन्। उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका हुन। 

नेपाली कांग्रेस जित कायम राख्नु पर्ने दबाबमा छ। ‘वडा र नगरपालिकामा बहुमत हाम्रो छ। काँग्रेसले जिते नगरपालिकाबाट बजेट सुनिश्चित हुने र विकास निर्माणको काम गर्न सक्ने सकरात्मक सन्देश जनतामा गएको छ,’ प्रचारप्रसार संयोजक कृष्ण कुँवर भन्छन्। 

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेबाट एकै परिवारका सदस्य उम्मेदवार बनेपछि यहाँको उपचुनाव झनै रोचक छ। परिवारकै सदस्य विभाजित हुनु पर्ने अवस्था छ। नेकपा एमालेका उम्मेदवार बहादुर चन्द कांग्रेस उम्मेदवार प्रकाशका काका हुन।

लामो समय शिक्षण पेशामा संलग्न बहादुरलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको छ। भीमदत्त नगरपालिका–६ को शान्ति निकेतन माध्यमिक विद्यालयमा लामो समय चन्दले अध्यापन गराएका थिए। 

शिक्षण पेशामार्फत समाजमा परिचित उम्मेदवार भएकाले जित निकालेर अघिल्लो चुनावको बदला लिने दाउमा एमाले छ। 

‘बहादुर सरले पढाएका विद्यार्थीका तीन पुस्ता अहिले मतदाता छन्। प्रधानाध्यापक रहेका बेला गरेको योगदानको समाजले राम्रोसँग मूल्याङ्कन गरेको छ,’ एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले भने, ‘एमाले पार्टी संरचना र हाम्रो उम्मेदवारको स्वच्छ छवि जित्ने आधार हो।’

०७४ को चुनावमा नेकपा एमालेका हरकसिंह धामी वडाध्यक्षमा निर्वाचित भएका थिए। पछि उनी एमाले विभाजनमा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। 

भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेन्द्र बहादुर चन्दलाई उम्मेदवार बनाएर मत मागिरहेको छ। जितेन्द्र एमाले उम्मेदवार बहादुरका नाति नाता पर्छन्।

त्रिपक्षीय भिडन्त हुने सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रकाश रावलको विश्लेषण छ। ‘हाम्रो पनि माहोल राम्रो बन्दै गएको छ। कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुन्छ,’ उनले भने।

०७९ को चुनावमा एकीकृत समाजवादीले नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द २ सय ३२ मत पाएका थिए।

नेपाली कांग्रेस र नेकपा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीसहित साना दल र स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षका मत काट्ने डर छ।

नेकपा माओवादी केन्दबाट नानाराम कोलीलाई उम्मेदवार छन्। राप्रपाका सुशिल कुमार भट्ट उम्मेदवार छन्। उनी यसअघि ०७९ को चुनावमा पनि उम्मेदवार थिए। त्यसबेला उनले ४ सय ८७ मत ल्याएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, राप्रपा नेपालका दिलबहादुर धामी, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखकले वडाध्यक्षमा उम्मेदवार छन्। 

भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन्। ०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad