ad ad

राजनीति


भ्रष्टाचार अनुसन्धानमा जुटेका प्रहरी सरुवाको विषय बिस्तारै खुल्दै जान्छ: रवि लामिछाने

भ्रष्टाचार अनुसन्धानमा जुटेका प्रहरी सरुवाको विषय बिस्तारै खुल्दै जान्छ: रवि लामिछाने

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८१ सोमबार १३:४३, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाईको सरकारको अहिलेसम्मको काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको बताएका छन्। 

रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि आज कैलालीको धनगढी आइपुगेका लामिछानेले सरकारको काम सन्तोषजनक नभएको बताएका हुन्। 

‘अहिलेसम्म न्यूनतम साझा कार्यक्रम आएको छैन। सयदिन पनि नपुगेको सरकारलाई अहिले नै लखेटी हाल्नु पर्ने आवश्यकता पनि छैन। जनतामा उत्साह, जागर देखिएको छैन,’ उनले भने, ‘दुई ठूला पार्टी मिलेर अब हामी गर्छौँ भनेर अन्तिम विकल्पका रुपमा सोचिएको छ। तर त्यस्तो उत्साहको कुनै छनक देखिएको छैन।’ 

उनले भ्रष्टाचारको अनुसन्धानमा जुटेका प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताए। सहकारी पीडितको न्यायको पक्षमा भन्दा पनि आफूलाई दोषी देखाउने काम भइरहेको लामिछानेको टिप्पणी छ।

‘संसदीय समितिले समस्या समाधानमा केन्द्रीत हुनेमा विश्वास छ। केहीलाई लागेको छ, सहकारी भनेकै रवि लामिछाने हो भनेर। लाखौँ सहकारी पीडितको न्यायमा भन्दा पनि बढी रवि लामिछानेलाई डाम्न पाए हुन्थ्यो,’ उनले भने, ‘दोषी देखाउन पाए हुन्थ्यो भनेर केन्द्रीत भएर मिडिया ट्रायलसमेत गर्नेहरुले लाखौँ जनताको अपेक्षामा कुठाराघात गर्ने काम गरिरहेका छन्। त्यसलाई इतिहासले मूल्याङ्कन गर्ला। समिति लाखौँ पीडितले बचत फिर्ता पाउनेमा केन्द्रीत हुने छ भन्ने मैले विश्वास लिएको छु।’

सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने विषयमा आफू संलग्न नरहेको उनले दाबी गरे। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याएको प्रमाणित गर्न उनले चुनौती समेत दिए। 

आफू गोर्खा मिडियामा भएको बेला सहकारीबाट गलत ढंगले पैसा ल्याउने विषयको विवरण प्रहरीको प्रतिवेदनले स्पष्ट पारेको समेत उनले उल्लेख गरे।

‘लाभ लिएको हुनुप¥यो। संलग्न भएको हुनुप¥यो। म भएका बेलामा पैसा आएकाले जिम्मेवारी लिनु पर्छ भनिएको छ। म भएको बेलामा ल्याउने मान्छे को हो? कस्ले ल्यायो? कसरी मिलेमतो गर्यो भन्ने कुराको सम्पूर्ण विवरण प्रहरी प्रतिवेदनले दिएकै छ,’ उनले भने, ‘कस्ले गलत काम गरेर त्यो पैसा सहकारीबाट गोर्खा मिडिया लगायत ठाउँमा लिएर गयो भन्ने कुरा सार्वजनिक भएकै कुरा हो। त्यो कस्ले गर्यो भन्ने मात्रै हो, त्यसमा रवि लामिछाने दोषी छ कि छैन भन्ने कुरा न हो।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .